कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बीच सडकमा पूर्वसांसद डुबेपछि...

बसन्तप्रताप सिंह

बझाङ — मंगलबार रातिदेखिको अविरल वर्षाबाट आएको बाढी र पहिरोका कारण जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि जिल्ला भित्रिने र बाहिरिने यात्रु र सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।

बीच सडकमा पूर्वसांसद डुबेपछि...

कतिपय यात्रु हिँडेरै आ-आफ्ना गन्तव्यतिर लागेका छन् । यिनै यात्रुमध्येका एक थिए, पूर्वसांसद अफिलाल ओखेडा । सोमबार साँझ धनगढीबाट सार्वजनिक बसको यात्रा गर्दै बझाङ आइपुगेका ओखेडालगायत यात्रु केदारस्युँ गाउँपालिकाको नारुगाडमा आएर रोकिए । नारुगाड खोलामा आएको बाढी सडकमा पसेका कारण झण्डै आधा किलोमिटर सडक जलमग्न भएको थियो ।


गाडी चल्न नसक्ने भएपछि जिल्लामा तय गरिएको भेटघाटको हतारोमा रहेका ओखेडाले जँघार तरेर सडक पार गर्ने आँट गरे । पानी दर्किरहे पनि उनले पटक पटक चिप्लिँदै खोलाजस्तै बनेका सडक पार गरे । पूर्वसांसद चिप्लिन लाग्दा अन्य यात्रुहरु हाँस्दै मुखामुख गर्थे । कतिपय यात्रु उनको कार्यकालमा जिल्लाबाट ५/५ जना सांसद हुँदा पनि सडकको अवस्था सुधार गर्न नसकेको भन्दै ‘खुच्चिङ’ भनिरहेका थिए । कतिपय नेता आफैंले दु:ख भोगेपछि केही गर्छन् कि भन्ने आस व्यक्त गरे । ‘पुर्वसांसद आफैं चिप्लिएका छन् । अब सुधारको प्रयास गर्छन् कि ?’ थलाराका दीनराज जोशीले भने । चैनपुरका दिवस स्नेहीले त्यसैमा व्यंग्य थपे, ‘खोलो तर्दासम्म दु:ख रै'छ भन्ने सम्झिन्‍छन् । वारि आइसकेपछि भुली हाल्छन् ।’ कतिपयले एक दुई जना सांसद बगाएको भए सरकारको ध्यान जान्थ्यो कि भन्नसमेत भ्याए ।

बझाङको सडक जोखिमपूर्ण बन्दै गएको र पैदल हिँड्दा पनि दुर्घटनाको खतरा रहेको बताउँदै जयपृथ्वी नगरपालिकाका किशोर खड्काले भने ‘सरकार रेल र पानी जहाजको सपना देखिरहेको छ । यहाँ मान्छेहरु सडकमै बगेर मर्ने अवस्था छ ।’ नारुगाड खोला बढेर सडकमा आएको बाढीका कारण सक्ने मान्छेहरु पार गरेर वारि आए पनि महिला बालबालिका र वृद्धवृद्धाहरु भने तर्न नसकेर अलपत्र परेका थिए ।

पूर्वसांसद ओखेडाले बझाङको सडकको हालतबारे पहिलेदेखि नै जानकार रहेको र सुधारको विषयमा जहिल्यै धेरै प्रयास गरेको दाबी गरे । ‘सरकार सदन सबैतिर कुरा उठाएकै हो’ उनले भने ‘ जयपृथ्वी राजमार्गलाई कम्तीमा दुइलेनको बनाइदिनुस् । साह्रै जोखिम भएको ठाउँमा सुधारको योजना हालिदिनु भनेर पटक पटक मन्त्रालय धाएको छु । तर सरकारले चलेकै त छ नि भन्ने खालको व्यवहार गऱ्यो ।’ उनले काठमाडौंबाट दुरविन लगाएर दुर्गमलाई हेर्ने सरकारी प्रवृत्तिका कारण बझाङका दु:ख सरकारले नदेखेको आरोप लगाए ।


बैशाख १४ गतेयता मात्र जयपृथ्वी राजमार्ग १८ पटकभन्दा बढी अवरुद्ध भइसकेको छ । बझाङलाई बाहिरी जिल्लासँग जोड्ने एकमात्र यो सडक पटक पटक अवरुद्ध हुँदा स्थानीयले निकै नै सास्ती भोग्नु परेको छ । तराईका जिल्लाबाट खाद्यान्न, लत्ताकपडा, औषधि, नुनतेल र निर्माण सामाग्री यही सडक भएर बझाङ भित्र्याइन्छ । त्यसैले यो राजमार्ग जिल्लाको ‘लाइफलाइन’ मानिन्छ । तीन वर्षअघि कालोपत्र गरिएको यो सडक र अन्दाधुन्द निर्माण गरिएका अरु ग्रामीण शाखा सडकहरु जुनसुकै बेला बन्द हुने अवस्थामा छन्, किनकि अलिअलि पानी पर्नेवित्तिकै ती सडकहरुमा पहिरो जाने र पहिरोले बगाएर ल्याएको माटो र ढुङ्गा सडकमा थुप्रिने गरेको छ ।

२०७४ असारदेखि भदौसम्ममा यो राजमार्ग ३८ दिन अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा जिल्लामा उपचार सम्भव नभएर बाहिर ‘रेफर’ गरिएका पाँच जनाको बाटैमा मृत्यु भएको थियो ।


प्रकाशित : असार २६, २०७५ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?