१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

छरपस्ट भग्नावशेष

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महल संरक्षण र पुनर्निर्माणको पर्खाइमा छ । ऐतिहासिक दरबारको भग्नावशेषका रूपमा रहेको उक्त महलको उत्खनन, अध्ययन, पुनर्निर्माण हुन सकेको छैन ।

छरपस्ट भग्नावशेष

उकु महलले जिल्लामा पर्यटनको ठूलो सम्भावना बोकेको छ । यस महलको भग्नावशेषमा अहिले पनि शिलालेखमा लेखिएका चट्टानहरू स्पष्ट देख्न सकिन्छ । चट्टानहरूमा शिलालेख लेखिएको र ढुंगाहरू कोरेर आकर्षक मूर्तिहरू बनाइएको छ । उकु दरबारको भग्नावशेषबाट त्यहाँ पाल राजा बस्ने गरेको इतिहास छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास रहेको स्थानीय समाजसेवी वासुदेव पन्तले बताए ।

पन्तका अनुसार दरबार क्षेत्रमा मध्यकालीन कत्युरी राजाहरूको राजधानी थियो । ‘यो ऐतिहासिक महत्त्वको स्थल हो,’ उनले भने, ‘यहाँ भेटिने कोटघर, देवस्थल, दरबारका किल्लाहरू र विभिन्न आकृतिका ढुंगाले दर्शाइरहेको देखिन्छ ।’ दार्चुला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजले पुष्टि गर्छ । उकुको ऐतिहासिक सम्बन्ध सीमावर्ती भारतको अस्कोटसँग जोडिएको छ । अस्कोटको इतिहासअनुसार सन् १२७९ मा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएको उनको भनाइ छ । अभयपालले वरपरका विभिन्न ८० कोटहरूको एकीकरण गरेर अस्कोट नामकरण गरेको हुनाले पाल राजाहरूलाई रजवार भन्ने गरिन्छ ।

१६ औं शताब्दीतिर नाग पाल राजाले मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेख जम्मा गरेको बुढापाकाहरूको भनाइ छ । उक्त क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, शिलालेखहरू हेर्दा मन्दिर बनाउन जम्मा गरिएको कारण मन्दिर बनाइनसकेको अवस्थामा त्यसमा क्षति भएको हुन सक्छ । कतुडी राजवंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरू अस्कोट, अजयमेरुकोट दिपायलकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको जानकारहरू बताउँछन् । पछि आएर १४ देखि १६ औं शताब्दीको अवधिमा उकु भग्नावशेष क्षेत्रमा दरबार र मन्दिर बनाउन खोजिएको इतिहास भेटिने गरेको किंवदन्ती पाइन्छ ।

पहिलेका मान्छेहरूले एकै रातमा महल खडा गर्न नसके त्यही रातमा भत्काउने सर्तअनुसार निर्माण सम्पन्न गर्न नसकेर भत्काएको हुनसक्ने भनाइ पनि एकथरी मानिसको छ । अस्कोटी नीराजन पाल राजाले बाहिरबाट आएर यहाँ महल बनाई बसेको तर शत्रुसँगको युद्धका क्रममा महल भत्किएको हो भन्ने तर्क पनि पाइन्छ । तर अहिलेसम्म महल कसले बनाएको हो भन्ने एकिन इतिहास नरहेको स्थानीय पन्तले जानकारी दिए ।

विगतदेखि पुनर्निर्माणका लागि यहाँका स्थानीयले विभिन्न निकायमा माग गरे पनि ठोस पहल हुन सकेको छैन । अध्ययनको नाममा पुरातत्त्व विभागको टोली महल क्षेत्रमा आए पनि शिलालेख पढ्न नसकेर फर्किएको स्थानीय नीराजन पालले बताए ।

मूर्तिहरू चोरी हुने, शिलालेखसमेत केरमेट हुने गरेका छन् । यो क्षेत्रमा शिलालेख लेखिएका ढुंगाहरू स्थानीयस्तरमा पाइनेभन्दा निकै फरक छन् । महल क्षेत्रको चारैतिर तारजाली लगाए पनि सुरक्षित भने छैन । यहाँका स्थानीयले महलको ढुंगा घरमा लैजान खोज्दा अशान्ति हुन थालेपछि महलमै पुर्‍याएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण १३, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?