२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

किसानलाई मल र डिजेल अभाव

मोहन बुढाऐर

धनगढी — कैलालीमा नहर तथा बोरिङ प्रणालीद्वारा सिँचाइ सुविधा पुगेको ठाउँमा रोपाइँ सुरु भएको छ । मनसुन केही दिनमै सक्रिय हुने भएपछि आकाशको भरमा खेती गर्ने किसान पनि खुसी छन् । 

किसानलाई मल र डिजेल अभाव

कैलालीमा सिँचाइ सुविधा पुगेका किसानले असार १५ अघि नै रोपाइँ गरिसक्छन् । उनीहरूले धानको ब्याड असारको पहिलो सातामै रोपाइँ गर्ने गरी राखेका हुन्छन् । वर्षालाई पर्खने किसानले ढिलोमा असारको तेस्रो साताबाट रोपाइँ सुरु गर्ने गरी धानको ब्याड राख्ने गरेका छन् ।


जिल्ला कृषि कार्यालय कैलालीका अनुसार जिल्लाको सिञ्चित हुने जमिनको ५० प्रतिशत क्षेत्रमा यति बेला रोपाइँ सुरु भएको छ । रोपाइँ दिवस असार १५ भित्र सिँचाइ सुविधा पाएका किसानले रोपाइँ गरी सक्नेछन् ।


तर किसानले मलखाद र डिजेलको अभावमा रोपाइँ गर्नुपरेको गुनासो गरेका छन् । धनगढी उपमहानगरपालिका–१४ का ऋषिराम कँडेलले किसानले पर्याप्त मात्रामा मलखाद र डिजेल पाउन नसकेको बताए । ‘किसानले धानको बेर्ना राख्दा उन्नत जातको बीउ पाएनन्,’ उनले भने, ‘रोपाइँ सुरु हुने बेला मलखाद र डिजेलको अभाव भइरहेको छ ।’


उनले एक बिघा जग्गाका लागि मोटरबाट पानी तान्न र ट्याक्टरले जोताउन ५० लिटरभन्दा बढी डिजेल आवश्यक पर्ने बताए । कँडेलका अनुसार १०/१२ बिघा जमिन भएका किसानले जोत्न र रोपाइँ गर्न ५ सय लिटर जति डिजेलको जोहो गर्नुपर्ने हुन्छ । ‘डिजेल नपाएरै किसानको रोपाइँ ढिलो भइरहेको छ,’ उनले भने, ‘डिप बोरिङबाट पानी तानेर रोपाइँ गर्न किसानलाई बाध्यता छ ।’ उनले सरकारले नहर योजनाको पानी पुर्‍याउन नसक्दा किसान बोरिङबाट पानी तानेर रोपाइँ गर्नुपरेको बताए । ‘सरकारबाट किसानलाई कुनै राहत प्राप्त भएको छैन,’ उनले भने, ‘समयमा डिजेल, मल र बीउबिजन समेत दिन सकेको छैन ।’ डिजेल नपाएर किसानको रोपाइँ प्रभावित भएको उनले बताए ।


उनका अनुसार पछिल्लो समय गोरु तथा भैंसीबाट खेत जोत्ने र रोपाइँ गर्ने चलन घट्दै गएकाले ट्याक्टरको प्रयोग बढी भएको छ । यसकारण खेती गर्ने सिजनमा किसानलाई डिजेलको आवश्यकता बढी पर्ने गरेको हो । तर डिजेल नपाएर हलगोरुसमेत प्रयोग गर्नुपरेको धनगढी जुगेडाका वीरबहादुर चौधरी बताउँछन् । उनले ट्याक्टर र हलगोरु दुवै प्रयोग गरेको बताए । डिजेल नपाएको दिन गोरु जोत्ने गरेको उनी बताउँछन् ।


यही बेला किसानले मलसमेत नपाएर खेतमा आवश्यक पर्ने मल हाल्न नपाएको मसुरियाका फूलराम चौधरीले भने । उनले आफ्नो खेतमा ५ बोरा चाहिने ठाउँमा २ बोरा मल प्रयोग गरी रोपाइँ गर्नुपरेको बताए ।


जिल्लाको कुल खेतीयोग्य ७२ हजार हेक्टर जमिनमध्ये ४४ हजार हेक्टरमा सिँचाइ सुविधा छ । तर नहरमा पानी सञ्चालन नभएका कारण हालको अवस्थामा सतहगत स्रोत र भूमिगत स्रोतका योजनाबाट ३० हजार हेक्टर जतिमात्र जमिन सिञ्चित रहेको सिँचाइ डिभिजन कार्यालय कैलालीका प्रमुख गणेश मरासिनीले बताए । उनका अनुसार जिल्लाको १० हजार हेक्टर जमिन सिञ्चित हुने कैलालीका केही ठूला सिँचाइ योजनाका नहर अलपत्र परेका छन् । रानी जमरा कुलरिया सिँचाइ योजनाको नहरले सिञ्चित गर्ने जमिनसम्म अझै पानी सञ्चालन गर्न नसक्दा जिल्लाका ६० प्रतिशत किसानले आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : असार १०, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?