३३ वर्षदेखि पहिरो

मनाेज बडु, बसन्तप्रताप सिंह

दार्चुला, बझाङ — बिटुले–पारिबगड सडक खण्ड बेला–बेला अवरुद्ध हुने गरेको छ । यो सडक वर्षातमा मात्रै होइन, दुई/तीन घण्टा लगातार पानी परे जुनसुकै समयमा अवरुद्ध हुन्छ । वर्षात्मा त अधिकांश समय यो क्षेत्रमा आवतजावत नै ठप्प हुने स्थानीय बताउँछन् ।

मार्मा गाउँपालिका ३ काे रिलपहिरो । फाइल तस्बिर

मार्मा गाउँपालिका ३ मा रिलपहिरो ३३ वर्षदेखि निरन्तर खस्ने क्रम रोकिएको छैन । बर्सेनि पहिरो खस्ने क्रम नरोकिएपछि उक्त ठाउँको नाम नै रिलपहिरो रहन गएको वडाध्यक्ष अमरसिंह विष्टले बताए ।

यो पहिरोले मार्मा र अपीहिमाल गाउँपालिकाका स्थानीयलाई वर्षौंदेखि सताइरहेको छ । ‘मार्मा र अपीहिमाल गाउँपालिका यो मार्गबाट नै जानुपर्छ । यहाँ प्रवेश गर्ने अन्य विकल्प छैन,’ मार्मा गाउँपालिका–४ लटिनाथका विष्णु विष्टले भने, ‘बिटुले–पारिबगड सडक खण्डअन्तर्गत विभिन्न क्षेत्रमा पहिरो खस्ने भएकाले वर्षात्का बेला झन् समस्या भोग्नुपर्छ ।’ दुई गाउँपालिका जोड्ने मुख्य सडकखण्ड वर्षात्का बेला विभिन्न स्थानमा पहिरो खस्दा सवारीसाधन सञ्चालन गर्न निकै समस्या हुने गरेको लटिनाथका सवारीधनी देवसिंह महरको भनाइ छ ।

२०४२ सालमा आएको भूकम्पले उक्त ठाउँमा दरार बनाएको र दरारमा पानी गएपछि पहिरो आउन सुरु भएको स्थानीयले बताएका छन् । ‘रिल पहिरो ५ सय मिटर माथिबाट सधैं आइरहन्छ । बर्खा लाग्यो कि पहिरो खस्ने क्रम जारी रहन्छ । लटिनाथका हर्केसिंह विष्टले भने, ‘पहिरोका कारण गाउँ नै विस्थापित भइसक्यो, अहिलेसम्म कसैले पहिरो नियन्त्रणका लागि चासो नै दिएको छैन ।’ यो ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले बर्सेनि पहिरोको क्षेत्र पनि ठूलो हुँदै गएको छ ।

पहिरोले लटिनाथका सल्लेथुमका १२ परिवार विस्थापित भएको विष्टले बताए । सल्लेथुम डाँडाबाट हिउँद–बर्खा निरन्तर ढुंगा खस्ने क्रम जारी हुन्छ । अहिले सल्लेथुम क्षेत्रमा ४/५ परिवारको मात्र बसोबास छ । ‘पहिरोमाथि घर छ, पहिरो घरसम्म पुग्न ५ मिटर मात्र बाँकी छ । बर्खामा पानी पर्‍यो कि पहिरो हेरेरै बस्नुपर्छ,’ उनले भने, ‘पटक–पटक सम्बन्धित ठाउँमा पहिरो व्यवस्थापनका लागि गुहारेकै छौं, अहिलेसम्म कहींबाट कुनै पहल भएको छैन ।’

वर्षौंदेखि पहिरो नरोकिने र व्यवस्थापनका लागि कहींबाट पनि पहल नभएको देख्दा यो ठाउँ छोड्नुबाहेक अन्य विकल्प छैन । यो ठाउँ छोडेर अन्य ठाउँमा बस्नलाई सम्पत्ति छैन । सम्पत्तिको नाममा जग्गा र घर मात्र छ, जमिन पहिरोले कटान सुरु गरिसक्यो ।

ज्यालादारीबाट कमाएकोले खान–लाउनलाई धौ–धौ हुन्छ,’ अर्का पहिरो पीडित कम्मानसिंह विष्टले भने, ‘अब आफूहरूलाई पहिरोले पुरेपछि मात्र राज्य यहाँ पुग्ला जस्तो छ ।’ यो पहिरोबाट विस्थापित भएका केही लटिनाथ र कोही तपोवनमा घरजग्गा किनेर बसेका छन् । पैसा नहुने अहिले पनि पहिरोको जोखिम मोलेर बस्दै आएको उनको भनाइ छ ।

यो पहिरोभित्र पानीको मुहान भएकाले पहिरो आउने क्रम नरोकिएको स्थानीयको भनाइ छ । वर्षात्मा भित्र पानी बगिरहन्छ । पानीले माटो बगाउँदा यहाँ निरन्तर पहिरो आइरहने स्थानीय करवीर विष्टको भनाइ छ । स्थानीय प्रशासनलाई अन्त पुन:स्थापनाका लागि पटक–पटक आग्रह गर्दा समेत हालसम्म कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

गोकुलेश्वर–लटिनाथ सडक पनि रिल पहिरोले गर्दा बर्खा वा हिउँदमा पानी पर्नेबित्तिकै अवरुद्ध हुने गरेको छ । दुई गाउँपालिकाको मुख्य सडकको रूपमा रहेको यो सडक वर्षात्मा अधिकांश समय यही पहिरोले गर्दा बन्द हुने लटिनाथका स्थानीय नरबहादुर विष्टले बताए । यो ठाउँमा पहिरो पन्छाए पनि एक साताभन्दा बढी नटिक्ने यातायात व्यवसायी बताउँछन् ।

जिप मात्र चल्ने यो सडक अहिले पनि बन्द अवस्थामा छ । समय–समयमा सडक अवरुद्ध हुने हुँदा यहाँका स्थानीयले विभिन्न किसिमका समस्याहरू खेप्दै आएका छन् । दैनिक उपभोग्य सामान देखि आवतजावतमा समेत सास्ती खेपिरहेको लटिनाथका स्थानीय दिनेशबहादुर सिंह बताए ।

नियमित यातायात सञ्चालनका लागि स्थानीयले श्रमदान गरेर विभिन्न समयमा पहिरो पन्छाउँदै आएको उनको भनाइ छ । बिहान पहिरो हटाउँदा साँझ पहिरो खस्ने समस्या भएकाले गाडी सञ्चालकहरूलाई सधैंजसो यो पहिरोले दु:ख दिइरहेको छ ।

जयपृथ्वी राजमार्ग भासियो
बझाङ– बझाङलाई बाहिरी जिल्लासँग जोड्ने एक मात्र जयपृथ्वी राजमार्गको मौरीबगरमा सडक भासिँदा यातायात सञ्चालनमा जोखिम भएको छ । सोमबारदेखि आएको वर्षापछि मौरीबगर बजारभन्दा माथि रहेको घुम्तीनेर सडक भासिएको हो ।

सडकभन्दा मुनिबाट बनाइएको टेवा पर्खाल भत्किएपछि सडकमा करिब ५० मिटरजति गहिरो खाल्डो परेको छ । सडकको आधा पिच पनि भत्केका कारण गाडी सञ्चालन गर्न निकै जोखिम हुने गरेको छ । ‘गाडी वारपार गराउँदा निकै ठूलो जोखिम छ,’ स्थानीय यातायात व्यवसायी विनोद बमले भने, ‘सडकमुनिको भाग निरन्तर खस्कँदै गएकाले जति बेला पनि गाडी सेती नदीमा खस्न सक्ने अवस्था छ ।’

सडक भत्किएको तीन दिन भइसक्दा पनि मर्मतको पहल नभएको र सडक झन् साँघुरो हुँदै जान थालेकाले जति बेला पनि यातायात अवरुद्ध हुन सक्ने सम्भावना रहेको सुदूरपश्चिम यातायातका काउन्टर इन्चार्ज जीवन खड्काले बताए । ‘मर्मतको कुनै पहल भएको छैन । जति बेला पनि पुरै सडक भत्किएर गाडी बन्द हुन सक्छ । सडक भत्किए पनि कुनै दुर्घटना नहोस् भन्ने कामना गरिरहेका छौं ।’

मौरीबगर सदरमुकाम चैनपुरबाट २० किलोमिटर टाढा छ । सडक पूर्णरूपमा बन्द भएमा बझाङको बाहिरी जिल्लासँगको सम्पर्क टुट्ने सम्भावना रहेको छ । सडक बन्द भएमा दैनिक उपभोग्य सामग्री र औषधिलगायतको जिल्लामा अभाव हुने खतरा छ ।

गत वर्ष पनि साउन र भदौ दुई महिनाको अवधिमा ३८ दिन यो राजमार्ग अवरुद्ध हुँदा जिल्लामा अत्यावश्यक वस्तुको हाहाकार भएको थियो । त्यसबखत समयमै उपचार नपाउँदा बाहिर रिफर गरिएका ५ जना बिरामीले बाटैमा ज्यान गुमाएका थिए ।

यता जयपृथ्वी राजमार्ग हेर्ने सडक डिभिजन कार्यालयका प्रमुख जितेन्द्र श्रेष्ठले यो सडक मर्मतका लागि आफूहरूले तत्कालै काम थालनी गर्ने तयारी गरिरहेको बताए ।

‘प्राविधिकहरूले कति क्षति भएको छ भनेर बुझ्ने काम गरिरहेका छन् । तुरुन्त मर्मतको काम सुरु हुन्छ,’ उनले भने ।

प्रकाशित : असार २२, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रविधीमैत्री बन्दै गाउँपालिका

गाउँपालिका र वडा कार्यालयबाट विद्युतिय हाजिरी सुरु
वसन्तप्रताप सिंह

बझाङ — पिछडिएको क्षेत्रअन्र्तगत पर्ने छविसपाथिभेरा गाउँपालिकाले आफूलाई आधुनिक प्रविधिमैत्री गाउँपालिका बनाउने लक्ष्यसहित आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट तय गरेको छ ।

गाउँपालिका र वडापालिकाको कार्यलयबाट विद्युतीय हाजिरी सुरु गरेको यसले आउँदो आर्थिक वर्षमा गाउँपालिकाभित्रका सबै विद्यालय र स्वास्थ्य संस्थामा विद्युतीय हाजिरी लागू गर्ने कार्यक्रम तय गरेको छ । यस्तै, विद्यालयको पढाइको गुणस्तर बढाउन सबै विद्यालयमा सीसीटीभी जडान गरेर गाउँपालिकाबाटै अनुगमन गर्ने व्यवस्था मिलाउने नीति बनाएको छ ।

गाउँपालिका उपाध्यक्ष राधिका रतालाले दोस्रो गाउँसभामा प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटमा गाउँपालिका कार्यालयमा विद्युतीय हाजिर र सीसीटीभी पनि जडान गरेपछि कर्मचारीको काममा प्रभावकारिता देखिएकाले यो प्रविधिलाई सबैतिर विस्तार गर्ने उल्लेख छ । स्थानीय तहलाई आधुनिक प्रविधियुक्त बनाउन अनलाइनबाट सेवा प्रवाह गर्ने खालका कार्यक्रम तय गरेको यस गाउँपालिकाले प्रदान गर्ने सेवालाई जनमुखी बनाउनका लागि घरघरमा गएर नागरिक असन्तुष्टि सर्वेक्षण गर्ने र सेवाग्राहीको प्रतिक्रिया बुझी सेवामा सुधार ल्याउने रणनीति बनाएको छ ।

आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल ३७ करोड ५३ लाख ४९ हजार रकम विनियोजन गरेको नीति कार्यक्रममा वातावरणमैत्री पूर्वाधार विकास, जडीबुटी खेती तथा प्रशोधन उद्योगको स्थापनालगायत शीर्षकमा रकम विनियोजन गरिएको छ । यस्तै, पूर्ण सरसफाइयुक्त, धुवाँमुक्त, छाउपडी गोठमुक्त गाउँपालिका निर्माण गर्ने, महिला हिंसाको कारणका रूपमा रहेको मदिरा नियन्त्रण गर्नेजस्ता सामाजिक अभियान सञ्चालन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ ।

जिल्लाकै ठूलो चैतली र विरसती मेला लाग्ने यो गाउँपालिकाले यहाँका प्राकृतिक तथा सांस्कतिक सम्पदाको प्रचारप्रसार गरी पर्यटनमार्फत समृद्धि ल्याउने खालका नीतिसमेत तय गरेको छ । पर्यटकीय गन्तव्यहरूमा आवश्यक पूर्वाधार विकासका लागि समेत विभिन्न योजना निर्माण गरिएको छ ।

नीति तथा कार्यक्रम तथा बजेटमा कृषि क्षेत्रको व्यावसायीकरण गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, उद्योग र सहकारी क्षेत्रको विकास गर्ने, वन तथा वातारवणको संरक्षण गर्ने, स्थानीय स्तरमा युवा रोजगारी सिर्जना गर्नेजस्ता कार्यक्रम समेटिएका छन् । यस्तै बीउ र मलखादमा आत्मनिर्भर गाउँपालिका बनाउन बीउ उत्पादन तथा प्राङ्गारिक मल व्यवस्थापन योजना सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

अध्यक्ष अक्कलबहादुर धामीले गाउँको विकास गर्ने जिम्मा अब गाउँलाई नै आएका कारण सबै मिलेर समृद्ध गाउँपालिका निर्माणमा जुट्नुपर्ने बताए । उनले आफ्नो कार्यकालभित्र देखिने र जनताले महसुस गर्ने गरी कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र आर्थिक विकासका काम गर्ने गरी आफूहरूले योजना निर्माण गरेको बताए ।

प्रकाशित : असार २२, २०७५ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT