कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनियन्त्रित दोहनले बाढी

ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननले साँघुरा खोला सबै चौडा भए
चुरेको वन विनाशले पनि तराई क्षेत्रमा बाढी
मोहन बुढाऐर

धनगढी — चुरे पहाडबाट बग्ने नदीनालाको अनियन्त्रित र असीमित दोहनले कैलालीको समथल भूभागमा बाढीको प्रकोप बढेको छ । एक दिनको वर्षाले पनि कैलालीको दक्षिणी–पूर्वी क्षेत्र पूरै जलमग्न हुने गरेको छ ।

अनियन्त्रित दोहनले बाढी

चुरेबाट बग्ने मुख्य ठूला नदी गोदावरी, मोहना, खुटिया, शिवगंगा, गौरीगंगा, कान्द्रा, काँडा, पथरैयालगायतका नदीमा आएको बाढीले कैलालीको दक्षिणी–पूर्वी क्षेत्र पूरै जलमग्न हुने गरेको छ । ती नदीबाट जथाभावी भइरहेको ढुंगा, गिट्टी तथा बालुवाको उत्खननले पछिल्लो समय कैलालीमा बाढीको समस्या निम्तिएको स्थानीयवासी बताउँछन् । ‘खोला छेउका ढुंगा, गिट्टी र बालुवाको उत्खननले २० वर्षअघिको साँघुरो खोला ठूलो भयो,’ खुटियाका खडकसिंह साउदले भने, ‘बर्खामा तिनै खोलामा उर्लिएर आउने बाढीले तल्लोतटीय क्षेत्रका बस्ती डुबानमा पर्न थाले ।’

उनका अनुसार कुनै बेला खुटिया नदी मुहानदेखि मोहनासम्म मिसिँदा बढीमा ५० मिटरको चौडाइ क्षेत्रमा बग्थ्यो । अहिले नदीले ५ सय मिटरभन्दा बढी चौडा क्षेत्रफल ओगटेर बग्ने गरेको छ । उक्त नदीसहित चुरेबाट बग्ने दुई दर्जन नदीको ढुंगा, गिट्टी र बालुवाको ठेक्कापट्टाबाट तत्कालीन जिल्ला विकास समितिले वार्षिक ११ करोडको आम्दानी गर्दै आएको थियो । आर्थिक वर्ष ०७५/०७६ देखि भने उक्त ठेक्काको रकम स्थानीय तहको आम्दानी बन्ने भएको छ ।

‘नदीजन्य पदार्थको ठेक्का दिने तर ढुंगा र गिट्टी उत्खनन मापदण्डअनुसार भइरहेको छ /छैन भन्ने कुनै निकायबाट अनुगमन नहुँदा नदीको दोहन जथाभावी भयो,’ जिल्ला समन्वय समितिका कर्मचारी देवराज भट्टले भने, ‘त्यसको वातावरणीय प्रभाव मात्रै परेको छैन, तराईको भविष्यलाई संकटमा पारेको छ ।’ त्यसैले स्थानीय तहले नदीजन्य पदार्थको उपभोग नीतिमा संरक्षणको पाटो पनि उत्तिकै बलियो बनाउनुपर्ने उनको धारणा छ ।

चुरेमा भएको वन विनाश र नदीनालामा जथाभावी भइरहेको ढुंगा, गिट्टी तथा बालुवाको उत्खननले वातावरणीय प्रभाव परेको विज्ञहरूको समेत कथन छ । चुरे पर्वत शृंखलामा भइरहेको वन विनाश, अतिक्रमण, भूक्षय र विकासका नाममा भइरहेको मानवीय क्रियाकलापको असर समथल भूभागमा पर्न थालेको अर्का वातावरणीय क्षेत्रमा कार्यरत हेरुलाल डगौरा बताउँछन् । ‘चुरेमा परेको वातावरणीय प्रभाव नै वर्षादमा खोलानालामा आउने अनियन्त्रित बाढीको समस्याको प्रमुख कारण हो,’ डगौराले भने, ‘चुरेबाट बग्ने नदीनालाको अनियन्त्रित दोहन रोक्न जरुरी भइसकेको छ ।’

चुरेबाट बग्ने नदीको अतिक्रमणले जिल्लाको अति उर्वरभूमि बगरमा परिणत भइसकेको भजनी नगरपालिका थापापुरका गंगाराम चौधरी बताउँछन् । उनका अनुसार थापापुर आदिवासी थारूको बाहुल्य भएको बस्ती हो । थारूहरूले आफ्नो बस्ती बसाउने क्रममा कुनै हिसाबमा असुरक्षित ठानेर बस्ती बसाएका थिएनन् । बाढीको त झनै कुनै सम्भावना नै देखेका थिएनन् । गाउँको एकछेउ साँघुरो क्षेत्रमा काँडा नदी बग्थ्यो । पछिल्लो १५ वर्षयता काँडा नदी गाउँको अभिशाप बनेको छ ।

हरेक वर्षको बर्खामा आउने बाढीले खेत कटान गरेको छ । यो नदीले थापापुर मात्रै हैन, पूर्व–पश्चिम राजमार्गबाट दक्षिण बगेपछि दर्जनौं बस्तीलाई नोक्सान पुगाउँदै आएको छ । उनको विचारमा पनि चुरेको विनाश र नदीजन्य पदार्थको जथाभावी उत्खननले नदी कटानको समस्या निम्तिएको हो । ‘पचास बर्ष पहिले आवादी भएको कुचौनीमा शिवगंगा नदीको बाढी पस्न थालेको धेरै वर्ष भएको छैन,’ ६४ वर्षीय बहादुर नेपालीले भने, ‘दस/पन्ध्र वर्ष जति भयो गाउँमा नदी पस्न लागेको ।’

नदीको सिरानमा भएको वन पँmडानी र ढुंगागिट्टी उत्खनन सुरु भएपछि बाढीको प्रकोप बढेको उनी बताउँछन् । उनले आजभन्दा ४० वर्षअघि शिवगंगा नदी सानो खोलाका रूपमा रहेको बताए ‘यो नदीको बढीमा चौडाइ १४ मिटर जतिको थियो । अहिले शिवगंगा नदीको बगर क्षेत्रसमेत नाप्दा ४ सय मिटरभन्दा बढी फराकिलो भएर बग्ने गरेको छ,’ उनले भने ।

यस्तै, कैलालीको चुरेबाट उत्पन्न भई मोहना नदीमा मिसिने साना, ठूला ५४ नदीमा आउने बाढीले बस्ती जोखिममा पर्नुको प्रमुख कारण नदीबाट भइरहेको उत्खननको प्रभाव नै हो भन्छन्, अर्का वन वातावरणका क्षेत्रमा कार्यरत विजयराज श्रेष्ठ । जिल्ला समन्वय समितिको एक तथ्यांकअनुसार चुरेबाट साना, ठूला गरी ९ सय ३० नदीनाला बग्छन् । जसमध्ये ५४ वटा ठूला नदी छन् । उक्त सबै नदीको पानी कैलालीको पश्चिम कुनाबाट पूर्व भई बग्ने सीमा नदी मोहनामा मिसिने गरेको छ ।

प्रकाशित : असार ३१, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?