बझाङ हिल्सा हेलिकप्टर परिक्षण उडान सफल 

बसन्तप्रताप सिंह

बझाङ — तल्कोटबाट हुम्लाको हिल्सासम्म हेलिकप्टरको परिक्षण उडान सफल भएको छ । मौसमको खराबीका कारण सिमिकोटबाट ३० मिनेट लगाएर बझाङ पुगेको माउन्टेन एयरको हेलिकप्टर तल्कोटबाट १८ मिनेटमै हिल्सा अवतरण गरेको कैलाश सेती टुर्स एण्ड ट्राभल्स् प्रालीका सुदिप शाहीले जानकारी दिए । 

बझाङ हिल्सा हेलिकप्टर परिक्षण उडान सफल 

ट्राभल्सले हेलिकप्टर कम्पनी अल्टिच्युड एयरसँग सम्झौता गरेर असार २२ गते परिक्षण उडान गर्ने तयारी गरेपनि अल्टिच्युडको हेलिकप्टरमा खराबी आएपछि माउन्टेन एयरको हेलिकप्टरबाट उडान परिक्षण गरिएको हो । पाँच सिटे हेलिकप्टरले स्थानीय लाँगा देवताका धामी सहित बझाङकै ५ जना मानसरोवर जाने तिर्थयात्री बोकेर उडान भरेको थियो ।

हेलिकप्टर सिमिकोटबाट दुर्गा भवानी मावि तल्कोटको प्राङगणमा अवतरण गर्दा स्थानीयले बाजा, गाजा र तालीले स्वागत गरे । हेलिकप्टरका क्याप्टेन र यात्रुहरुलाई फुलमाला सहित स्वागत गरे । स्थानियले करिब दुई घण्टा औपचारीक स्वागत कार्यक्रम गरेका थिए । कार्यक्रममा तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर बिष्टको पनि उपस्थिती थियो ।

उनले परिक्षण उडान सफल भएको र यसले जिल्लाको पर्यटन विकासको लागि नयाँ ढोका खोलेको बताए । उनले भने ‘परिक्षण उडान सफल भएकोमा हामी उत्साही छौ, यसले प्रदेश नं ७ र बझाङको पर्यटन विकासमा नयाँ फड्को मार्नेछ ।’ तल्कोट गाउँपालिकाबाटै नियमित उडान गर्न सके पर्यटन व्यवसाय फस्टाउने र गाउँपालिकाको कायापलट हुने उनको भनाइ थियो ।

सस्तो खर्चमा कैलाश मानसरोवर दर्शन गर्न चाहाने पर्यटकहरुलाई लक्षित गरी नियमित उडान गर्नका लागि गरिएको परिक्षण उडान सफल भएको र अब नियमित उडान हुने ट्राभल्स्का अध्यक्ष किशोरकुमार सिंहले बताए । अहिले बर्षेनी हजारौं भारतीय पर्यटकहरु हुम्ला, दार्चुला र केरुङ हुदै कैलाश मानसरोवर दर्शनमा जाने गर्छन । दुरीका हिसाबले टाढा र हवाई यातायातको प्रयोग गर्नुपर्ने भएकाले समय र खर्चका हिसाबले यी नाकाहरुबाट धेरै पर्यटक भित्रन नसकेको अध्यक्ष सिंहले भने ।

‘बझाङ सम्म सडक यातायात पुगिसकेको छ’ उनले भने ‘भारतको राजधानी दिल्लीबाट करिब ६ सय किलोमिटरको यात्रामा बझाङ पुग्न सकिन्छ, त्यहाँबाट १८ मिनेटको हेलिकप्टर उडानमा हिल्सा पुगिन्छ, सस्तो खर्चमा कैलास यात्रा गर्न चाहाने भारतीयहरुले अब यही बाटो प्रयोग गर्नेछन् ।’ दक्षिण भारतको समुन्द्री सतह नजिकबाट आएका पर्यटकहरु एक्कासी बढी उचाईमा पुग्दा लेक लागेर बिरामी हुने र मृत्यु हुने गरेको बताउदै बझाङको बाटो प्रयोग गर्दा यो समस्या पनि कम हुने उनको दाबी छ ।

प्रकाशित : असार २४, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?