२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

डल्फिनप्रति चासो बढ्यो

गणेश चौधरी

टीकापुर — टीकापुर नगरपालिका–७ मा रहेको काँडा, पथरैया र मोहना नदी दोभानमा नजिकैबाट डल्फिन हेर्न सकिन्छ । यहाँ डल्फिन देखिन्छ भन्दा सुरुमा सरकारी अधिकारीले विश्वासै गरेनन् । डल्फिन महोत्सवलगायत थुप्रै कार्यक्रम सञ्चालन गरी स्थानीयस्तरमै यसको संरक्षण र प्रचारप्रसार सुरु भयो ।

डल्फिनप्रति चासो बढ्यो

अहिले यहाँ आन्तरिक तथा बाहय पर्यटक डल्फिन अवलोकनका लागि आउन थालेका छन् । ‘डल्फिनप्रति सबैको चासो बढदै गएको छ,’ स्थानीय नरेन्द्रराज रेग्मीले भने, ‘डल्फिन संरक्षण तथा पर्यटन प्रवद्र्धनमा सरकारी तथा गैरसरकारी चासो अहिले बढेको छ ।’

रैथाने होइन
डल्फिन देखिने मुख्य केन्द्र टीकापुरको ढुंगाना टोलबाट करिब २५ किमि दूरीमा भारतको घाँघरा नदी छ । यहींबाट नेपालका नदीमा बर्खामा पानीसँगै डल्फिन बसाइँ सरी आउने स्थानीयको अनुमान छ । बर्खामा नदीमा पानीको सतह बढने हँुदा असारदेखि कात्तिकसम्म डल्फिनको अस्थायी बास यिनै नदीमा रहन्छ । पानी घटेपछि डल्फिन पुन: घाँघरातिरै फर्कने नारायणपुर ९ का भोजराज ढुंगाना बताउँछन् ।

नेपालको कर्णाली, कोसी तथा तिनका सहायक नदी तथा भारतको गंगा, पाकिस्तानको सिन्ध, चीनको यांगसी, ब्राजिलको अमेजन नदीमा डल्फिन पाइन्छ । नेपालका नदीहरूमा करिब ३० देखि ४० डल्फिन मात्र रहेको विज्ञहरूको भनाइ छ । कैलालीमा डल्फिन देखिने मुख्य क्षेत्रमा १ सय ३० वटा देखिएको संरक्षणकर्मी भोजराज श्रेष्ठको दाबी छ । ९ फिट लामो र १ सय ८० केजीसम्मका डल्फिन यो क्षेत्रमा विचरण गर्ने श्रेष्ठ बताउँछन् ।

बर्खाका बेला कर्णाली, मोहना, काँडा र कनरा नदीका संगममा वर्षौंदेखि डल्फिनको समूह देखिँदै आएका छन् । उहिले स्थानीयले शिक्षा र जनचेतनाको कमीका कारण डल्फिनलाई विकासे माछा भन्दै मार्ने गरे पनि पछिल्लो समयमा यसको संरक्षणमा जुटेका छन् । करिब १० वर्षयता डल्फिनको सिकारमा नियन्त्रण भएको छ । अहिले नदीकिनारका यी गाउँ डल्फिन गाउँकै रूपमा परिचय बनाउँदै छन् ।

संरक्षित क्षेत्र बाहिर डल्फिन
करिब ३० वर्ष पहिले यो स्तनधारी जन्तु नेपालका कोसी, गण्डकी र महाकालीमा देखिएका हुन् । अहिले कर्णालीको चिसापानीदेखि कोठियाघाटसम्म र बर्खामा कैलालीको मोहना, कान्द्रा, पथरैया र काँडा नदीमा पनि देख्न पाइन्छ । ‘अति दुर्लभ मानिए पनि यसलाई संरक्षित क्षेत्रभित्र राखिएको छैन,’ डा. मुकेश चालिसे भन्छन्, ‘नेपालमा विभिन्न जीवजन्तु संरक्षणका लागि २७ संरक्षित क्षेत्र छन् । तर डल्फिन अहिलेसम्म संरक्षित क्षेत्र बाहिर छ ।’

चालिसेका अनुसार कोसी, गण्डकी, कर्णाली र महाकालीमा भएका भौतिक संरचनाको उपस्थितिले डल्फिन लोप हुँदै गएको हो । मोहना, कान्द्रा, पथरैया र काँडा नदीमा डल्फिन देखिनु गौरवको विषय हो । उनले भने, ‘मोहना ‘यी नदीमा पनि तारजालीको तटबन्ध निर्माण भइरहेको छ । तारले डल्फिनलाई घोच्न सक्छ । डल्फिनका लागि सुरक्षित तटबन्ध आवश्यक हुन्छ ।’ बर्खामा मात्र देखिने डल्फिनलाई बाह्रैमहिना देख्न सकिने गरी राख्न सकिनेबारे सोच्न आवश्यक रहेको चालिसे बताउँछन् । ‘संरक्षणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले नीति तथा योजना बनाउन आवश्यक छ,’ उनले सुझाए ।

यस्तो छ सरकारी नीति
डल्फिन संरक्षणका लागि अहिलेसम्म सरकारले ठोस नीति बनाउन सकेको छैन । स्थानीय संरक्षणप्रेमीले आफ्नै प्रयासमा यसको सिकार नगर्न अभियान चलाउँदै आएका छन् । स्थानीयको प्रयासमा यसको संरक्षण र प्रचारप्रसार हुँदै गएपछि संरक्षणमा लागेको व्यक्ति, संस्था र सरकारको चासो पनि बढ्दै गएको हो । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट भन्छन्, ‘स्थानीय र संरक्षणकर्मीको सल्लाह सुझावै प्रदेश सरकारका लागि नीति योजना निर्माणको मार्गनिर्देश हो । डल्फिन संरक्षणले स्थानीयको आयआर्जन वृद्धि हुने कुरा महत्त्वपूर्ण छ ।’

प्राणीविद् डा. तेजकुमार श्रेष्ठका अनुसार डल्फिन संरक्षणका लागि स्थानीय र प्रदेश सरकारले नीति योजना बनाउन आवश्यक छ । ‘कैलालीको काँडा, पथरैया, मोहना र कान्द्रा नदीमा देखिने डल्फिन भारतबाट आउँछन्,’ उनले भने, ‘आहाराका लागि बर्खामा यिनीहरू यता आउने गरेका हुन् । जसरी हामी नयाँ ठाउँमा जाँदा अलपत्र पर्छौंं यिनीहरू पनि अलपत्र पर्छन् ।’

डल्फिन संरक्षणका लागि डा. तेजकुमारको सुझाव छ, ‘भारतबाट डल्फिन किन यहाँका नदीमा आउँछन् भनेर अध्ययन हुन जरुरी छ । त्यो अध्ययनका आधारमा उनीहरूलाई यहीं बाह्रैमहिना बस्न सक्ने वातावरण बनाउने खालका नीति योजना आवश्यक छ ।’

जलनिकुञ्ज आवश्यक
नदीका पानी सिँचाइका लागि भनेर डाइभर्ट गरिनु पनि डल्फिनका लागि खतरा बन्दै गएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजना पनि यसका लागि खतरा बन्न सक्ने डा. चालिसेको भनाइ छ । ‘पानी सिँचाइका लागि डाइभर्ट भएपछि डल्फिन ओहोर दोहोर कम हुन सक्छ । यसमा स्थानीय चनाखो हुन जरुरी छ,’ उनले भने, ‘विभिन्न जीवजन्तु संरक्षणका लागि संरक्षण क्षेत्र बनाए जस्तै डल्फिन संरक्षणका लागि जलनिकुञ्ज बनाउन सकिन्छ । अहिले यसको आवश्यकता महसुस गरिएको छैन, भविष्यमा होला ।’

प्रकाशित : श्रावण १२, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?