कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा सामाजिक अपराध बढ्यो

गत आर्थिक वर्षमा हत्या, आत्महत्या लगायत अपराधिक घटनामा २ सय ५७ जनाको मृत्यु
भवानी भट्ट

कञ्चनपुर — कृष्णपुर नगरपालिका ८ शान्तिपुरकी १७ वर्षिया कविता विष्ट आइतबार मृत अवस्थामा फेला परिन । सातादेखि बेपत्ता उनी लालझाडी संरक्षित वनभित्रको अमखैया खोलामा मृत भेटिएकी थिइन् ।

कञ्चनपुरमा सामाजिक अपराध बढ्यो

उनको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । सोहि ठाउँका दुईजना युवकलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


असार दोस्रो साता भीमदत्त नगरपालिका ८ तिलाचौरमा सशस्त्र प्रहरीका हवल्दारले खेत खनिरहेकी आफ्नै श्रीमतीको हत्या गरे । उनले खेत खन्ने फरुवाले टाउकोमा हानेर हत्या गरेका थिए । घटना लगत्तै हवलदार केशव कार्कीलाई प्रहरीले नियन्त्रणमा लियो ।


वैशाख पहिलो साता कृष्णपुर नगरपालिका २ बंकमा एक पुरुषले आफ्नै १४ वर्षिया छोरीको बलात्कार गरे । घरमा कोहि नभएको अवस्थामा दिउँसो आफ्नै कोठामा सुतिरहेकी छोरीमाथि बलात्कार गरेका थिए । बलिका आफैं प्रहरी कार्यालय पुगेर जाहेरी दिएपछि उक्त कुरा प्रकाशमा आएको थियो ।


चैत अन्तिम साता भीमदत्त नगरपालिका १० जिमुवामा एक युवकले दुई बालिकालाई पैसा दिएर नजिकैको जंगलमा लगेर बलात्कार गरे । १०/११ वर्षे ती बालिकालाई छिमेककै युवकले ५० रुपैयाँ दिएर घर नजिकै बलात्कार गरेका थिए ।


यी घटनाको अध्ययनले समाजमा अपराधीक गतिविधि बढेको देखाउँछ । जबर्जस्ती करणी र हत्या लगायतका जघन्य अपराध घटनाले समाजमा त्रास बढेको छ । केहि वर्षयताको तथ्यांक केलाउँदा अधिकारकर्मी र नागरिक समाजका अगुवा नै झस्किएका छन् ।


४ वर्षिया बालिकादेखि १४/१५ वर्षमुनिका किशोरी बलात्कारका शिकार भएका छन् । कतिपय त आफ्नै बुवा र नजिककै आफन्तबाट समेत लुटिएका छन् । श्रीमानबाट श्रीमतिकै र साथीभाईकै हत्या लगायत घटना बढेका छन् ।


‘समाजमा नैतिक शिक्षाको अभाव खटकिँदै गएको छ,’ अधिवक्ता तथा मानव अधिकारकर्मी पुनम चन्दले भनिन्, ‘प्रायजसो अपराधमा किशोरनै संलग्न छन्, पीडित हुनेमा नाबालक छन्, यसलै सहजै अनुमान गर्न सकिन्छ, अभिभावकले पनि आफ्ना छोराछोरीलाई सहि दिशातर्फ लैजान सकेका छैनन् ।’ उनले अभिभावकले पनि आफ्ना बालबालिकाको रेखदेखमा ध्यान दिन जरुरी भएको बताइन् ।


जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २० वटा हत्या घटना भए । अघिल्ला दुई वर्षमा हत्याका १७/१७ घटना भए । जबर्जस्ती करणीका १७ र जबर्जस्ती करणी उद्योगका १५ घटना सार्वजनिक भए । अघिल्ला दुई वर्ष जबर्जस्ती करणीका क्रमश: १७ र २१ घटना प्रहरीमा दर्ता भएका छन् । गत आर्थिक वर्षमा भएका वलात्कारका घटनामा अधिकांस १५ वर्षमुनिका वालिका पीडित छन् । उनीहरु कोहि प्रलोभनमा त कोहि आफन्तबाटै वलात्कृत भएका छन् ।


‘दुई/तिन वर्षयता कर्तव्य ज्यान र जबर्जस्ती करणीका मुद्दा बढेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले भने, ‘जनसंख्या बृद्धि र समाजको विकाससंगै अपराध पनि बढै गएको छ ।’ उनले हालका वर्षमा प्रविधिको प्रयोगबाट समेत अपराधिक गतिविधिहरु बढेको जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा हत्या र अत्महत्या लगायतका क्रियाकलापबाट २ सय ५७ जनाको मृत्यु भएको छ । यसरी हेर्दा हरेक महिना २१ जनाले अनाहकमा ज्यान गुमाउनुपरेको देखिन्छ । कञ्चनपुर आत्महत्या अत्यधिक हुने जिल्लामध्ये पर्छ । हरेक अढाई दिनमा १ जनाले अत्महत्याबाट ज्यान गुमाउने गरेको प्रहरीको तथ्यांक छ । अझ सवारी दुर्घटनालाई पनि जोड्ने हो भने यो तथ्यांक बढछ । गत आर्थिक वर्षमा विभिन्न सवारी दुर्घटनामा परि २६ जनाको मृत्यु भएको छ ।


‘हालका वर्षमा दिनप्रतिदिन बढै गएको अपराधिक क्रियाकलापले सबैलाई झस्काएको छ,’ नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मीले भने, ‘सबै निकायबाट अपराधिक गतिविधि न्यूनिकरणका लागि सकारात्मक पहल अनिवार्य देखिन्छ ।’ उनले लागु औषध तथा दुव्र्यसनी लगायतका कुलतमा फसेका किशोर किशोरीहरु समेत अपराधमा संलग्न भएकाले यस तर्फ पनि ध्यान दिनुपर्ने बताए ।


उसो त प्रहरीले बेला बेलामा अपराध न्यूनिकरणका लागि विभिन्न किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ । ‘वस्ती भेटघाट’ र ‘प्रहरी मेरो साथी’ लगायतका कार्यक्रमहरु सुरु हुदा खुब चर्चा भएपनि तिनको प्रभावकारीता देखिदैन ।


अहिले आएर प्रहरी घर दैलो अभियानमा जुटेको छ । प्रहरीलाई समाजसँग घुलमिल गराएर सूचना आदान प्रदान गर्न सहज होस भनेर घरदैलो सञ्चालन भईरहेको हो । हरेक वडाका टोल टोलमा यतिबेला प्रहरीले घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ, तर पनि कञ्चनपुरमा अपराधको ग्राफ घट्न सकेको छैन ।

प्रकाशित : श्रावण ५, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?