कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ठेक्काले माछा मार्ने पेसा लोप हुँदै

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरीका ५५ वर्षीय मुन्ना सुनाहा माछा मारेरै परिवारको गुजारा चलाउँथे । उनी बिहानदेखि सांँझसम्म महाकालीको बगरमै भेटिन्थे । दिनमा ४/५ देखि ८/१० किलोसम्म माछा मारेर त्यसैबाट घरको नुनतेल, पिठो, चामल र तरकारीको जोहो गर्दै आएका थिए । तर अहिले विगत जस्तै माछा मार्न पाउँदैनन् ।

ठेक्काले माछा मार्ने पेसा लोप हुँदै

तत्कालीन जिल्ला विकास समितिले माछा मार्ने ठेक्का दिन थालेपछि उनले विगतझैं माछा मार्न नपाउने भएका हुन् ।

‘अब महाकालीमा पहिले जस्तो माछा पनि छैन र ठेकेदारले मार्न पनि दिंदैन,’ मुन्ना भन्छन्, ‘माछा मारेरै गुजारा चलाउन नसकिने भयो ।’ उनले केही वर्षदेखि गाउँमै अँधियामा जग्गा लिएर खेतीपाती गर्न थालेका छन् । आफू र छोराहरू मजदुरी पनि गर्छन् । यसरी नै परिवारको गुजारा चलाएका छन् ।

उसो त उनी ठेकेदारलाई वर्षमा अढाई हजार तिरेर माछा मार्न पाउँछन् । तर महाकालीमा पहिले जस्तो माछा नहँुदा दिनभरिमा २/३ किलो मात्र मार्न सकिने उनी बताउँछन् । माछा पाइने ठाउँमा ठेकेदारले जान नदिने भएकाले पनि अहिले सुनाहा समुदायले विगतजस्तो माछा मार्न नसकेका हुन् । कुनै दिन २/३ किलोभन्दा बढी माछा मार्न सके पनि ठेकेदारले लैजाने गरेको छोटु सुनाहाले बताए ।

ऐरीकै ४८ वर्षीय मोहन सुनाहा पनि सानैदेखि महाकालीमा माछा मार्न थालेका हुन् । उनलाई अहिले पनि महाकालीमा डुंगामा गएर माछा मारेको सम्झना ताजै छ । तर अहिले डुंगा चलाउन पाइँदैन । ‘ठेक्का प्रथा सुरु भएपछि हामीलाई माछा मार्न मात्रै बन्देज लगाएर हाम्रा साधनस्रोत प्रयोगमा पनि रोक लाग्यो’, उनले भने, ‘हाम्रो पुख्र्याैली पेसा नै संकटमा परेको छ ।’

उनले १० वर्षअघिसम्म महाकालीकै माछा मारेर ८ जनाको परिवार पालेका थिए । दैनिक १५/२० किलोसम्म माछा मार्थे । त्यही बेचेर पिठो, चामल र तरकारी जुटाउँथे । प्रतिकिलो १ सयमा माछा बेचिन्थ्यो । उनी अहिले पनि माछा मार्छन् । तर दिनमा २/३ किलो मात्र मार्न सकिन्छ । ‘अहिले महाकालीमा माछा पनि निकै कम भइसक्यो’ उनले भने, ‘२/३ किलो त घरमै खान ठिक्क हुन्छ ।’ मोहनको परिवार पनि अहिले गाउँमै डेढ बिघा जमिनमा अँधिया खेती गरिरहेको छ । छोराहरू रोजगारीका लागि भारततिर पसेका छन् । यसले घरखर्च चलाउन अलि सहज भएको छ । उसो त मोहन पनि महाकालीमा ठेकेदारलाई २५ सय तिरेर माछा मार्छन् ।

उक्त रकम तिरेबापत उनले बढीमा ५ किलो मात्र मार्न पाउँछन् । ठेकेदारले ठूलो परिवार भएकालाई ५ किलो र सानो परिवार भएकालाई २ किलो मात्र मार्न दिन्छ ।

भीमदत्त नगरपालिका १२ ओदालीमा ६०/६५ सुनाहा परिवार बस्छन् । तीमध्ये ठेकेदारलाई पैसा तिरेर २०/२५ परिवार मात्रै माछा मार्छन् ।

प्राकृतिक स्रोत साधनमा स्थानीयको अग्राधिकार हुने कुरा सुनेका सुनाहा समुदायका अगुवाहरू समेत यस विषयमा बोल्न सक्दैनन् । माछा मार्ने ठेक्का दिन सुरु भएपछि सुनाहा समुदायको वर्षाैंदेखिको पेसा संकटमा परेको छ । यसतर्फ कुनै पनि निकायले खासै चासो दिएको देखिँदैन । अहिले अधिकांश सुनाहा परिवार गाउँमै अर्काको जग्गामा अँधिया खेती गरी बसेका छन् ।

यससँगै खेतीपातीको काममा मजदुरी गर्छन् । हिउँदमा महाकालीको बगरमा गिट्टी, बालुवा चाल्ने दैनिक ज्यालादारीमा काम गर्छन् । हिउँदमा परिवार पूरै महाकालीको बगरमा भेटिन्छ । बाढी आएका बेला दाउरा संकलन गरेरसमेत गुजारा चलाइरहेको उनीहरू बताउँछन् ।

प्रकाशित : श्रावण ६, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?