कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदी कटानले जोखिम

डीआर पन्त

जोगबुढा (डडेलधुरा) — महाकाली नदीमा डेढ दशकअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि परशुराम धाम संकटमा परेको छ ।

नदी कटानले जोखिम

०५६ मा परशुराम धाम क्षेत्रभन्दा दुई किलोमिटर माथि परिगाउँ क्षेत्रबाट महाकालीको भंगालो गाउँ पसेपछि तटबन्ध निर्माण गरिएको थियो । तीन वर्षयता निरन्तरको कटानले तीर्थस्थल संकटमा पर्न थालेको हो ।

‘त्यतिबेला निर्माण भएको तटबन्ध महाकालीको बाढीले कटान गरेर बगाउँंदै लगेको छ,’ परशुराम धाम क्षेत्रविकास समितिका पूर्वअध्यक्ष कैलाश पाण्डेयले भने, ‘परशुराम धाम मात्र नभई तटबन्ध पुनर्निर्माण नहुने हो भने परिगाउँ क्षेत्रमा समेत महाकाली पस्न सक्ने खतरा देखिएको छ ।’ महाकालीले धामको मथिल्लो भेगबाट कटान सुरु गरिसकेको पनि पाण्डेयले बताए ।

डेढ दशकअघि महाकालीको भंगालो गाउँ फर्किएको क्षेत्रमा पनि तटबन्ध आधाभन्दा बढी बगाएको छ । जालीभित्र ढुंगा भरेर झारो टार्ने किसिमले बनाइएको तटबन्ध महाकालीले बगाउन सुरु गरेको छ । डेढ दशकअघि एक करोड बढी लगानीमा निर्माण गरिएको तटबन्ध महाकाली नदी छेउबाट ढुंगा निकालिएका कारण पानीको बहाव परशुराम धाम क्षेत्रतिर फर्किन थालेपछि भत्कन थालेको हो । तटबन्ध गरिएको अधिकांश क्षेत्रमा महाकालीले कटान सुरु गरिसकेको छ ।

महाकाली र रंगुन दुवै नदीले कटान गर्दै आएको परशुराम धाम क्षेत्रको रंगुन नदीतर्फ तटबन्ध गरिएका कारण कटान रोकिएको छ । गत वर्ष रंगुन नदी क्षेत्रमा तटबन्ध निर्माण गरिएको थियो । महाकाली नदीमा भने जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले जम्मा दुई सय मिटर क्षेत्रमा जालीमा ढुंगा भर्ने काम गरेर छाडेको छ । भारतीय सिमानातिर नदीको भाग अग्लो भएपछि महाकालीले परशुराम धाम क्षेत्र कटान गर्न सुरु गरेको छ । विगतमा गरिएको तटबन्धको विभिन्न क्षेत्रमा महाकालीले कटान गरिसकेको छ भने परिगाउँ क्षेत्रबाट गाउँ पसेको भंंगालो पनि पुन: फुट्न सुरु भएपछि सर्वसाधारणसमेत त्रसित भएका छन् । वर्षातको समयमा पहाडबाट तीव्र वेगमा तराईमा खस्ने महाकालीको पानीले यस पटक ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ ।

परशुराम नगरपालिकाले यस वर्ष परशुराम धाम क्षेत्रलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा घोषणा गरेको छ । ८५ बिघा क्षेत्रफलमा फैलिएको परशुराम धाम क्षेत्रको विकासका लागि सहरी विकास तथा भवन निर्माण डिभिजनले २० करोड रकम विनियोजनसमेत गरेको छ । परशुराम नगरपालिकाले पनि धामको विकासका लागि ठूलो विकास बजेट छुट्याए पनि महाकाली नदी तटबन्धका लागि भने कतैबाट पहल हुन सकेको छैन ।

सहरी विकास तथा भवन निर्माण डिभिजनले छुट्याएको २० करोड बजेटले नदीको ४ ठाउँमा स्नानघाट र अन्य भौतिक संरचना निर्माण गर्न टेन्डरसमेत आह्वान गरिसकेको छ । नगरपालिकाले पनि ठूलो लगानीमा भगवान् परशुरामको विशाल मूर्ति निर्माण गर्न रकम छुट्याएको जानकारी दिएको छ । धामको भौतिक विकाससँगै यसको संरक्षणका लागि महाकाली नदीमा पक्की तटबन्ध निर्माणको माग गर्दै आएको स्थानीयले बताएका छन् ।

प्रकाशित : असार ९, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?