मुक्त कमैया अँध्यारोमा

टीकापुर — टीकापुर नगरपालिका–१ स्थित मुक्त कमैया र सुकुम्बासी अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् प्राधिकरणले मुक्त कमैया र सुकुम्बासी बस्तीमा विद्युत् वितरण नगरेपछि उनीहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

मुक्त कमैया अँध्यारोमा

जग्गाको लालपुर्जा नहुँदा यो बस्तीका मुक्त कमैया र सुकुम्बासी बिजुली र खानेपानी सुविधाबाट वर्षौंदेखि वञ्चित छन् । बस्तीमा बिजुली नहुँदा अँध्यारोमै बस्नुपरेको मुक्त कमैया रामफल चौधरीले बताए । उनले भने, ‘साँझ कि उज्यालोमै खाना खानुपर्छ कि त दाउरा बालेर उज्यालो बनाउनुपर्छ ।’ रामफलका अनुसार गणतन्त्रपछि भएका सबै चुनावमा नेताहरूले जग्गाको लालपुर्जा दिने आश्वासन दिए तर अझसम्म कसैले व्यवस्था गरेनन् । ‘स्थानीय तथा संघीय निर्वाचनका बेला पनि सबै पार्टीले प्रतिबद्धता जनाए । तर, अहिलेसम्म जग्गाधनी पुर्जा दिने कुनै सुरसार छैन,’ उनले भने ।

स्थानीय तथा संघीय सरकारले मुक्त कमैया सुकुम्बासीको समस्यामा चासो नदेखाएपछि उनीहरू आन्दोलनमा छन् । उनीहरूले टीकापुर नगरपालिका गेटमा तालाबन्दी र कोणसभा तथा र्‍यालीलगायतका विरोध कार्यक्रम गरेका छन् । उनीहरूको समस्या समाधानका लागि बल्ल टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा विभिन्न राजनीतिक दल र मुक्त कमैया तथा सुकुम्बासी प्रतिनिधिसहितको समस्या समाधान कार्यदल बनाइएको छ ।

कार्यदलले २१ दिनभित्र राय सुझावसहित प्रतिवेदन दिने र सोही प्रतिवेदनअनुसार मुक्त कमैया र सुकुम्बासीको विद्युत्को समस्यादेखि पुन:स्थापनाको समस्या समाधानतिर अघि बढ्ने जनाइएको छ ।

प्रकाशित : श्रावण ७, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?