कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विस्थापित घर फर्कंदै

मोहन बुढाऐर

धनगढी — कैलालीमा वर्षा रोकिएपछि सोमबारको बाढीबाट विस्थापित भएका परिवार बिस्तारै घर फर्कन थालेका छन । आइतबार रातिदेखिको वर्षाका कारण सोमबार कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिकाका केही वडा डुबानमा परेका थिए ।

विस्थापित घर फर्कंदै

इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार विस्थापित २२ परिवारबाहेक सबै घर फर्किसकेका छन । कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपािलका २, ६, ७ , ८ र ९ नम्बर वडाका २ सय घर डुबानमा परेका थिए । डुबानमा परेका परिवार हुलाकी सडक, स्कुल, गैरसरकारी संस्थाले बनाएका सुरक्षित घरमा सरेका थिए । घरभित्र बाढी पसेर आफन्त र हुलाकी सडकमा निस्केका परिवार सोमबार बेलुकै घर फर्केका थिए ।

भजनी ७ पलियापुरको गणेशमानसिंह निमावि र वडा नम्बर ५ को सुरक्षित घरमा बसेका ८ परिवार मात्रै घर फर्कन नसकेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए । उनले स्कुल र सुरक्षित घरमा बसेका २२ परिवारको घर पूरै डुबेकाले तुरन्तै घर फर्कन सक्ने अवस्था नरहेको बताए । ‘सोमबार बेलुकादेखि वर्षा रोकिएपछि स्थानीय नदीमा पानीको सतह घट्दै गएको छ,’ इलाका प्रहरी भजनीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले भने, ‘अवस्था सामान्य हुँदै गएको छ ।’ लालबोझी रेडक्रस शाखाका सभापति हेमन्त हमालले विस्थापित परिवारलाई कम्बल र त्रिपाल उपलब्ध गराएको बताए । भजनी नगरपालिकाले दाल, चामल र तेल दुृई खान पुग्ने गरी राहत सहयोग उपलब्ध गराएको हमालले बताए ।

स्थानीय भोजराज ढुंगानाले सोमबारको बाढीले धेरैको घरभित्रको अनाज, लत्ताकपडा, आवश्यक कागजपत्र, विद्यार्थीहरूको पुस्तकहरू भिजेर क्षति पुगेको बताए ।


भजनी थापापुरका गंगा चौधरीले घरभित्र पसेको बाढीले भिजेको अनाज खानयोग्य नभएको बताए । कतिको भाँडाकुँडा र लत्ताकपडासमेत बगेको बताए । उनले बाढीबाट क्षति भएका परिवारको यकिन तथ्यांक निकाल्नुपर्ने र पीडित परिवारलाई राहत दिनुपर्ने बताए ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले भजनीमा बाढी घटिसकेकाले अवस्था सामान्य भइसकेको बताए । ‘तत्कालीन राहत ड्राई फुडलगायत स्थानीय तहबाट उपलब्ध भएको छ,’ उनले भने, ‘थप राहतका लागि स्थानीय तहले माग गरे जिल्ला र प्रदेश सरकारबाट उपलब्ध गराइनेछ ।’ उनले बाढीबाट प्रभावित परिवारको पूर्ण विवरण मागिरहेको जानकारी दिए ।

‘बर्खा लागेपछि निद्रा हराउँछ’
बर्खा लागेपछि कैलालीको भजनी–५ लालबोझीका पुरन चौधरीको कुनै रात पनि चैनका साथ बित्दैन, निद्रा हराउँछ । उनलाई सोमबार आएको बाढीले यो बर्खाभरि रातभर जागाराम अवस्था सुरु भएको संकेत गर्‍यो । आइतबार मस्तसँग निदाएका उनी बिहान उठ्दा निकै अत्तालिए । उनको घरभित्र बाढी पसेको थियो । हत्त पत्त उनले निदाई रहेका लालाबालालाइ ब्युँझाए । सबैलाई लिएर उनी सुरक्षित स्थानतर्फ सरे । बर्खा रोकिएपछि मंगलबार मात्रै उनी घर फर्केका छन् ।

सोमबार राति बाढीपीडितहरू सुरक्षित आवासगृहमा आश्रय लिएका थिए । लालबोझी गाउँमा गैरसरकारी संस्थाद्वारा बाढीबाट बच्न अग्लो जग हालेर एक सुरक्षित आवासगृह निर्माण गरिएको छ । बाढी बस्ती पसेको अवस्थामा घरमा बस्न असुरक्षित हुन पुगे यहाँका स्थानीय त्यही घरमा घरमा रात काट्छन् । सोमबार बाढीको कारण पुरनको परिवारलगायत लालबोझीका १४ परिवारले सुरक्षित आवासघरमा रात बिताएका हुन् ।

पुरन भन्छन्, ‘अब सुरु भए, बाढीबाट कसरी जोगिने भन्ने चिन्ता ।’ उनका अनुसार माथि चुरेमा परेको पानीले कान्द्रा र मोहना नदीमा बाढी आउँदा चुर्लुम्म गाउँ पूरै डुब्छ । दुवै नदीले घेरिएको लालबोझी डुबानमा पर्‍यो भने तत्काल अन्यत्र जान पनि सकिंदैन । हेलिकप्टरबाट मात्रै उद्धार गर्न सकिन्छ । २०६६ को बाढीमा लालबोझी पूरै डुबेको थियो । त्यसबेला रूख र घरको छतमा बसेका बाढीपीडित परिवारलाई हेलिकप्टरबाटै उद्धार गरिएको थियो ।

लालबोझीकै सुनाराम डगौराले बाढीबाट बाँच्न पूर्वतयारी भई बस्नुपर्ने दिन सुरु भएको बताए । ‘चुरेमा कालो बादल मडारिन थाल्यो भने हाम्रो बस्तीमा बाढी पस्ने खतरा सुरु हुन्छ,’ उनले भने, ‘असारदेखि भदौ असोजसम्मको चौमास हाम्रा लागि आपत्कालजस्तै हुन पुग्छ ।’ ‘नदीको सतह र भँगालो हेर्दै रात काटिन्छ,’ सुनारामले भने, ‘पानी परिरहेको दिन पनि नदीको ढिक कुरेर बस्ने गर्छौं ।’ उनका अनुसार मोहना र कान्द्रा नदीको कटान र पटानमा पर्ने लालबोझी गाउँबाट थुप्रै परिवार बाढीकै कारण विस्थापित भएका छन् । नदीमा आउने बाढीको भेल गाउँमा पस्ने अनि बाढीले बगाई ल्याएको माटो बालुवाले घर र खेत पटान गर्ने गरेको छ । बाढी घट्दै जाने बेला बाढी पसेको नदी किनारको जग्गा कटान गर्दै जाने गरेको स्थानीय लालबहादुर साउदले बताए । उनका अनुसार हरेक वर्ष मोहना र कान्द्राले १५/२० बिघा जग्गा कटान हुँदै गएको छ ।

बर्सेनि मनसुनी वर्षा सुरु भएपछि वर्षायाम नसकिंदासम्म लालबोझीका बासिन्दा बाढीकै चिन्तामा पिरोलिरहेका हुन्छन् । लाबोझीसमेत भजनी नगरपािलकाका अधिकांश वडावासीले यस्तै हविगत बेहोर्दै आएका छन् । यहाँका वडा बाढीको चपेटामा परी डुबानमा पर्ने गरेका छन् । भजनी नगरपालिकोका २, ५, ७ , ८ र ९ वडाहरू पनि कान्द्रा, पथरैया, काँडा र मोहना नदीको डुबानमा पर्ने गरेका छन् । कान्द्रा र मोहना चुरे पहाडबाट बग्ने कैलालीका ठूला नदी हुन् । चुरेमा पानी परेपछि ती नदीमा आउने बाढीले कैलालीको तल्लो तटीय क्षेत्र प्रभावित गर्छ ।

प्रकाशित : असार २०, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?