२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नौगाडमा बाढी र पहिरो

मनोज बडू

दार्चुला — लगातारको वर्षाले नौगाड खोलामा बाढी र पहिरो आएको छ । नौगाड खोलामा मंगलबार रातिदेखि बहाव बढेपछि नदीले जमिन कटान गर्नुका साथै आधा दर्जन घरमा बाढीले क्षति पुर्‍याएको छ ।

नौगाडमा बाढी र पहिरो

बाढीले नौगाड खोलाका काठेपुल बगाएसँगै गाउँपालिकाको अधिकांश ठाउँ बाढी र पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । नौगाड–४ कपडेका लालमणि ठगुन्नाका दुई घरमा पहिरोले क्षति र होपरीगाडमा रहेको मनवीर ठगुन्नाको एउटा पसल बगाएको छ । नौगाड–१ का खडकसिंह ठगुन्नाको घर पहिरोले पुरिँदा पशुचौपाया, अन्नबालीलगायत अन्य सामग्री पहिरोले पुरिएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

यसै वर्ष निर्माण सम्पन्न भएका खारको आरसीसी पुल र गोधानी पुल बाढीले बगाउँदा आवतजावत बन्द भएको छ । धुलीगडा र होपरी जोड्ने गरी गत वर्ष झन्डै २० लाख रुपैयाँको लागतमा निर्माण गरिएको कपडे भेलको पर्खाल बगाएपछि खार–धुलिगडा सडक पूरै अवरुद्ध भएको छ । नौगाड–१ मा रहेको गोधानी खोला लघु जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेको छ । गोधानी खोला, सेइल खोला, दह खोलामा राखिएका काठेपुल पनि बगाउँदा आवतजावत बन्द भएको इयरकोटका स्थानीय जनकराज भट्टले जानकारी दिए ।

‘होपरीगाड बस्तीका सयौं घर/पसल बाढी र पहिरोको उच्च जोखिममा रहेका छन्,’ नौगाड गाउँपालिकाका अध्यक्ष धामीले भने, ‘राति दुई बजेदेखि खोलामा बाढी आएको हो । बाढीबाट मानवीय क्षति नभए पनि भौतिक भने ठूलो मात्रामा भएको छ ।’ अहिले बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानतर्फ व्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताए ।

बाटो पूरै बगाएर अवरुद्ध पारेपछि प्रहरीलाई प्रभावित ठाउँमा जान कठिनाइ भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा बिहानदेखि इलाका प्रहरी चौकी गोकुलेश्वरबाट प्रहरी खटिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ‘विभिन्न चौकीबाट बाढी प्रभावित क्षेत्रमा प्रहरी खटाइएको भए पनि सम्पर्क हुन सकेको छैन,’ दार्चुलाका डीएसपी नवराज अधिकारीले भने, ‘यहाँबाट सम्पर्क गर्ने प्रयास गरिरहेका छाैं । सम्पर्क हुन सकेको छैन ।’ मानवीय क्षति भएको खबर आएको छैन । तर, केही घरपरिवार विस्थापित भएको खबर आफूहरूलाई प्राप्त भएको उनको भनाइ छ ।

पुल बगाउँदा परीक्षा स्थगित
नौगाड–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थगित भएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि परीक्षा स्थगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिंह ठगुन्नाले जानकारी दिए । बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।

सञ्चारसम्पर्क अवरुद्ध
विद्युतीय उपकरणमा बाढीले क्षति पुर्‍याएपछि नौगाडका केही बस्तीमा सञ्चार सेवा नै अवरुद्ध भएको छ । घाम लागेका बेला मात्रै टेलिफोन सेवा उपलब्ध हुने उक्त बस्तीमा अहिले टेलिफोन सम्पर्क नहुँदा थप समस्या निम्त्याएको छ । जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी सिप्टी र दल्लेकबाट प्रहरी टोली उद्धारका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २९, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?