कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

‘कांग्रेस सरकारमा भएका बेलासमेत डा. केसी बारम्बार अनशन बसेका हुन्, अहिलेको सरकारले भने सत्याग्रहीमाथि अमानवीय व्यवहार गर्‍यो’

धनगढी — सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई छापामार शैलीमा काठमाडौं पुर्‍याएर अमानवीय व्यवहार गरेको भन्दै कांग्रेसले शुक्रबार प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

शुक्रबार दिउँसो बोलाइएको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रदेशसभा सदस्यहरूले उभिएर उक्त घटनाप्रति मौन विरोध जनाएका थिए । सभामुख अर्जुनबहादुर थापाले कार्यव्यवस्था परामर्श समितिमा कुनै जानकारी नै नदिई विरोध गरेको भन्दै आफ्नो स्थानमा बस्न आग्रह गरे पनि नमानेपछि बैठक साउन ७ गतेसम्मका लागि स्थगित गरेका छन् ।

डा. केसीलाई सरकारले छापामार शैलीमा जुम्लाबाट उठाएर काठमाडौं पुर्‍याएको र उक्त घटना मानव अधिकारको मान्यताविपरीत भएकाले प्रदेशसभा बैठकमा अवरोध गर्नुपरेको कांग्रेस प्रदेशसभा सदस्य भरतबहादुर खड्काले बताए । ‘कांग्रेस सरकारमा भएका बेलासमेत डा. केसी बारम्बार अनशन बसेका हुन्, तर अहिलेको सरकारले सत्याग्रहीमाथि अमानवीय व्यवहार गरेकाले विरोधमा उत्रियौं,’ उनले भने, ‘कांग्रेसको केन्द्रीय सर्कुलरअनुसार बैठक अवरुद्ध गरिएको हो ।’

पार्टीको आन्तरिक मामिला भएकाले कार्यव्यवस्था परामर्श समितिमा जानकारी दिइरहन नपर्ने खड्काले जिकिर गरे । उनले डा. केसीका माग सम्बोधन नहुँदासम्म कांग्रेसले प्रदेशसभा बैठक अवरोध गरिरहने बताए ।

सत्तारुढ दलका प्रदेशसभा सदस्यहरूले भने कार्यव्यवस्था परामर्श समितिमा कुनै सुइँको समेत नदिई बैठक अवरोध गर्नु बेइमानी भएको दाबी गरे । नेकपाका प्रदेशसभा सदस्य महेशदत्त जोशीले भने, ‘प्रदेशसभा सञ्चालनको कानुन उहाँहरू समेतको सहभागितामा बनेको हो ।’ प्रदेशसभा बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दलका नेता, सत्तारुढ दलका सचेतक र सभामुखका बीचमा कार्यव्यवस्था परामर्श समितिमा छलफल हुने परम्परा छ ।

प्रकाशित : श्रावण ५, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?