पुल नहुँदाको पीडा : सदरमुकाम जान समस्या

वसन्तप्रताप सिंह

बझाङ — बाहुलीगाढको बाढीले बगाएको झोलुंगे पुल अझै निर्माण नहुँदा स्थानीयलाई सदरमुकाम आउजाउमा सकस भएको छ । जिल्लाका दक्षिण–पश्चिमी भेगका अधिकांश गाउँपालिकालाई सदरमुकामसँग जोड्ने उक्त पुल दुई वर्षअघिको बाढीले बगाएको थियो ।

पुल नहुँदाको पीडा : सदरमुकाम जान समस्या

सोही ठाउँमा हालिएको काठेसाँघु पनि असार अन्तिम साताको बाढीले बगाएपछि समस्या थपिएको छ ।

रिठापाटा र सुबेडाका बालबालिकालाई विद्यालय जान कठिनाइ भएको छ । पुल हुँदा १० मिनेटमै सदरमुकाम पुग्ने बालबालिका अहिले आधा घण्टाको यात्रा गर्नुपर्ने बाध्यतामा छन् ।


पुल बगाएपछि सुबेडा, सिमखेत, नौरा, देबल र रिठापाटालगायत क्षेत्रका बालबालिकालाई निकै मुस्किल भएको देबलका स्थानीय प्रवीन्द्र धामीले बताए । जिल्लाका विभिन्न गाउँपालिकाबाट सदरमुकाम आउने यात्रु झन्डै ३ किलोमिटरमाथिबाट घुमेर आउनुपर्ने बाध्यतामा छन् । ‘खोलामा पुल हँुदा चैनपुर पुग्न सजिलो थियो । केटाकेटी आफैं हिंडेर स्कुल जान्थे,’ सुबेडाकी रूपा जोशीले भनिन्, ‘अहिले घरका सबै काम छाडेर बच्चालाई स्कुल छोड्न र लिन जानुपर्छ । दिनको ४ घण्टा बच्चाकै लागि खर्च गर्नुपर्दा घरको काम चौपट भएको छ ।’


पहिला २० मिनेट जतिमा सदरमुकाम पुगिने उनको गाउँबाट अहिले झन्डै एक घण्टा हिंड्नुपर्छ । विद्यालयमा समयमै नपुग्दा पढाइ नै छुट्ने गरेको छ । गाडी गुड्ने सडक भएकाले नानीहरूलाई एक्लै विद्यालय पठाउन नसकिएको अभिभावक कमला बुढाले बताइन् । उनले भनिन्, ‘सडकमा गाडी ओहोर दोहोर गरिरहन्छन् । पहिले पो गाडी नगुड्ने भएर ढुक्क भएर पठाउँथ्यौं । अहिले त्यस्तो अवस्था छैन । काम छाडेरै भए पनि नानीहरूलाई स्कुलसम्म पुर्‍याउनुपर्छ ।’


झोलुंगे पुल हुँदा विद्यालय समयभन्दा १५/२० मिनेट अगाडि नै विद्यालय पुग्ने नानीहरू अहिले प्राय जसो ढिलो गरी आउने गरेको शिक्षकले बताए । सुबेडा, नौरा, देबल र सिमखेतबाट आउने विद्यार्थी समयमा कहिल्यै नपुग्ने गरेको जयपृथ्वी विद्यासदनकी शिक्षिका पूजा हमालले बताइन् । लामो बाटो हिंडेर आएका विद्यार्थी थकाइले कक्षाकोठामै निदाउने गरेको उनको भनाइ छ ।


पुल बगाउँदा उपचारका लागि जिल्ला अस्पताल जाने बिरामीलाई पनि सकस छ । ‘पहिले छोटो बाटो भएकाले आफैं हिंडेर जाने बिरामीलाई अहिले बोकेर लैजानुपर्छ । नभए महँगो भाडा तिरेर जिप रिजर्भ गर्नुपर्छ,’ बिरामीका आफन्त मंगल खडकाले भने । साँघु बगाएपछि जिप चालकले पनि मनोमानी भाडा लिने गरेका छन् । चैनपुरदेखि जिल्ला अस्पतालसम्मको तीन किलोमिटरमा ५ सय रुपैयाँसम्म भाडा असुल्ने गरिएको गुनासो उनको छ ।


जिल्ला प्राविधिक कार्यालयका प्रमुख नृपराज जोशीले झोलुंगे पुल निर्माणका लागि गत आर्थिक वर्षको असार मसान्तमै ठेक्का भइसकेको जानकारी दिए । ठेकेदार कम्पनी जागृति निर्माण सेवाले झोलुंगे पुल निर्माणका लागि आवश्यक सबै सामान ल्याइसकेकाले यसै वर्षभित्र पुल सम्पन्न हुने उनले बताए ।

प्रकाशित : श्रावण ८, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?