कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सीमा आउजाउ तथ्यांक छैन

धनगढी/कञ्चनपुर — धनगढीको मोहना नदीपारिको भारतीय बजार गौरीफन्टा केही वर्षअघिसम्म निकै गुल्जार हुन्थ्यो । सुदूरपश्चिम क्षेत्रका बासिन्दाको घरायसी प्रयोजनका सामान किनमेल गर्ने गौरीफन्टा प्रमुख बजार थियो ।

सीमा आउजाउ तथ्यांक छैन

दुदुवा नेसनल पार्कका कारण हाल बजार विस्थापित भइसकेको भए पनि नेपाल र भारत सीमावर्ती क्षेत्रका नागरिक आउ– जाउ गर्न धनगढीको त्रिनगर र गौरीफन्टा नाकाको चहलपहल भने घटेको छैन ।

बिहानै जब गौरीफन्टा स्टेसनमा भारतका विभिन्न सहरबाट बसहरू पुग्न थाल्छन्, सुनसान गौरीफन्टामा पनि चहलपहल बढ्न थाल्छ । यता धनगढी हुँदै भारतका विभिन्न सहर पस्ने नेपाली पनि बस छोप्न हतारिंदै सीमापारि पुग्छन् । किनमेल, औषधि उपचार, घुमफिर र तीर्थयात्रामा निस्कनेदेखि कामको खोजीमा भारत पस्नेहरूका लागि कञ्चनपुरको सीमावर्ती पहिलो बजार बनवासाजस्तै गौरीफन्टा सुदूर र मध्यपश्चिम नेपालका बासिन्दाको पायक पर्ने नाकाका रूपमा छ ।

‘सीमामा आउ जाउ गर्न खासै समस्या छैन,’ धनगढीको एलएन चोकमा किरानाको व्यापार गरिरहेका भारतीय मूलका व्यवसायी राजु गुप्ता भन्छन्, ‘गौरीफन्टा बजार विस्थापित भइसकेको भए पनि भारतका जुनसुकै सहर पस्न गौरीफन्टा पुग्नैपर्ने हुँदा यहाँको नाकामा पहिलेजस्तै रौनक छ ।’

कञ्चनपुरको सिमानाका बनवासा पनि दुवै देशका नागरिक नेपाल भारतीय क्षेत्रमा आउजाउ गर्ने प्रमुख नाकाका रूपमा छ । गौरीफन्टा नाका धनगढी बजारबाट ३ किमिमा छ । बनवासा अलि टाढा १३ किमि टाढा छ । यी दुवै नाका भएर ओहोरदोहोर गर्नेहरू सबैभन्दा ठूलो चेकजाँचमा सास्ती हुने बताउँछन् ।

कञ्चनपुरको बनवासा भएर आउजाउ गर्न पुलकै कारण पनि समस्या छ । पुल बन्द भएको अवस्थामा सार्वजनिक चारपांग्रै सवारीसाधन चलाउन पाइँदैन । चेक जाँच पनि थरीथरीका सुरक्षाकर्मीबाट हुने गरेको छ । उत्तराखण्ड पुलिसदेखि पुलको सुरक्षार्थ खटिएको केन्द्रीय औद्योगिक पुलिस, कस्टम र एसएसबीले झिटीगुन्टा खोल्न लगाएर हैरान पार्ने गरेको यात्रुहरू बताउँछन् ।

नेपाली सीमास्थित माइती नेपाल लगायतका केहि संघसंस्थाले भारततर्फ जानेहरूको सामान्य निगरानी गर्ने, शंका लागेका महिलालाई बोलाएर सोधपुछ गर्छन् । भारत जान कुनै समस्या देखिंदैन । सीमामा तैनाथ सुरक्षाकर्मीसँग एक दिनमा कति नेपाली भारत गए कति भारतीय नेपाल आए भन्ने कुनै रेकर्ड राखिने गरेको छैन । ‘दैनिक ३०/४० गाडी मा भारतीयहरू किनमेल र घुमफिरका लागि धनगढी आउने गरेका छन्,’ धनगढीको त्रिनगर भन्सार नाकास्थित प्रहरी चौकीका असइ राजेन्द्रसिंह पुजाराले भने । त्यस्तै यहाँका स्थानीयदेखि पहाडी जिल्लाबाट समेत नेपालीहरू ठूलो संख्यामा दिनहँु रोजगारीदेखि किनमेल र घुमफिर तथा उपचारका लागि भारत जाने गरेका छन् ।’ धनगढीका व्यवसायी राजु गुप्ताका अनुसार भारतबाट हरेक दिन नेपाल भित्रिनेहरूमा दैनिक रोजगारीमा काम गर्ने मजदुर बढेका छन् ।

कैलाली र कञ्चनपुरका विभिन्न सीमानाकाबाट दुवै देशका नागरिकहरू बिनारोकटोक आउजाउ गरिरहेका हुन्छन् । कञ्चनपुरको मुख्य नाका गड्डा चौकीसँगै ब्रह्मदेव, दोधारा, बेलौरी र पुनर्बासबाट दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाको निर्बाध आवतजावत हुने गरेको छ ।

कैलालीको धनगढीको त्रिनगर नाका, टीकापुरको खक्रौला र लालबोझी नाका भएर वर्षौंदेखि दुवै देशका नागरिकहरू सीमा क्षेत्रका बजारमा आउजाउ गर्दै आएका छन् । नेपाल र भारततर्फ दिनहुँ आउ–जाउ गर्नेहरूको संख्या तथा कुन प्रयोजनका लागि जान लागेका हुन् भन्नेबारे दुवै देशका सम्बन्धित निकायले कुनै रेकर्ड राख्ने गरेको छैन । भारतबाट नेपाल भित्रिँदा नेपाली भन्सार र प्रहरीले सवारी साधनको रेकर्ड राख्ने गरेको छ । सीमामा तैनाथ भारतीय सुरक्षा बल एसएसबीले पनि सवारी साधनको रेकर्ड राख्ने गरेको छ ।

नेपाली सवारी साधन लिएर सीमापारिको पहिलो स्टेसनसम्म मात्र जान पाउँछन् । टाढा जानुपरे भारतीय दूतावासको परमिट आवश्यक हुन्छ । तर, भारतीय सवारी साधन भने सीमाक्षेत्रको पहिलो सहरभन्दा टाढा जानुपरे भन्सार नाकामै प्रतिदिनका हिसाबले रकम तिरेर नेपाल भित्रिने र यातायात कार्यालयबाट स्वीकृति लिएर नेपालभित्र जहाँसुकै जान पाउने व्यवस्था छ ।

प्रकाशित : श्रावण ७, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?