२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

त्रासमै बित्छ रात

मनोज बडू

दार्चुला — शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वर बजारको नदीकिनार बस्दै आएका जैमती बादी राति ब्युझिँदै पटक–पटक नदी हेरेर सुत्ने गर्छिन् । जब वर्षा सुरु हुन्छ, चौलानी (चमेलिया) नदी किनारका स्थानीयमा बाढीको त्रास बढ्दै जान्छ ।

त्रासमै बित्छ रात

‘नदी छेउमै घर छ, पानी कहिलेकाहीँ आँगनको डिलसम्म पुग्छ,’ जैमती भन्छिन्, ‘बाढीले घर बगाउँछ कि भन्ने चिन्ताले बुढाबुढी पालैपालो नदी हेर्दै सुत्छौं ।’ यो समस्या वर्षाैंदेखि भोग्दै आएको उनको भनाइ छ । चौलानी नदी किनारमा जैमतीझैं करिब २२ बादी परिवार बाढीको उच्च जोखिममा छ । उनीहरू चौलानी नदीमा पानीको सतह बढ्ने बेला बाढी आउने चिन्ताले रातभर जाग्राम बस्छन् ।

पुराना संरचना मात्र होइन, नयाँ पनि नदी छेउमै बन्न थालेका छन् । चौलानी किनारमा वर्षौंदेखि बादी समुदाय बस्दै आएका छन् । २०५० मा महाकाली राजमार्गले दार्चुला जोडिएसँगै बगरमै घर बन्ने क्रम बढेको स्थानीय हेमन्त विष्टको भनाइ छ । ‘यहाँ सडक पुगेपछि गोकुलेश्वर बजारमा जिल्ला बाहिरका मानिसको आउने क्रम बाक्लियो,’ उनले भने, ‘बजार विस्तार र बाहिरी मानिसको आगमनले मजदुरी पाइने हँुदा उनीहरू यहीं बस्न थाले ।’ जनसंख्या वृद्धि हुँदै जानु र बाहिरी ठाउँमा जमिन नहुँदा यहीं जोखिम मोलेर बसिरहेको उनको भनाइ छ ।

यो सँगै बैतडीको डिलासैनी ५, हरिनगर क्षेत्रको बादी बस्ती पनि बाढीको उच्च जोखिममा छ । नदी किनारमै घर बनाउँदा जोखिम बढ्न थालेसँगै सर्वसाधारण त्रसित रहेको स्थानीय महेश बादी बताउँछन् । ‘अन्य ठाउँमा सर्ने विकल्प छैन । करिब ३६ जति बादी परिवारमध्ये दुई परिवारको नाममा मात्र जमिन छ,’ उनले भने, ‘कहींकतै सानो छाप्रो बनाउने आफ्नो नाममा जग्गा भइदिएको भए उतै सथ्र्यौं ।’

त्यस्तै अहिले चौलानी नदीले ढुंगा बगाएर ल्याउने हुँदा पहिरो खसेजस्तै आवाज आउँदा रातिमा डर लाग्ने रामे बोहराले बताए । ‘दार्चुलापट्टिको चट्टानले नदीको बहाव यता फर्काए जोखिम धेरै छ,’ उनले भने, ‘सामान्य अवस्थामा धेरै डर छैन । तर, पछिल्लो समयमा चमेलिया बाँधका कारण जोखिम बढेको छ ।’ चौलानी तटीय क्षेत्रका दार्चुला र बैतडीका दर्जनौं बस्ती जोखिममा छन् ।

हिउँदमा साढे २ मिटर बहाव रहने चमेलिया बर्खामा ६ मिटरसम्म गहिरो बन्ने वर्षा मापन केन्द्रको तथ्यांकमा छ । चौलानी नदीको वारिपारि तटबन्ध नहँुदा बाढी बस्तीमा पस्ने जोखिम उत्तिकै छ । चमेलियाकिनारका दार्चुलाका लटिनाथ, शेरी, परपडा, लामबगड, चिउरानी, नलबगड, बिटुले, बारिलवगड, बलाँच गोकुलेश्वर, जगतपुरी र बसकोटलगायतका बस्ती नदी छेवैमा भएका कारण बाढीको उच्च जोखिम छ ।

त्यस्तै बैतडीका नागलाबगड, श्रीसानी, पौसेरा, डडिया, देउझाडी, शेरा, चौसेरालगायतका नदी तटीय क्षेत्रका बस्तीहरू पनि जोखिममा छन् । यीमध्ये दार्चुला र बैतडीका करिब दर्जन बस्ती उच्च जोखिममा रहेको हुनाले यहाँका बासिन्दा बर्खाको रातमा सधैं डराएर बस्नुपर्ने अवस्था रहेको बलाँचका धनबहादुर खडायतको भनाइ छ । बाढीले यहाँको करिब २ सय रोपनी खेत बगर बनेको छ । स–साना खहरे खोलामा आउने बाढीले समेत खानेपानीका मुहान, पाइप तथा धारासमेत बगाउँदा खानेपानीको समस्या उस्तै छ ।

कटानको जोखिममा गोकुलेश्वर
वर्षा सुरु हुनासाथ गोकुलेश्वरका बासिन्दालाई चमेलियाको कटानले त्रसित बनाएको छ । चमेलियाका साथै बैतडीस्थित डिलासैनी गाउँपालिका ५ मा बग्ने नङराउ र शेरा खोलाले गोकुलेश्वर बजार उच्च जोखिममा छ । गोकुलेश्वर बजार क्षेत्रका अस्पताल, विमानस्थल, क्याम्पसलगायत सरकारी र निजी संरचना बाढीको जोखिममा छन् ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?