कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अलपत्र दसौं सहर

डीआर पन्त

पाटन (बैतडी) — सातवटा पहाडी जिल्लाको केन्द्रबिन्दु पाटनले अझै काँचुली फेर्न सकेको छैन । सरकारले पाटनलाई मध्यपहाडी लोकमार्गको दसौं सहरका रूपमा विकास गर्ने घोषणा गरे पनि निर्माणाधीन योजना अलपत्र छन् ।

अलपत्र दसौं सहर

ऐतिहासिक महत्त्वको पाटनलाई आधुनिक सहरका रूपमा विकास गर्न सरकारले ५ वर्षअघि यस्तो घोषणा गरेको थियो । त्यसयता हरेक वर्ष विभिन्न निकायबाट ठूलाठूला विकास योजना थालिए पनि कुनै सम्पन्न भएका छैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नति थालेको ३ वर्षमा प्रगति आधाजति पनि छैन । प्राविधिक शिक्षा तथा तालिम परिषद् सिटीईभीटीले पहाडी जिल्लालाई लक्षित गरी निर्माण थालेको प्राविधिक कलेजको भौतिक संरचना निर्माण अलपत्र छ । भवन निर्माण तथा सहरी डिभिजन कार्यालयका दर्जनभन्दा बढी योजनामा बजेट सक्ने उद्देश्य मात्र देखिएको सर्वसाधारणको गुनासो छ ।

‘गुरुयोजनाबिना थालिएका निर्माणकार्यले सहर झन् अव्यवस्थित बन्न थालेको छ,’ स्थानीय मोहन विष्टले भने, ‘वर्षौंदेखि सञ्चालनमा रहेका विकास योजना अलपत्र छन् ।’ ४ वर्षदेखि निर्माणाधीन प्राविधिक शिक्षालयको भौतिक संरचना अहिलेसम्म पूरा नभएको उनले बताए । प्रदेशका पहाडी जिल्लाको सबैभन्दा पुरानो विमानस्थल कालोपत्रेको काम समयसीमा नाघिसक्दा आधासमेत हुन सकेको छैन ।

नगरक्षेत्रमा निर्माणाधीन सडक योजना नाम मात्रका छन् । पाटन बजारको तल्लो भेगदेखि पञ्चेश्वर जोड्ने रिङरोड बनाउन वर्षौंअघि काम थालिएकोमा ट्रयाकसमेत खुल्न सकेको छैन । यहाँ जिल्लाका आधाभन्दा बढी कार्यालय छन् । नगरपालिका बनेपछि सुरु भएका विकास योजनाको हालत पनि उस्तै छ । जनप्रतिनिधि चुनिएको वर्ष दिन बितिसक्दा विकास योजनाले अपेक्षाअनुरूप गति लिन सकेको छैन । भवन निर्माण संहिता नै लागू गर्न बाँकी छ । खानेपानी, बिजुली र ढल निकासको उचित व्यवस्थापनबिनै सहर बाक्लिँदै छ ।

‘५ वर्षयता एउटा स्वागत गेट र खुलामञ्च निर्माणबाहेक कुनै योजनामा प्रगति देखिएको छैन,’ स्थानीय व्यवसायी धर्मानन्द पन्तले भने, ‘नाम मात्र दसौं सहर भयो, काम केही हुन सकेको छैन ।’ निर्माणाधीन योजनामा पनि ठूलो अनियमितता भइरहेको उनले बताए । ‘नगरपालिका र अन्य विकास योजनाबीच समन्वय नै छैन,’ पन्तले भने, ‘सहरी विकास डिभिजनका योजनामा पनि उस्तै छ ।’

डिभिजनले भने पाटन क्षेत्रमा मात्र एक दर्जन बढी विकास योजना दु्रतगतिमा सञ्चालन भइरहेको दाबी गरेको छ । ‘एकीकृत विकासअन्तर्गत थुप्रै योजना सञ्चालनमा छन्,’ डिभिजन प्रमुख प्रवीण शाहले भने, ‘खानेपानी, सडक, मनोरञ्जन पार्क, खुलामञ्च, तरकारी संकलन केन्द्र, ग्रामीण क्षेत्रलाई जोड्ने सडक निर्माण भइरहेका छन् ।’ चालु आवमा मात्र ५ करोडका विकास योजना सञ्चालनमा रहेको उनले बताए ।

नगरपालिकाका कार्यकारी अधिकृत रविन अधिकारी कागजमा सबै कुरा ठीक भए पनि व्यवहारमा धेरै हुन नसकेको बताउँछन् । ‘पाटन सहरलाई आधुनिकीकरण गर्न जनप्रतिनिधिमा इच्छाशक्ति नहुँदा धेरै काम हुन सकेको छैन,’ उनले भने, ‘बजेट सदुपयोग भएन, १० लाखको योजना ३ लाखमा टुंग्याउने प्रवृत्तिले विकास हुन सक्दैन ।’ डिभिजन प्रमुख शाह पनि सरकारले चाहेर मात्र विकास सम्भव नहुने बताउँछन् । ‘विभिन्न विवाद र समस्याका बीच काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्थानीय तहसँग समन्वय भए पनि सहज तरिकाले काम गर्ने वातावरण छैन ।’

पौराणिककालमा सुर र असुरबीच युद्ध हुँदा पहाड चिरिएर बनेको विश्वास गरिने पाटन उपत्यकालाई देवताहरूले स्नान गर्ने सुरनाया नदी किनारको सुन्दर बस्ती मानिन्छ । सुरनाया नदीको धार्मिक रूपमा ठूलो महत्त्व छ । नदीको किनारैकिनार बसेको पाटन पर्यटकीय दृष्टिले पनि आकर्षक छ । कुनै समय महाकाली अञ्चलको अस्थायी सदरमुकाम पाटन सुदूरका ७ पहाडी जिल्ला सदरमुकामबाट समदूरीमा पर्छ ।

प्रकाशित : असार २४, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?