३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सडकभरि खाल्डाखुल्डी

कञ्चनपुर — बर्खामा हिलो र खाल्डा खुल्डीले यात्रा गर्न सकस । सुख्खायाममा धुलोले हैरान । यो जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी र कलुवापुर–बेलौरी सडक खण्डको वर्षाैदेखिको अवस्था हो ।

सडकभरि खाल्डाखुल्डी

यतिबेला पनि वर्षात सुरु भएदेखि नै यि सडक हिलाम्य भएर यात्रा गर्न निकै समस्या भएको छ । अझ ति सडकमा ठाउँ ठाउँमा परेका खाल्डा खुल्डीले यात्रा गर्नै जोखिम हुने गरेको छ ।

दैजी–बेल्डाँडी २४ किमी सडकखण्ड हुलाकी सडक आयोजना अन्तर्गत दुई वर्षदेखि निर्माणाधीन भएपनि समयमै काम नहुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको हो । निर्माण कम्पनीले माटो भरान गर्दा सडक चिप्लो भएर झन समस्या भएको स्थानीय बताउँछन् । ‘अहिले त यात्रा गर्नै गाह्रो हुने अवस्था आएको छ’ गत साता बेल्डाँडीमा आयोजित छलफल कार्यक्रममा स्थानिय जनकसिंह धामीले भने, ‘हुलाकी सडक निर्माणका नाममा हामीलाई झन सास्ती भएको छ ।’

कलुवापुर –बेलौरी सडक खण्डमा पनि यतिबेला स्तरोन्नतिको काम चलिरहेको छ । तर वर्षातको समयमा यात्रा गर्न निकै सास्ती हुने गरेको यात्रुहरू बताउँछन् । ठेकेदारको लापरवाहीले निर्माण कार्यमा ढिलाई हुँदा यात्रुले समस्या खेप्नुपरेको उनीहरू बताउँछन् । २४ किमी उक्त सडकखण्ड कालोपत्रका लागि दुई खण्डमा विभाजन गरि दुई वर्षअघि ठेक्का सम्झौता भएको हो ।

असारभित्रै दुवै खण्डको काम सकिनुपर्ने हो तर अहिलेसम्म ५०/६० प्रतिशत मात्रै काम भएको छ । अहिले उक्त सडक खण्डमा ग्राभेल विछ्याउने काम चलिरहेको छ । ‘यो संधैको समस्या कहिलेसम्म भोग्नुपर्ने हो’ बेल्डाडीका शिवराज अधिकारीले भने, ‘रात विरातमा कोहि बिरामी भए बाटोमै ज्यान जाने अवस्था छ, छोटो बाटोमा पनि खाल्डा खुल्डी र हिलोका कारण एक/डेढ घण्टा लाग्छ ।’ उनले समयमै निर्माण सम्पन्न गराउन स्थानीय तहले पनि पहल गर्नुपर्ने बताए । तर निर्माण कम्पनीले समयमै काम नगर्दा पनि जनप्रतिनिधिले चासो नदिएको उनको गुनासो छ ।

यि सडक खण्डमा अधिकांस साना खालका सवारी साधनहरू विद्युतिय रिक्सा, अटो, जीप कार र मोटरसाईकल बढी मात्रामा चल्छन् । ठूलठूला खाल्डाका कारण दुर्घटनाहरू समेत हुने गरेका छन् । दैजी–बेल्डाँडी सडक खण्ड निर्माणको ठेक्का पाएको शर्मा राजेन्द्र जेभीका इन्जिनियर दिलानन्द गिरी पनि अहिले यात्राका लागि सडक निकै अप्ठेरो भएको स्विकार्छन् । उनले एक/दुई दिनभित्रै खाल्डाखु्ल्डीमा ग्राभेल भरान र सम्याउने काम गरिने बताए ।

वर्षातमा यात्रा गर्न केहि हदसम्म भएपनि सहज बनाउनका लागि निर्माण कम्नीसंग र सम्बन्धित कार्यालयसंग पहल गरिएको बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले बताए । उनले निर्माण कार्य समयमै सक्न र तत्काल देखिएको समस्या समाधानका लागि आग्रह गरिएको बताए । ‘तत्काल सडकका खाल्डा खुल्डी पुर्न र निर्माणको गति बनाउन भनेका छौं’ उनले भने, ‘फेरी पनि यस विषयमा सम्बन्धित पक्षसंग छलफल गरिने छ ।’ अन्य ग्रामीण सडक पनि हिलाम्य भएर यात्रा गर्न निकै समस्या भएको छ ।

तर जिल्लाको आधा जनसंख्या बसोबास गर्ने दक्षिणी क्षेत्रलाई सदरमुकामसंग जोड्ने सडकको अवस्थाका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । स्थानीय प्रशासनले समयमा निर्माण कार्य नगर्ने निर्माण कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाए पनि निर्माण व्यवसायीमाथि कारवाही भएको छैन ।

प्रकाशित : असार २६, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?