१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वर्षामै छैन खानेपानी

मनोज बडू

बोहरिगाउँ (दार्चुला) — शैल्यशिखर नगरपालिका ८ झरकाँडाकी जानकी जोशी बिहानै गाग्री बोकी पानीको जोहो गरिरहेकी थिइन् । लामो झरी नपर्दा साउनको तेस्रो सातामा पनि पानीका मूलहरू नफुट्दा टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।

वर्षामै छैन खानेपानी

यो नगरपालिकाका विभिन्न ठाउँका स्थानीय बिहानै उठ्नेबित्तिकै खानेपानी बोक्न घरबाट निकै टाढाका धारा र कुवातिर दौडादौड गर्छन् ।

‘बिहान उठ्नासाथ पानी पानीकै चिन्ता हुन्छ । घरभन्दा झन्डै पौने घण्टा तल रहेको धाराबाट दिनहँु पानी बोक्छु,’ जानकीले भनिन्, ‘बिहानैदेखि पानीको व्यवस्था नगरे समस्या पर्छ ।’ अहिले झरीको पानी संकलन गरेर शौचालयमा प्रयोग गर्न र गाईबस्तुलाई दिइरहेको उनले बताइन । ‘हिउँद र सुक्खायाममा त मानिस र गाईबस्तुका लागि पनि पानी बोक्नुपर्छ,’ उनले भनिन् । यहाँका अधिकांश महिलाको बिहानी पानी बोक्नमै बित्ने गरेको जोशीको भनाइ छ ।

यो गाउँमा पानीको मुहान नजिक नहँुदा धेरै टाढाबाट पाइपमार्फत गाउँमा पानी पुर्‍याउने व्यवस्था पनि गरिएको छैन । तर, स्थानीय उपभोक्ताले व्यवस्थित गर्न नसक्दा नयाँ योजनाको पानी एक वर्षभित्र पनि नपाइने स्थानीय केशवदत्त जोशीले बताए । हिउँद र सुक्खा समयमा यहाँ पिउन, गाईबस्तु र शौचालय प्रयोगका लागि पनि समस्या ठूलो समस्या हुने यहाँका स्थानीयको भनाइ छ ।

‘यो क्षेत्रमा खानेपानीका लागि बजेट र योजना धेरै आएका छन् । अहिले पनि आउने क्रम जारी छ,’ वडासदस्यसमेत रहेका जोशीले भने, ‘खानेपानी कार्यालयले बिनाअध्ययन हचुवाका भरमा योजना लागू गर्दा यो समस्या सिर्जना भएको हो ।’ जिल्ला खानेपानी कार्यालयको प्राविधिक पक्ष कमजोर रहेकाले स्थलगत अध्ययनबिना जो खानेपानीको योजना माग्न गयो, उसलाई दिने प्रवृत्ति अझै हट्न सकेको छैन । उनले राजनीतिक दलको आडमा साना योजना र मर्मतका लागि कम बजेट विनियोजन गरिने हुँदा समस्या निम्त्याएको बताए ।

सिमारबुमर बृहत् खानेपानी योजना आव २०७१/७२ सर्भे गरिएको छ । गाउँबाट नजिक करिब ३ सय मिटरको दूरीमा रहे पनि निर्माण कार्य सुरु गरिएको छैन । विगतमा बनेका खानेपानी योजनाका एकै घरमा पानीबिनाका २/२ धारा छन् । तर नाउलो (कुवा) बाट पानी बोकेर पिउनुपर्ने बाध्यता यथावत् रहेको वडासदस्य जोशीको भनाइ छ ।शैल्यशिखर नगरपालिका ८ का मल्लालेक, घोप्टे, बिराली, पत्यागैर, बुडललगायतका बस्तीमा खानोपनीको समस्या छ ।

प्रकाशित : श्रावण १४, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?