असारे विकासको चटारो

मोहन शाही

डोटी — दिपायलको राजपुरमा असारको अन्तिम सातामा सडक कालोपत्रे गर्दै मर्मतको काम सुरु भएको छ । सडकको कालोपत्रेलाई पनि उप्काएर १ करोड रुपैयाँ लगानीमा भवन तथा सहरी विकास डिभिजनले पिएस कन्स्ट्रक्सनलाई ठेक्कामार्फत कालोपत्रे गराएको छ ।

असारे विकासको चटारो

दिपायल सिलगढी नगरपालिकाले दिपायलको रातामाटीमा फनपार्कको काम पनि असारमा गराइरहेको छ । उपभोक्ता समितिमार्फत २० लाखको लगानीमा सडक, खानेपानी ट्यांकी तथा प्रतीक्षालय पार्कभित्र चालु आर्थिक वर्षमा बनाइरहेको छ ।

सडक र प्रतिक्षालय बनाइसके पनि खानेपानीको ट्यांकी निर्माणाधीन छ । ‘सामुदायिक वन क्षेत्रमा पार्क बनिरहेकाले प्रकृया पुर्‍याउँदा पुर्‍याउँदै समय बढी खर्च भयो’ कुमालीकोट सामुदायिक वनका अध्यक्ष तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र कठायतले भने, ‘असारमै भएपनि काम सक्ने भएका छौं यो रहर नभएर बाध्यता हो ।’ यसरी काम जिल्लाभरि चलिरहेको छ ।

विगतमा झैं यस वर्ष पनि असारमसान्ततिरै काम धमाधम भएका छन् । दुई दिन बाँकी रहदा पनि काम सकेर भुक्तानी पाउने आसमा योजनाहरू बन्ने क्रम जारी छ । नियमअनुसार असार २५ सम्म मात्र सरकारी कार्यालयहरूले भुक्तानी दिन पाउँछन् । स्थानीय तहहरूमा भुक्तानीका लागि बढी तँछाडमछाड छ । केन्द्रको सिंहदरबार गाउँमै पुगे पनि काम गर्ने प्रवृत्तिमा भने अझै सुधार नआएको संकेत यसले गरेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले स्थानीय तहहरूले यो अन्तिम सातामात्रै कुल बजेटको ३० प्रतिशत रकम भुत्तानी गरेका छन् । अझै १५ देखि २० प्रतिशत बजेटको भुक्तानी आइतबार र सोमबारमा वितरण भइरहेको छ । ‘८० जति योजनाहरूको दुई दिनमा भुक्तानी हुने गरि रात दिन खटेर काम गरिरहेका छौं,’ केआईसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले भने, ‘समयमै काम गर्नु, काजगात ल्याएर भुक्तानी लिनुस भन्दा पनि उपभोक्ताहरू अन्तिम समयमा आउँदा कर्मचारीलाई हैरान भएको छ ।’

केआईसिंह गाउँपालिकामा मात्र होइन, डोटीका ९ वटै स्थानिय तहको अवस्था उही हो । दिपायल सिलगढी र शिखर नगरपालिका, बोगटान, पूर्वीचौकी, सायल, आदर्श, जोरायल, बडीकेदार गाउँपालिकाका सदरमुकामहरूमा यतिबेला उपभोक्ता समितिका पदाधिकारीहरूको घुइँचो छ ।

भुक्तानीका लागि कार्यालयमा घुइँचो बढ्दा दुई/तीन दिन कुर्नु परिरहेको उपभोक्ताहरूको गुनासो छ । सबैभन्दा बढी सडक, खानेपानी, सिँचाइ जस्ता आयोजनाका भुक्तानी हुन बाँकी छन् । यद्यपि जनचेतनामूलक कार्यक्रमहरू पहिल्यै भुक्तानी लिएर असारको अन्तिम सातासम्म कार्यक्रम आयोजना गरि खर्चने पनि अधिकांशले सुरसार गरिरहेको शिखर नगरपालिकाका बारबाटाका वीरबहादुर बिष्टले बताए ।

अन्तिम समयमा आएर भुक्तानी दिँदा कतिपय योजनाहरूको काम प्रभावकारी भए नभएको बुझ्न नसकिने कर्मचारीहरूको गुनासो छ । ‘यही मौका कर्मचारीले छोपेर कमिसन पनि माग्ने ठाउँ पाउँछन्,’ केआईसिंह गाउँपालिका तिखात्तरका मीन मलासीले भने, ‘नियत नै बिगारेर कतिपयले ढिलो गरी काम गर्ने गरेका छन् ।’ कतिपय उपभोक्ता भने यस्तो भीडभाडको फाइदा पनि उठाउने गर्छन् ।

प्रकाशित : असार २५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?