कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमाबाट फर्काइए बालबालिका

भवानी भट्ट

कञ्चनपुर — विद्यालयमा बर्खे बिदा सुरु भएसँगै ठूलो संख्यामा बालबालिका भारत जान लागेका छन् । अधिकांश बालबालिका कामको खोजीमा अभिभावककहांँ जाने बहानामा सीमापारि जान लागेका हुन् ।

सीमाबाट फर्काइए बालबालिका

शनिबार मात्रै कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान लागेका २२ बालबालिकालाई सीमा क्षेत्रबाट फर्काइएको छ । १५/१६ वर्षका ती बालबालिकाहरूलाई भारतीय सीमा सुरक्षाबल (एसएसबी) र प्रहरीले फर्काएको हो ।

कैलाली, कञ्चनपुर र अछामका विभिन्न ठाउँबाट आएका बालबालिकाहरू भारतका विभिन्न ठाउँ जान लागेका हुन् । अधिकांश स्कुले बालबालिका भएको र विद्यालयमा बिदा भएपछि भारततिर जान लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले बताए ।

कैलालीको घोडाघोडी र जोशीपुर तथा अछाम रामारोशनका १४ जनालाई टनकपुर नाका हुँदै भारत जान लागेको अवस्थामा एसएसबीले रोकेर प्रहरीको जिम्मा लगाएको हो । उनीहरूलाई गाउँकै शंकरसिंह बोगटीले भारतको हल्द्वानी लैजान लागेको हुन् ।

‘बालबालिकाका आमाबुवा त्यहीं भएकाले उतै लैजान लागेको देखिन्छ,’ डीएसपी सेठीले भने, ‘तर सबै बालबालिका १५/१६ वर्षमुनिका रहेकाले काममा लगाउन नमिल्ने हुँदा फर्काइएको हो ।’ उनीहरूलाई अभिभावक बोलाएर घरतर्फ पठाइने डीएसपी सेठीले जानकारी दिए ।

यस्तै, ८ जनालाई गड्डाचौकीबाट प्रहरीले फर्काएको हो । उनीहरू पनि काम गर्न नसक्ने खालका छन् । तर, यी बालबालिकाले भने कसैले घुम्न त कसैले काम गर्न जान लागेको भने पनि कुन ठाउँ जाने भन्ने पनि थाहा नभएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सइ डिकरदेव पन्तले बताए । ‘८ जनामध्ये २/३ जनाबाहेक कसैले पनि पैसा बोकेको छैन तर उनीहरू दिल्ली, चम्पावत र हल्द्वानी जान लागेको भन्छन्,’ उनले भने, ‘तिनीहरूका अभिभावक त्यहांँ भएको भने पनि नाम र ठेगानासमेत जानकारी छैन ।’

पन्तका अनुसार कैलालीको लम्की चुहा नगरपालिका ९ प्रतापपुरका ३, कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालका २ र कैलालीकै जोशीपुरका ३ जनालाई गड्डाचौकीबाट फर्काइएको हो । उनीहरूलाई आइतबार बिहानै आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यतिबेला विद्यालयमा बर्खे बिदा सुरु भएको छ । गाउँमा खेतीपातीको काम पनि सकिन लागेको छ । अधिकांश बालबालिका आफ्ना अभिभावक भएको ठाउँमा केही दिन काम गर्न जाने गर्छन् । तर, यो मौका छोपेर दलालहरूले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउने, बेपत्ता पार्ने तथा विभिन्न आपराधिक क्रियाकलापमा लगाउने जोखिम पनि त्यत्तिकै हुन्छ । यही भएर सुरक्षाकर्मीले सीमामा रोकेर आफन्तको जिम्मा लगाई घर फिर्ता गराउँदै आएको छ ।

केही दिनयता दिनहुँ ठूलो संख्यामा बालबालिकाहरू भारत जान लागेका छन् । कोही अभिभावकसँग त कोही एक्लैदुक्लै पनि जान लागेका देखिन्छन् । कतिपयलाई त कहाँं जाने भन्ने पनि जानकारी हुँदैन । साथीभाइ र दलालको लहलहैमा लागेर समेत बालबालिकाहरू जाने गरेको सीमावर्ती बजार वनबासामा महिला तथा बालिकाको क्षेत्रमा कार्यरत संस्था रिड्सका महासचिव भुवन गड्कोटी बताउँछन् ।

उनले अभिभावककहाँ जाने बालबालिकाका लागि स्थानीय प्रशासनले कुनै लिखित कागजात दिने व्यवस्था गरिदिए केही हदसम्म जोखिम कम हुने बताए । तर, अहिले जाने कसैसँग पनि कुनै प्रमाण नहँुदा रोक्न र जान दिन निकै समस्या हुने गरेको उनले जानकारी दिए ।

यसअघि जेठ अन्तिम साता पनि गड्डाचौकी नाकाबाटै भारत जान लागेका १८ जनालाई फर्काएर आफन्तको जिम्मा लगाइएको थियो । अछामको ढकारी गाउँपालिकाको ढुंगाचालनाका ती बालबालिका पनि अभिभावक भएको ठाउँमा जान लागेका थिए ।

तिनीहरू पनि १४/१५ वर्षका भएकाले जोखिमपूर्ण काममा लगाइने भन्दै एसएसबीले फिर्ता गराएको हो । उनीहरू गाउँलेसँगै भारतको सिमला जान लागेका थिए ।

प्रकाशित : असार २५, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?