शय्या थपियो, जनशक्ति थपिएन

गणेश चौधरी

टीकापुर — टीकापुर अस्पतालमा करिब ३ वर्षअघि नै शय्या थप गरी ५१ शय्याको बनाइएको भए पनि जनशक्ति अभावले सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।टीकापुर अस्पताललाई सरकारले दरबन्दीअनुसार चिकित्सक र अरू स्वास्थ्यकर्मी उपलब्ध नगराउँदा स्वास्थ्य सेवाप्रवाहमा कठिनाइ भइरहेको अस्पताल विकास समितिका अध्यक्ष रतनबहादुर खडकाले बताए ।

शय्या थपियो, जनशक्ति थपिएन

दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नभएर अस्पतालको उपचार सेवा प्रभावकारी हुन नसकेको हो । ‘६ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ तर उपलब्ध छैनन्,’ अस्पताल विकास समितिका अध्यक्ष खडकाले भने ।

दरबन्दीअनुसार बालरोग, स्त्रीरोग, हाडजोर्नी, साइकियाट्रिक, फिजिसियनलगायतका विशेषज्ञ डाक्टरको व्यवस्थाका लागि पटकपटक मन्त्रालयमा अनुरोध गरे पनि व्यवस्था नगरिएको खडकाले गुनासो गरे । उनका अनुसार कोरियन सहयोग नियोग (कोइका) को सहयोगमा स्रोत साधन सम्पन्न अस्पताल भवन बनाइदिएको भए पनि जनशक्ति अभावमा भवन र सरसामानको उपयोग हुन सकेको छैन ।’

सरकारी दरबन्दीअनुसार स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्था नहँुदा अस्पतालले आन्तरिक स्रोतबाट ४२ जना कर्मचारी व्यवस्थापन गरिरहेको जनाएको छ । टीकापुर अस्पतालमा डाक्टर निवाससहित १२ वटा भवन छन् । शय्या थप भए पनि विशेषज्ञ डाक्टरको अभावका कारण यहाँका बिरामीले नेपालगन्ज तथा भारतका विभिन्न सहरमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको अस्पतालका सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालले बताए । उनले भने, ‘अस्पतालमा प्रसूति सेवा, ओपीडी, आकस्मिक सेवा र वार्ड तथा अप्रेसनका लागि छुट्टाछुट्टै भवन बनेको छ । दरबन्दीअनुसार डाक्टरको व्यवस्था भए धेरै सेवा दिन सकिन्छ ।’

अस्पतालमा आवश्यक भौतिक पूर्वाधार हुँदाहँुदै पनि विशेषज्ञ डाक्टरको अभावमा बिरामीहरूलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको डा. खनालले बताए । दैनिक करिब ४ सय जति बिरामी उपचारका लागि आउने यो अस्पतालमा जनशक्ति अभावमा अप्ठयारो भइरहेको डाक्टर खनालले बताए । उनले भने, ‘दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिरामी जाँच्नुपर्ने बाध्यता छ ।’

टीकापुर अस्पतालमा कैलालीको पूर्वी क्षेत्र र बर्दियाको राजापुर क्षेत्रका करिब ८ लाख जनसंख्यालाई स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बाध्यता छ । अस्पताल विकास समितिका अध्यक्ष खडकाले अहिले टीकापुर अस्पताल प्रदेश सरकारअन्तर्गत रहने र बजेट स्थानीय तहबाट व्यवस्थापन हुने व्यवस्था गरिएकाले सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी रहेको बताए । उनले भने, ‘स्थानीयले समेत अस्पतालको सेवाको स्तर वृद्धिका लागि उत्तिकै चासो दिन जरुरी छ ।’

प्रकाशित : श्रावण १, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?