कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘किशोरी हत्या छानबिन’

अर्जुन शाह

धनगढी — डा. .केसीको अनशनका कारण अवरुद्ध हँुदै आएको प्रदेशसभा बैठक आइतबारदेखि सुरु भएको छ । आइतबारको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले बिहीबार कञ्चनपुरकी १३ वर्षीयाको बलात्कारपछि हत्या भएको घटनामा प्रदेशसभा सदस्यहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।

‘किशोरी हत्या छानबिन’

बैठकमा सार्वजनिक महत्त्वका विषयमा जानकारी गराउँदै आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको जानकारी गराए । भीमदत्त नगरपालिका–२ की किशोरीको बिहीबार हत्या गरिएको अवस्थामा निम्बुखेडाको उखुबारीमा शव फेला परेको थियो ।

‘प्रहरीले किशोरी हत्या घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ,’ मन्त्री शाहले भने ‘उक्त जघन्य अपराधमा संलग्नहरू कुनै पनि हालतमा उम्कन पाउने छैनन्, पछिल्लो समयमा आपराधिक घटनाहरू बढेका भए पनि संलग्नहरू उम्किन दिएका छैनौं ।’ मन्त्री शाहले प्रदेश सरकारबाट सुरक्षा निकाय परिचालनका लागि प्रदेश कानुन नभएको संक्रमण अवस्थाको फाइदा उठाउँदै अपराधीले टाउको ठड्याएको बताए । उनले यस अवधिमा भएका प्राकृतिक प्रकोप तथा आपराधिक घटना र सरकारका तर्फबाट भएका प्रयासहरू उल्लेख गरेका थिए । ‘प्रदेश प्रहरी ऐन बन्ने तयारीमा छ,’ उनले भने, ‘कानुन बनेपछि हालको कानुनी शून्यको अवस्था रहने छैन ।’

सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूको समझदारीपछि बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच आरोप–प्रत्यारोप चलेको थियो । प्रतिपक्षी दलका नेताले प्रदेश सरकार ‘गतिहीन’ भएको आरोप लगाए । सत्ता पक्षका नेताहरूले भने प्रतिपक्षी दल अत्तालिएर विभिन्न काममा भाँजो हाल्न खोजिरहेको दाबी गरेका छन् । 

बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले शान्ति सुरक्षाको अवस्था सुधारका लागि सरकारबाट सक्रिय भूमिका निर्वाह नभएको भन्दै आलोचन गरे । ‘अहिलेको अवस्थामा सुधार नहुने हो भने हामी आन्दोलन गर्न बाध्य हुन्छौं,’ नेता रावलले भने ‘प्रदेश सरकारको ध्यान ढुकुटी रित्याउनमै सीमित देखिन्छ ।’

प्रतिपक्षी दलका नेता रावलले बालकृष्ण ढुंगेलको रिहाइपछि अपराध कार्यमा संलग्नहरूको मनोबल बढेको बताए । ‘बहुमतको दम्भमा यो सरकार मनपरि गर्न खोजिरहेको छ,’ उनले भने, ‘दिनदिनै बढ्दै गएका आपराधिक घटनाले नागरिकहरू निराश छन् ।’ बैठकमा सत्तारूढ दलका प्मुख सचेतक तारा लामा तामाङले प्रमुख प्रतिपक्षी दल यतिबेला आत्तिएको अवस्थामा रहेको बताए । ‘प्रतिपक्षी दलका नेताहरू बहाना खोज्दै हिँड्नुभएको छ ।

उहाँहरू कतिपय ठाउँमा लासमाथि पनि राजनीति गर्न खोज्दै हुनुहुन्छ,’ तामाङले भने ‘विपक्षीका साथीहरूले अहिल्यै धैर्य गुमाउने बेला भएको छैन, रचनात्मक कार्यमा सहयोग गर्नुपर्छ ।’ प्रदेशको समग्र विकास अहिलेको साझा लक्ष्य भएकाले सबै प्रदेशसभा सदस्यहरूले साझा ऐजेन्डाका साथ अघि बढ्नुपर्नेमा तामाङको जोड थियो ।आइतबारको बैठकमा विधायन तथा प्रदेश मामिला समितिले छलफलपछि तयार गरेका दुइटा विधेयक प्रदेशसभामा पेस गरिएका छन् । गाउँ र नगरसभा सञ्चालन गर्न बनेको विधेयक तथा जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालन गर्न बनेको विधेयक समितिका ज्येष्ठ सदस्य कृष्णराज सुवेदीले पेस गरेका हुन् ।

प्रकाशित : श्रावण १४, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?