१५ दिनदेखि अँध्यारो

वसन्तप्रताप सिंह

बझाङ — बझाङ सदरमुकाम चैनपुर, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिका आसपासका गाउँलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको सुर्मादेवी जलविद्युत् आयोजना १५ दिनदेखि बन्द छ । करिब ४ हजार उपभोक्ता रहेको आयोजनाको नहरमा सुर्मा गाउँपालिकाले डोजर चलाएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

बझाङको सुर्मादेवी विद्युत् आयोजना बन्द भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर फोटो खिचाउँदै सांसदहरू । तस्बिर : वसन्तप्रताप । कान्तिपुर

विद्युत्को नहर रहेको ठाउँमा सडक निर्माण गर्न गाउँपालिकाले डोजर चलाएपछि पहिरो खसेर नहर बगाउँदा विद्युत् उत्पादन बन्द भएको सुर्मादेवी विद्युत् प्रालिका सहायक प्रबन्धक नवराज जाग्रीले बताए ।

सोही सडकका कारण नहरमा क्षति पुग्दा असारमा पनि १६ दिन विद्युत् अवरुद्ध भएको थियो । यस्तै, जेठमा पनि १३ दिन विद्युत् अवरुद्ध भएको थियो ।विद्युत् बन्द भएपछि यहाँका व्यापार व्यवसायदेखि लिएर कार्यालय र घरायसी कामकाजसमेत प्रभावित भएका छन् । लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न पनि समस्या भएको छ । विद्युत् बन्द भएपछि यसको सबैभन्दा ठूलो मार कार्यालय, होटल, मासु पसल र दुग्ध व्यवसाय गर्नेलाई परेको छ । बिजुली नभएका कारण बिक्री नभएको मासुलाई भण्डारण गर्ने व्यवस्था नहुँदा अधिकांश मासु पसल बन्द भएका छन् ।

दूधजन्य पदार्थ पनि भण्डारण गर्न समस्या भएका कारण खेर फाल्नुपरेको एक जना डेरी सञ्चालक कल्पना रोकायाले बताइन् । बझाङ सदरमुकाम चैनपुरमा मात्र ३० भन्दा बढी मासु पसल र ५ वटा डेरी छन् । यस्तै विद्युत् नभएका कारण यहाँका कार्यालय, घर, पसल, प्रभावित भएका छन् । नगरपालिकाभित्र भएका ग्रिल उद्योग, कुटानी, पिसानी मिल, फर्निचर उद्योग, बेकरी उद्योगको काम पनि एक महिनादेखि ठप्प भएको छ । एक जना ग्रिल उद्योग सञ्चालक रमेश जोशीले भने, ‘एक सातादेखि बिजुली आएको छैन ।

उद्योग बन्द गरेर बसेका छौं ।’ ५ जनालाई रोजगारी दिइरहेको उनको उद्योग सञ्चालन हुन नसक्दा कर्मचारीलाई तलब दिन पनि समस्या भइरहेको उनले बताए । विद्युत् नभएका कारण कार्यालयका दैनिक कामकाज, बैंकिङ सेवा पनि प्रभावित भएका छन् । बिजुली अभावमा मोबाइलसमेत चार्ज गर्न नपाएपछि खबर आदानप्रदान गर्न पनि समस्या भइरहेको स्थानीयहरूले बताएका छन् ।

सडक निर्माण गर्ने क्रममा नहरमा क्षति पुग्ने सम्भावना भएकाले केही दिनका लागि विद्युत् बन्द गरिदिन आफूहरूले अनुरोध गरेको तर नहर भने नभत्किएको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए । उनले सडक निर्माण गर्ने क्रममा नहरमा क्षति पुगेमा गाउँपालिकाले पुनर्निर्माण गरिदिने बताए ।
जिल्लाको विद्युत् पटकपटक अवरुद्ध हुन थालेपछि राष्ट्रिय ध्यानाकर्षण गराउन भन्दै बझाङका सांसद भैरवबहादुर सिंह, आशा विक, पूर्वमन्त्री भानुभक्त जोशी र पूर्वसभासद अफिलाल ओखेडाले विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा ज्ञापनपत्र समेत पेस गरेका छन् ।

सुर्मादेवी जलविद्युत् आयोजना विभिन्न कारणले पटकपटक अवरुद्ध भइरहने भएकाले राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् वितरण गर्ने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र पेस गरिएको पूर्वसभासद अफिलाल ओखेडाले जानकारी दिए । खोडपेदेखि बझाङसम्मको ३३ केभी राष्ट्रिय प्रसारण लाइनको काम सम्पन्न भएको भए पनि सवस्टेसन बन्न अझै समय लाग्ने भएको छ । अस्थायी प्रकृतिका ट्रान्सर्फमर जडान गरेर विद्युत् वितरण गर्न सकिने भएकाले त्यसका लागि पहल गर्ने प्रतिबद्धता नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताएको सांसदहरूले बताएका छन् ।

यस्तै, विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा जिल्लाको जनजीवन नै प्रभावित भएको र यसको समाधानका लागि कुनै पहल नगरिएको भन्दै बझाङवासीले साउन १३ गते नेपाल विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरियामा धर्ना दिने कार्यक्रम तय गरेका छन् । धर्ना दिनका लागि बझाङबाट धेरै स्थानीय कैलाली आएको जयपृथ्वी नगरपालिकाका प्रविन्द्र धामीले बताए ।

Yamaha

प्रकाशित : श्रावण १३, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

छरपस्ट भग्नावशेष

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महल संरक्षण र पुनर्निर्माणको पर्खाइमा छ । ऐतिहासिक दरबारको भग्नावशेषका रूपमा रहेको उक्त महलको उत्खनन, अध्ययन, पुनर्निर्माण हुन सकेको छैन ।

उकु महलले जिल्लामा पर्यटनको ठूलो सम्भावना बोकेको छ । यस महलको भग्नावशेषमा अहिले पनि शिलालेखमा लेखिएका चट्टानहरू स्पष्ट देख्न सकिन्छ । चट्टानहरूमा शिलालेख लेखिएको र ढुंगाहरू कोरेर आकर्षक मूर्तिहरू बनाइएको छ । उकु दरबारको भग्नावशेषबाट त्यहाँ पाल राजा बस्ने गरेको इतिहास छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास रहेको स्थानीय समाजसेवी वासुदेव पन्तले बताए ।

पन्तका अनुसार दरबार क्षेत्रमा मध्यकालीन कत्युरी राजाहरूको राजधानी थियो । ‘यो ऐतिहासिक महत्त्वको स्थल हो,’ उनले भने, ‘यहाँ भेटिने कोटघर, देवस्थल, दरबारका किल्लाहरू र विभिन्न आकृतिका ढुंगाले दर्शाइरहेको देखिन्छ ।’ दार्चुला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजले पुष्टि गर्छ । उकुको ऐतिहासिक सम्बन्ध सीमावर्ती भारतको अस्कोटसँग जोडिएको छ । अस्कोटको इतिहासअनुसार सन् १२७९ मा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएको उनको भनाइ छ । अभयपालले वरपरका विभिन्न ८० कोटहरूको एकीकरण गरेर अस्कोट नामकरण गरेको हुनाले पाल राजाहरूलाई रजवार भन्ने गरिन्छ ।

१६ औं शताब्दीतिर नाग पाल राजाले मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेख जम्मा गरेको बुढापाकाहरूको भनाइ छ । उक्त क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, शिलालेखहरू हेर्दा मन्दिर बनाउन जम्मा गरिएको कारण मन्दिर बनाइनसकेको अवस्थामा त्यसमा क्षति भएको हुन सक्छ । कतुडी राजवंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरू अस्कोट, अजयमेरुकोट दिपायलकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको जानकारहरू बताउँछन् । पछि आएर १४ देखि १६ औं शताब्दीको अवधिमा उकु भग्नावशेष क्षेत्रमा दरबार र मन्दिर बनाउन खोजिएको इतिहास भेटिने गरेको किंवदन्ती पाइन्छ ।

पहिलेका मान्छेहरूले एकै रातमा महल खडा गर्न नसके त्यही रातमा भत्काउने सर्तअनुसार निर्माण सम्पन्न गर्न नसकेर भत्काएको हुनसक्ने भनाइ पनि एकथरी मानिसको छ । अस्कोटी नीराजन पाल राजाले बाहिरबाट आएर यहाँ महल बनाई बसेको तर शत्रुसँगको युद्धका क्रममा महल भत्किएको हो भन्ने तर्क पनि पाइन्छ । तर अहिलेसम्म महल कसले बनाएको हो भन्ने एकिन इतिहास नरहेको स्थानीय पन्तले जानकारी दिए ।

विगतदेखि पुनर्निर्माणका लागि यहाँका स्थानीयले विभिन्न निकायमा माग गरे पनि ठोस पहल हुन सकेको छैन । अध्ययनको नाममा पुरातत्त्व विभागको टोली महल क्षेत्रमा आए पनि शिलालेख पढ्न नसकेर फर्किएको स्थानीय नीराजन पालले बताए ।

मूर्तिहरू चोरी हुने, शिलालेखसमेत केरमेट हुने गरेका छन् । यो क्षेत्रमा शिलालेख लेखिएका ढुंगाहरू स्थानीयस्तरमा पाइनेभन्दा निकै फरक छन् । महल क्षेत्रको चारैतिर तारजाली लगाए पनि सुरक्षित भने छैन । यहाँका स्थानीयले महलको ढुंगा घरमा लैजान खोज्दा अशान्ति हुन थालेपछि महलमै पुर्‍याएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण १३, २०७५ १०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT