जयपृथ्वीमा पूर्वाधार विकास प्राथमिकता

बसन्तप्रताप सिंह

बझाङ — जयपृथ्वी नगरपालिकाको दोस्रो नगर सभाले पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिदै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आर्थिक विकास र गरिबी निवारणमा जोड दिइएको भनिएको कार्यक्रममा करिब ५२ प्रतिशत बजेट चालु खर्चको लागि छुट्याइएको छ ।

जयपृथ्वीमा पूर्वाधार विकास प्राथमिकता

नगरपालिकाको आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको करिब ४७ करोड १५ लाख मध्ये २४ करोड ६८ लाख चालु खर्च र २२ करोड ४७ लाख पुँजीगत खर्च छुट्याएको छ ।


पुँजीगत खर्चको ४१ प्रतिशत (९ करोड २८ लाख) पूर्वाधार विकासका लागि विनियोजन गरिएको नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख छ । पूर्वाधारको अधिकांश रकम ग्रामीण सडक निर्माणमा खर्च गरिने गरि विनियोजन गरेको छ ।


‘स्वच्छ, समृद्ध र सम्पन्न’ नगरपालिकाको परिकल्पना पूरा गर्न शिक्षा, स्वास्थ्य, पोषणको अवस्था सुधार गर्ने, कृषि र पशुजन्य उत्पादन बृद्धि गरि कृषकको आयस्तर सुधार गर्ने, लैगिक तथा सामाजिक समावेशीकरण मैत्री विकास प्रक्रिया थालनी गर्ने र जनतालाई चुस्त सेवा प्रवाह र सुशासनको अनुभुति दिनेतर्फ बजेट केन्द्रित रहेको उल्लेख गरिएको छ ।


यस्तै, सदरमुकाम क्षेत्रलाई पलाष्टिकरहित क्षेत्र घोषणा गर्ने, बनमा आधारित उद्यम प्रर्वद्धन गर्ने लगायतका कार्यक्रम पनि नगरसभामा प्रस्तुत गरिएको छ । ‘जनतासंग मेयर’ कार्यक्रम संचालन गरी नगरपालिका र जनताबीचको दुरी कम गर्ने जस्ता कार्यक्रम आगामी वर्षमा संचालन उल्लेख गरिएको छ ।


नगरसभामा बोल्दै नगरप्रमुख बिरेन्द्रबहादुर खड्काले समृद्ध नगरपालिका बनाउने जनताको सपना साकार पार्न आफुहरुले धेरै मेहेनतका साथ काम गरिरहेको र प्रस्तुत बजेट जनताको चाहाना अनुसार विनियोजन भएको बताए ।


कार्यकर्ता पोस्ने बजेट

नगरपालिकाको प्रस्तुत बजेट कार्यकर्ता पोस्ने खालको भएकाले यसले नगरको विकासमा भुमिका खेल्नेमा आफूहरुलाई शंका रहेको प्रतिपक्षीहरुले टिप्पणी गरेका छन् । नीति, कार्यक्रम तथा बजेटमाथि टिप्पणी गर्ने क्रममा नगरसभा सदस्य तथा कांग्रेस नेता भक्तराज जोशीले जनताका मागलाई बेवास्ता गर्दै सीमित कार्यकर्ताको इसारामा बजेट तय गरिएको बताए ।


नीति, कार्यक्रम तथा बजेट अस्पष्ट भएकोले यसको कार्यन्वयनका क्रममा बेइमानी हुन सक्ने भन्दै उनले भने, ‘साक्षर नगरपालिका बनाउने भनिएको छ । तर कसरी बनाउने भन्ने कुनै कार्यक्रम यसमा देखिदैनन् । महत्कांक्षी र लोकप्रिय शब्दले मात्र नगरको विकास हुँदैन । सीमित कार्यकर्ताको हितलाई मात्र ध्यान राखेर तयार गरिएको बजेट हामीलाई मान्य हुँदैन ।’


उनले सबै जनताका चाहाना समेट्ने गरी बजेट नआएकोले आफ्नो दलले संसोधन प्रस्ताव हाल्ने र बहुमतको भरका पेलेर लैजान खोजे त्यस्को प्रतिवाद गरिने बताए । नगरपालिकाका कर्मचारीहरुलाई समेत राजनीतिक दबावमा आफू अनुकूल काम गर्न लगाइएको आरोप लगाउँदै उनले स्वेइच्छाचारी ढंगले अघि बढ्न खोजे जनता प्रतिबादमा उत्रिने चेतावनी दिए ।

प्रकाशित : असार ११, २०७५ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?