कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यार्सा उत्पादन घट्यो

विगतमा एक परिवारले १ किलोसम्म संकलन गर्थ्याे , यसपाला मुस्किलले एक परिवारले २ सय ग्राम संकलन
मनोज बडू

दार्चुला — दुहुँ गाउँपालिका ५ का रामु बडालको परिवारले गत वर्ष झन्डै दुई लाख रुपैयाँ बराबरको यार्सागुम्बु संकलन गरेका थिए । यो वर्ष विगतका वर्षको तुलनामा यार्सागुम्बु कम भेटिएकाले उनमा निराशा छाएको छ । यार्सागुम्बु संकलनबाट नै घरधन्दा चलाइरहेका बडाललाई यो वर्ष परिवारको भरणपोषण गर्न अप्ठ्यारो हुनेछ ।

यार्सा उत्पादन घट्यो

‘यसअघिका वर्षमा यार्सागुम्बु संकलन गरेरै परिवार पालिन्थ्यो,’ उनले भने, ‘ठूलो परिवार संख्या रहेकाले अन्य वर्षको तुलनामा कमाइ कम हुँदा अब ज्यालादारीमा काम गर्नुपर्ने हुन्छ ।’ डेढ महिनासम्म पाटनमा यार्सागुम्बु संकलन गर्दा नपाइएपछि उनी निराश हुँदै घर फर्किएका छन् । ‘सिंगो परिवार यार्सागुम्बु संकलनको सिजनमा लेकतिर जान्छौं,’ उनले भने, ‘तर, यो वर्ष सोचेजस्तो संकलन हुन सकेन ।’ सोचेअनुसार यार्सागुम्बु नभेट्टिएपछि उनी मात्रै हैन अधिकांश संकलकहरू निराश हुँदै घर फर्केका छन् ।
करिब दुई महिनाको यार्सागुम्बु तथा अन्य जडीबुटी संकलन गरी वर्षभरिको खाद्यान्न तथा घर खर्च चलाउने गरेका यहाँका अधिकांश संकलकहरू निराश भएरै लेकबाट घर फर्केको दुहुँ गाउँपालिका ४ का लोकेन्द्रसिंह लोथ्यालले बताए । ‘यार्सागुम्बुको सिजनमा कमै संकलन गर्ने परिवारले ५० हजारसम्म कमाउँछन्,’ लोथ्यालले भने, ‘कोही–कोही परिवारले यो सिजनमा ३/४ लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।’ अधिकांश संकलकहरू यो वर्ष यार्सागुम्बु सिजन राम्रो नभएको सुनाउँछन् । कोहीले मात्रै ठीकै भयो भन्छन् । तर, अधिकांश संकलकहरू भने निराश नै देखिने गरेको उनको भनाइ छ ।

जिल्लाको मुख्य आयस्रोत तथा बहुमुल्य जडीबुटीका रूपमा रहेको यार्सागुम्बु उत्पादन क्रमिक रूपमा घटदै गएको छ । विगतका वर्षको तुलनामा क्रमिक रूपमा घटदै गएको सम्बद्ध निकाय र स्थानीयको भनाइ रहे पनि संरक्षणमा कसैको चासो पुगेको छैन । ‘अपिनाम्पा संरक्षण क्षेत्रभित्र पाइने यो बहुमूल्य जडीबुटी जिल्लाको प्रमुख आयआर्जन मानिदै आए पनि यो संरक्षणमा न संरक्षण क्षेत्र कार्यालयको ध्यान पुगेको छ न त उपभोक्ताले नै आफैंले संरक्षण गर्नुपर्ने चेतना छ,’ अपिहिमाल गाउँपालिकाका नरहरि ठेकरेले भने, ‘स्थानीय उपभोक्ताले तत्कालको आवश्यकतासम्म हेरेका छन् । जो संरक्षणका लागि खोलिएको कार्यालय हो, उसले राजस्व संकलनमा मात्र ध्यान पुर्‍याएको जस्तो देखिन्छ ।’

‘विगतमा एक किलोग्राम यार्सागुम्बु एक परिवारले संकलन गथ्र्यो । तर, अहिले बढी संकलन गर्ने परिवारले मुस्किलले दुई सय ग्राम पुर्‍याउँछ । यसबाट पनि यार्सागुम्बु उत्पादन घटेको देखिन्छ,’ ठेकरेले भने । यार्सागुम्बुको अव्यवस्थित संकलन, यार्सागुम्बु पाइने पाटनमा जथाभावी फोहोर फालिनु, प्लास्टिकको प्रयोग बढी हुनु, यार्सागुम्बु खनेर निकाल्नुजस्ता कारणले उत्पादन घटदै गएको हो ।

जथाभावी वन फँडानी, दोहन, आगलागी, यार्सागुम्बुका नाममा विभिन्न जडीबुडी दोहन हुँदै जाँदा जिल्लाको बहुमूल्य जडीबुटी क्रमिक रूपले लोप हुँदै गएको उनको भनाइ छ ।संरक्षणको जिम्मेवारी पाएको अपिनाम्पा संरक्षण क्षेत्रले वन संरक्षणमा ध्यान नदिएको स्थानीयको आरोप छ । संरक्षणको नाममा आउने बजेट हरेक वर्ष उपभोक्ता समितिलाई पोस्नेबाहेक संरक्षणको काम हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले स्थापनाकालदेखि नै संरक्षण क्षेत्रमा ठूलो बजेट खर्च गरेको देखाए पनि उपलब्धि भने देखिएको छैन । वनमा फोहोर बढ्नु, जथाभावी खनिनुलगायतका कारणले उत्पादन घटेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यार्सागुम्बुको उत्पादन घटेको भए पनि संरक्षण क्षेत्र कार्यालयले गत वर्षको तुलनामा यो वर्ष निकासी भने बढेको जनाएको छ ।

गत वर्षसम्म अपिनाम्पा संरक्षण क्षेत्रबाट वार्षिक झन्डै ७ सय किलो यार्सागुम्बु जिल्लाबाट बाहिर जाने गरेको थियो । यो वर्ष जिल्लाबाट ८ सय १६ किलोग्राम यार्सागुम्बु अन्यत्र लैजान स्वीकृति दिने गरी कार्य योजना बनाएको छ ।

प्रकाशित : असार ३२, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?