कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संस्कृति संरक्षणका लागि अभियान

डडेलधुरा — जीवनका ८७ वसन्त काटिसकेका लाल दमाईले युवा अवस्थामा धित् मर्ने गरी हुडेली गाए । अहिले पनि युवा जोस निकाल्दै नाच्दै उनले नेपाल एकीकरणमा लडेका वीरहरूको गाथा हुडेलीमार्फत सुनाउँदा कार्यक्रममा उपस्थित सबैलाई मुग्ध बनाए ।

संस्कृति संरक्षणका लागि अभियान

डोटी राज्यको राजधानी अजयमेरु कोटको गाथा र ११ सय वर्षअघि देखि गाइँदै आएको लोकसंस्कृति हुडेलीले उपस्थित नयाँ पुस्ताका युवालाई आफ्नो संस्कृतिका विषयमा सोच्न बाध्य बनायो ।

कुनै समय डोटेली संस्कृतिको अभिन्न अंग रहेको र विशेष पर्वमा मात्र नभई हरेक शुभकार्यमा गाइने फाग, चैत, धुमारी र ढुस्को गाउन चाहनेको घुइँचो नै लागेको थियो । बैतडी, डडेलधुरा, डोटी र कैलालीका टाढा–टाढा गाउँबाट आएका लोककविहरू, डेउडा गायक र साहित्यकारमध्ये धेरैले समय अभावमा आफ्नो प्रस्तुति धक् फुकाएर प्रस्तुत गर्न पाएनन् । प्रस्तुत भएका डोटेली कला संस्कृति र साहित्यका विविध कार्यक्रमले उपस्थित सबैलाई मुग्ध बनाए ।

डडेलधुरा सार्वजनिक पुस्तकालयको संयोजन र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार बिहान ११ बजेदेखि सुरु भएको सांस्कृतिक संगोष्ठीमा दुई दर्जन स्रष्टाहरूले डोटेली संस्कृतिका विविध विधामा आफ्नो प्रस्तुति दिए । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, महाकाली साहित्य संगमका पदाधिकारीहरू र कैलाली पुस्तकालयका पदाधिकारीदेखि सुदूरका विभिन्न जिल्लाबाट आएका स्रष्टामाझ प्राध्यापक पुष्पराज जोशीले डोटेली संस्कृति, कला र भाषाका विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।

डोटेली संस्कृतिको प्रमुख लोककाव्यमध्ये हुडकेली गायक लालबहादुर दमाईको प्रस्तुति, एक दर्जन महिलाले गाएको फाग, संस्कृतिविद् जयराज पन्तले गाएको चैत मात्र होइन कविता र गजल गायकहरूले कार्यक्रममा उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए । ‘म अझै एक घण्टा गाउन सक्छु’ हुडेली गायक ८७ वर्षीय दमाईले भने, ‘अबको पुस्तामा हुडेली हस्तान्तरण गर्न निकै कठिन भएको छ ।’ आफ्नो संस्कृतिको जगेर्नामा नयाँ पुस्ता उदासीन भएको उनको तर्क रहेको छ ।

सुदूरको संस्कृति, कला र साहित्यको संरक्षणका लागि प्रज्ञा प्रतिष्ठानले डडेलधुरामा आयोजना गरेको यो पहिलो कार्यक्रम पनि हो । कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेतीले यो कार्यक्रममार्फत सुदूरको संस्कृतिको संरक्षण अभियान सुरु गरिएको बताए । उनले भने, ‘हिजोका दिनमा के भयो त्यो छोडेर सबैले आफ्नो आफ्नो सभ्यता र संस्कृति रक्षाका लागि अगाडि आउनु आवश्यक छ ।’

आफ्नो सभ्यता, संस्कृति, कला र साहित्यको संरक्षणमा यस क्षेत्रका अगुवा अगाडि नआउँदासम्म केही हुन नसक्ने पनि उनले बताए । डडेलधुरा सार्वजनिक पुस्तकालयका अध्यक्ष गजेन्द्रबहादुर शाहीको अध्यक्षतामा भएको संगोष्ठीमा डोटेली इतिहासका लेखक भोजराज भट्टराई, महिला समाजसेवी अमितादेवी रावललगायत एक दर्जन स्रष्टाको सम्मानसमेत गरिएको थियो ।

प्रकाशित : असार २४, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?