१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अस्पतालको सवा २ करोड फ्रिज

भवानी भट्ट

कञ्चनपुर — यहाँको महाकाली अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरको अभावसँगै आवश्यक उपकरण पनि न्यून छन् । वर्षाैं पुराना बेडहरू फेर्नुपर्ने छ । तर उपकरण र नयाँ बेड खरिदका लागि आएको रकम भने फ्रिज हुने भएको छ ।

अस्पतालको सवा २ करोड फ्रिज

अस्पताल प्रशासन र विकास समितिको लापरबाहीका कारण चालु आर्थिक वर्षमा उपकरण खरिदका लागि आएको सवा २ करोड बजेट फ्रिज हुने भएको हो ।माघमा स्वास्थ्य सेवा विभागबाट अस्पताललाई उपकरण खरिदका लागि २ करोड २५ लाखको अख्तियारी आएको थियो । त्यसलगत्तै अस्पताल प्रशासनले बेड र उपकरण खरिदका लागि टेन्डर पनि आहान गर्‍यो ।

फागुन ८ मा टेन्डर खोल्ने मिति तय भए पनि ५ दिनअगावै उक्त प्रक्रिया रद्द गरियो । अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयका अनुसार इन्टरनेट प्रविधिबाट समेत टेन्डर आहवान हुनुपर्नेमा त्यसो नभएकाले मुद्दा परेपछि प्रक्रिया नपुगेर रद्द गरिएको हो । अस्पताल प्रशासनले आहवान गरेको टेन्डर अस्पताल विकास समितिकै दबाबमा रद्द गर्नुपरेको स्रोतले जनाएको छ ।

प्रशासनले एकमुष्ट रूपमा टेन्डर खोले पनि समितिले भने आर्थिक ऐन विपरीत बजेट टुक्रयाएर टेन्डर आहवान गर्न खोज्दा विवाद भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । अस्पताल सम्बद्ध स्रोतका अनुसार कमिसनका लागि भएको चलखेलका कारण प्रशासनका कर्मचारी र अस्पताल विकास समितिका पदाधिकारीबीच कुरा नमिल्दा यति ठूलो रकम फ्रिज हुन गई अस्पतालको आवश्यकताअनुसारका सामान, औषधि र उपकरण पाउनबाट वञ्चित हुन पुगेको हो ।

तर यसरी टेन्डर आहवान गर्ने कुरामा समितिको कुनै हात नहुने अध्यक्ष पाण्डेय बताउँछन् । ‘टेन्डर प्रक्रियामा समितिको केही हात हुँदैन,’ उनले भने, ‘यो त प्रशासनको काम हो ।’ उनले इन्टरनेटबाट टेन्डर आह्वान गर्नका लागि प्राविधिक जनशक्ति नहुँदा समस्या भएको बताए । तर अस्पतालका केही कर्मचारी भने समितिका पदाधिकारी र सम्बन्धित फाँटका कर्मचारीबीच कमिसनका लागि भएको खिचातानीले रकम फ्रिज भएको बताउँछन् । अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. रोजन ताम्राकार र अस्पताल विकास समितिका अध्यक्षबीच टेन्डरको प्रक्रियाका विषयमा विवादसमेत भएको स्वास्थ्यकर्मी बताउँछन् । यस विषयमा डा. ताम्राकारसँग भने सम्पर्क हुन सकेन ।

उक्त रकम फ्रिज भएको विषयले जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय बैठकमा समेत प्रवेश पाएको थियो । ‘यो रकम किन र कसको लापरबाहीले फ्रिज गएको हो, सबैले चासो दिनुपर्छ,’ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले गत साता एक सार्वजनिक कार्यक्रममा भने, ‘औषधिको समेत अभाव भइरहेका बेला यत्रो बजेट फ्रिज जानु राम्रो होइन ।’ उनकै पहलमा अस्पतालको सेवा सुधारसँगै विशेषज्ञ डाक्टर ल्याउने विषयमा दुई महिनादेखि नियमति रूपमा सर्वपक्षीय छलफल हुन थालेको छ ।

उक्त बजेटबाट अस्पतालका बेडसँगै ल्याब मेसिन, कुल्टर काउन्टर, ट्रली, पोर्टेबल एक्सरे मेसिन लगायतका उपकरण खरिद गर्ने तयारी थियो । ‘एकपटक गरिएको टेन्डरमा प्रक्रिया नपुगेको भन्दै अख्तियार लगायत केही ठाउँमा मुद्दा परेपछि रद्द गरिएको सुन्नमा आउँछ,’ अस्पतालका मेसु डा. हरि श्रेष्ठले भने, ‘तर त्यतिबेला के भएको हो भन्ने थाहा हुन सकेन ।’

एक चरणको टेन्डर रद्द भएपछि अस्पताल प्रशासन र विकास समितिको आग्रहमा स्वास्थ्य सेवा विभागबाटै पुन उक्त प्रक्रिया सुरु भएको थियो । तर विभागले पनि विगतजस्तै टेन्डर खुल्ने दिन भन्दा ३ दिनअघि टेन्डर रद्द गरिदियो । विभागले जेठ ११ मा टेन्डर खोलिने मिति तय गरेको थियो ।

‘उक्त प्रक्रिया किन भयो भनेर आधिकारिक जानकारी त आएको छैन,’ अध्यक्ष पाण्डेयले भने, ‘तर मौखिक रूपमा बुझ्दा प्रदेश मन्त्रालयबाट उक्त रकम पठाइदिने भन्दै प्रक्रिया रद्द भएको भन्ने जानकारी पाइएको छ ।’ उनले प्रदेश ७ को सामाजिक विकास मन्त्रालयबाट उपकरण खरिदका लागि २ करोड बजेट आइसकेको बताए ।

डेढ अर्ब खर्च हुन बाँकी
कञ्चनपुरमा चालु आर्थिक वर्षको विकास बजेटतर्फ बुधबारसम्म करिब डेढ अर्ब खर्च हुन बाँकी रहेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार पुँजीगततर्फ कुल बजेट ४ अर्ब ८८ करोड १९ लाखमध्ये हालसम्म ३ अर्ब ४८ करोड १८ लाख मात्रै खर्च भएको छ ।

जिल्लामा ठूला योजनाहरू सडक, महाकाली सिँचाइ र महाकाली पुल योजनाको काम चलिरहेकाले अहिले धमाधम बजेट खर्च भइरहेको कोष नियन्त्रक नन्दराज भट्टले बताए ।

प्रकाशित : असार २८, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?