पहिरोले ग्रामीण सडक अवरुद्ध  

मनोज बडू

दार्चुला — शुक्रबार राति बिभिन्न ठाँउमा पहिरो खस्दा दार्चुलाका ग्रामीण सडक अवरुद्ध भएका छन् । दार्चुला–तिंकर सडक र खलंगा–देल्लेक सडक खण्डमा खसेको पहिरोले यात्रुलाई पैदल हिड्न समेत समस्या भएको छ । 

पहिरोले ग्रामीण सडक अवरुद्ध  

तिंकर सडक खण्डको श्रीबगर, राताकाठा, तिमुरपाटा तथा खलंगा देल्लेक सडकको खार र दल्लेक बजारनजिक सडकमा पहिरो खसेको छ । सडक खण्डको बिभिन्न स्थानमा पहिरो जाँदा सवारी साधन पूर्णरुपमा बन्द भएको स्थानीय मानबहादुर बमले बताए ।

राताकाठा क्षेत्रमा पैदल आवतजावत गर्न समेत कठिनाई भएको छ । माथिबाट पहिरो खसेको तथा बाटो साँघुरो भएकाले ज्यान जोखिममा राखेर हिड्न बाध्य भएको यात्रु बताउँछन् ।

दुँहु र ब्याँस गाँउपालिकाका स्थानीयको सदरमुकाम खलंगा झर्ने मुख्य मार्गका रुपमा रहेको तिंकर सडकमा पहिरो खस्दा अत्यावश्यक कामले खलंगा आउनेलाई कठिनाई भएको स्थानीय भुवनराज जोशीले बताए । वर्षात् सुरु भएसंगै जिल्लाका अन्य ग्रामीण सडकहरु पनि अवरुद्ध हुन थालेका छन् ।

ग्रामीण सडक कच्ची भएका कारण माथि र तलबाट पहिरोको उच्च जोखिममा छन् । यस्ता जोखिमपूर्ण सडकमा सवारीसाधन चलाउँदा झन् जोखिम हुने भएकाले समाधानको खोजीमा अग्रसर हुन सम्बन्धित स्थानीय तहहरुलाई प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित : असार १६, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?