तीन वर्षदेखि बलेन बिजुली

करिब १३ सय घर परिवार तीन वर्षदेखि अन्धकारमा । चारवटै लघु जलविद्युत् बन्द । बाढीका कारण क्षति पुगेका पावर हाउस मर्मत हुन सकेनन् ।
मोहन शाही

डोटी — यहाँको सायल गाउँपालिका तीन वर्षदेखि अन्धकारमा छ भन्दा सायदै कसैले पत्याउलान् । कुनै बेला झिलिमिली गाउँका रूपमा चिनिने सायल गाउँपालिका तीन वर्षयता अन्धकारमा छ ।

डोटीको सायल गाउँपालिकाअन्तर्गत डौडमा स्थापना भएको २२ किलोवाट क्षमताको सानीगाड लघु जलविद्युत् आयोजनाको पावर हाउस । तस्बिर : मोहन । कान्तिपुर

दुर्गम क्षेत्रमा रहेका डौड, तोलेनीलगायतका गाउँ स्थानीय साइलीगाड र सानीगाडका चार ठाउँबाट निकालिएको लघु जलविद्युत्ले जिल्लामा झिलिमिली गाउँका रूपमा चिनिएका थिए । तर, २०७२ साउन २५ गते आएको भीषण बाढीका कारण विद्युत्गृह र नहरमा क्षति पुगेपछि हालसम्म ती ठाउँमा बिजुली बल्न सकेका छैनन् । चारवटै लघु जलविद्युत् पूर्ण रूपमा बन्द छन् ।

विद्युत् ल्याउन कसैले पहल नगरेको आक्रोश स्थानीयको छ । करिब १३ सय घरपरिवार तीन बर्षदेखि अन्धकारमा बस्न बाध्य रहेको गाउँपालिकाका निमित्त प्रमुख लालबहादुर बोगटीले बताए । ‘न त स्थानीय लघु जलविद्युत् बनाउन पहल भयों, न केन्द्रीय विद्युत् प्रसारण लाइन नै जोड्न सक्यौं,’ स्थानीय धर्मराज देउवाले भने, ‘योभन्दा अन्याय अरू के हुन्छ, तर पनि स्थानीयवासी सहेर बसेका छन् ।’

जलविद्युत् आयोजना सञ्चालन रहेको समयमा उक्त क्षेत्रमा कुटानी पिसानी मिल, फोटो स्टुडियो, मोबाइल पसललगायतका आयमूलक क्रियाकलापहरू सञ्चालनमा आएका थिए । विद्युत् नहुँदा कुटानी पिसानी मिल बन्द भएका छन् । साविकको डौड गाविस र हालको सायल गाउँपालिका वडा नं.२, ३, ४ र ५ मा निर्माण गरिएका विभिन्न चारवटा विद्युत्गृह र कुलो हालसम्म पनि मर्मत हुन सकेको छैन । डौड र तोलेनीमा सानीगाड लघु जलविद्युत् आयोजना ४२ किलोवाट, सानीगाड दोस्रो लघु जलविद्युत् आयोजना २२ किलोवाट, साइलीगाड लघु जलविद्युत् आयोजना २० किलोवाट र साइलीगाड दोस्रो लघु जलविद्युत आयोजना ६२ किलोवाट रहेकोमा सबै जलविद्युत् आयोजना बन्द छन् ।ती आयोजनाहरू निर्माणमा प्रतिआयोजना ४० लाखदेखि ९० लाखसम्म लगानी गरिएको हो ।

‘करोडौंको सम्पत्ति त्यसै खेर गएको छ, मर्मतका लागि कसैको चासो गएन,’ स्थानीय दीपेन्द्र सिंहले भने, ‘बरु नेताहरू केन्द्रीय प्रसारण लाइन जोड्न लागेका छन्, त्यो कहिले सम्पन्न हुने हो निश्चित छैन ।’सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत केन्द्रीय विद्युत् लाइन विस्तारको तयारी भइरहेको जानकारी दिए । ‘स्थानीयले तीन वर्षदेखि दु:ख झेलिरहेको देखेका छौं, समस्या समाधानका लागि प्रयत्न भइरहेको छ,’ अध्यक्ष डुम्रेलले भने, ‘लघु जलविद्युत् बनाउनभन्दा केन्द्रीय प्रसारण लाइन जोड्न नै उचित मानेकाले मर्मततर्फ लागेनौं ।’ उनले केन्द्रीय प्रसारण लाइन विस्तार गर्न सुरु भइसकेकाले केही समय स्थानीयले पर्खनुपर्ने बताए ।

स्थानिय तहले स्थानीयस्तरमा नै विद्युत उत्पादनलाई महत्त्व दिनुपर्ने नीति भए पनि सायल गाउँपालिकाले भएका विद्युत्गृहको संरक्षणमा ध्यान दिन नसकेको स्थानीयको गुनासो छ । जिल्ला सदरमुकाम सिलगढीबाट एक दिनको पैदल दूरीमा रहेको सायल गाउँपालिकामा चारवटै लघु जलविद्युुत् आयोजनामा २ जना अपरेटर र एक जना व्यवस्थापक नियुक्त गरिएका थिए । अपरेटरले पावर हाउसबाट विद्युुत बन्द गर्ने र खोल्नेलगायतका सानातिना मर्मतलगायतका कार्य गर्ने र व्यवस्थापकले मासिक विद्युत् महसुल उठाउनेलगायतका काम गर्ने गरेकोमा हाल आएर उक्त कार्यसमेत बन्द भएको छ ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण १५, २०७५ ०९:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आँधीखोलामा सुली फाल्नेलाई कारबाही माग

प्रदेशसभा बैठक
लालप्रसाद शर्मा

पोखरा — प्रदेशभित्रका विभिन्न घटना तथा विषयवस्तुमाथि सांसदहरूले प्रदेश सरकारलाई झक्झकाउने क्रम जारी छ । यसै क्रममा उनीहरूले आँधीखोलामा कुखुराको सुली फाल्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, सरकारी जमिन, फेवाताल अतिक्रमण रोक्नुपर्ने माग गरे ।

बूढीगण्डकी प्रभावितलाई समयमै मुआब्जाको व्यवस्था, मूल्यवृद्धि, मिटर ब्याज नियन्त्रण र सुरक्षाकर्मीलाई कर्तव्यनिष्ट बनाउनुपर्ने माग उनीहरूको थियो ।

गण्डकी प्रदेशको सोमबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद भागवतप्रकाश मल्लले स्याङ्जाको भीरकोट नगरपालिकामा रहेको खिलुङकालिका एग्रो फार्मले आँधीखोलामा फालेको कुखुराको सुलीले माछालगायत जलचर ठूलो संख्यामा मारिए पनि प्रशासनले कारबाही गर्न नसकेको बताए । गत वैशाख २१ गते राति खोलामा सुली फालिएको थियो ।

यसले गल्याङ नगरपालिकाका बासिन्दा पनि प्रभावित भएको र अनुसन्धानमा सुलीसँगै अन्य विषादी पनि रहेको खुलेकाले उनले दोषीमाथि कारबाहीको माग गरे । ‘कानुन अभावमा स्थानीय तहले काम गर्न नसकेकोमा प्रहरी प्रशासनले छानबिन गर्नुपथ्र्यो । तर प्रहरी प्रशासनले वास्ता गरेन,’ उनले भने, ‘प्रहरी प्रशासन गम्भीर नभएकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रदेश सरकारसमक्ष अनुरोध गर्छु ।’

घटना छानबिनका लागि गल्याङ नगरका उपप्रमुख देवी थापाको संयोजकत्वमा बेलटारी र चिसापानी मत्स्य विकास केन्द्रका अनुसन्धानकर्मीसहितको ७ सदस्यीय समिति बनाइएको थियो । विषादी मिसिएको सुलीकै कारण नदीका सबै जलचर सखाप भएको र करिब १ करोड बराबरको क्षति भएको प्रतिवेदन समितिले बुझाएको थियो । घटनालगत्तै एग्रो फर्म सञ्चालकसहित ४ जनालाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रशासनले आरोपीविरुद्ध जलचर ऐनअनुसार र गल्याङ नगरपालिकाले फोहोरमैला ऐनअन्तर्गत कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जनाएका थिए । तर, छानबिन समितिको प्रतिवेदनपछि भने दुवै निकाय यस विषयमा नरम देखिएका छन् ।

नेकपाकी मीना गुरुङले एकातिर उद्योगमा दक्ष कामदारको अभाव रहेको र पाए पनि कतिपय उद्योगले पर्याप्त ज्याला नदिएको अवस्था रहेको बताइन् । कुल श्रमिकको ४६ प्रतिशतले मात्रै मासिक पारिश्रमिक पाउने र अरू न्यूनतम ज्यालामा काम गर्न बाध्य भएकाले वैज्ञानिक आधार र व्यावहारिक रूपमा पारिश्रमिक तोकिनुपर्ने उनले माग गरिन् । राष्ट्रिय जनमोर्चाकी पियारी थापाले आपराधिक क्रियाकलापमा सुरक्षाकर्मीको संलग्नता रहँदा पीडितलाई न्यायमाथिको विश्वास हटेको बताइन् । सुरक्षाकर्मीबाट महिला बढी पीडित हुनुपरेको भन्दै उनले सुरक्षा संयन्त्रलाई अनुशासित, मर्यादित र कर्तव्यनिष्ठ बनाउनुपर्नेमा जोड दिइन् ।

नयाँ शक्तिका हरिशरण आचार्यले सरकारले २०६९ सालमा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठन गरेको फेवातालसम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयनको माग गरे । उनले गोरखाको पालुङटार विमानस्थल अतिक्रमणमा परेकाले यसको संरक्षण गर्दै विमानस्थल बनाउनुपर्ने बताए । कांग्रेसकी मनकुमारी गुरुङले बुढीगण्डकी आयोजनाबाट प्रभावित सबै स्थानीयलाई छिटो मुआब्जा दिलाउन प्रदेश सरकारले केन्द्रसँग सहजीकरण गर्न ध्यानाकर्षण गराइन् । खाद्यान्नमा महँगी बढेकाले जनतालाई समस्या परेको भन्दै यसको नियन्त्रणमा जोड दिइन् ।

यसैगरी शून्य समयमा कांग्रेसका मेखलाल श्रेष्ठले बजारमा मूल्यवृद्धि र पोखरामा ट्याक्सीको मनोमानी भएको विषय यसअघि उठाए पनि अझै नियन्त्रण नभएको बताए । जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि र ट्याक्सीविरुद्ध कारबाही अघि बढाउन आग्रह गरेका उनले शनिबार स्याङ्जाको राङखोलामा बिजुली तार जडान गर्ने क्रममा एकजनाको मृत्यु भएकोमा राहत उपलब्ध गराउन माग गरे ।

नेकपाका राजीव पहारीले पोखरामा अवैध रूपमा चर्को ब्याज (मिटर ब्याज) लिने गरिएको बताए । कांग्रेसकी सरिता गुरुङले तनहुँको घिरिङ गाउँपालिका ४ का वडाध्यक्षले स्थानीय एक महिलालाई बलात्कार गरेको तर शक्तिको आडमा वडाध्यक्ष अहिलेसम्म पक्राउ नपरेकाले पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिन् ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक र मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । दुवै विधेयकमाथि सोमबारै सामान्य (सैद्धान्तिक) छलफल भएको थियो । कानुनलाई संशोधन गर्ने विधेयकमाथि सांसद मीनप्रसाद गुरुङ, ललितकला गुरुङ र चन्द्रबहादुर बुढाले बोलेका थिए ।

मुख्य न्यायाधिवक्ताको विधेयकमाथि पुष्पा केसी भण्डारी, दोबाटे विश्वकर्मा र मधुमाया अधिकारी गुरुङले छलफलमा भाग लिएका थिए । छलफलमा उठेका विषयमाथि मन्त्री चुमानले जवाफ दिएका थिए । साथै भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले यसअघिका बैठकमा सांसदहरूले उठाएका विभिन्न विषयमा जवाफ दिँदै प्रदेशभित्रका विभिन्न योजनाको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रकाशित : श्रावण १५, २०७५ ०९:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT