कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तीन वर्षदेखि बलेन बिजुली

करिब १३ सय घर परिवार तीन वर्षदेखि अन्धकारमा । चारवटै लघु जलविद्युत् बन्द । बाढीका कारण क्षति पुगेका पावर हाउस मर्मत हुन सकेनन् ।
मोहन शाही

डोटी — यहाँको सायल गाउँपालिका तीन वर्षदेखि अन्धकारमा छ भन्दा सायदै कसैले पत्याउलान् । कुनै बेला झिलिमिली गाउँका रूपमा चिनिने सायल गाउँपालिका तीन वर्षयता अन्धकारमा छ ।

तीन वर्षदेखि बलेन बिजुली

दुर्गम क्षेत्रमा रहेका डौड, तोलेनीलगायतका गाउँ स्थानीय साइलीगाड र सानीगाडका चार ठाउँबाट निकालिएको लघु जलविद्युत्ले जिल्लामा झिलिमिली गाउँका रूपमा चिनिएका थिए । तर, २०७२ साउन २५ गते आएको भीषण बाढीका कारण विद्युत्गृह र नहरमा क्षति पुगेपछि हालसम्म ती ठाउँमा बिजुली बल्न सकेका छैनन् । चारवटै लघु जलविद्युत् पूर्ण रूपमा बन्द छन् ।

विद्युत् ल्याउन कसैले पहल नगरेको आक्रोश स्थानीयको छ । करिब १३ सय घरपरिवार तीन बर्षदेखि अन्धकारमा बस्न बाध्य रहेको गाउँपालिकाका निमित्त प्रमुख लालबहादुर बोगटीले बताए । ‘न त स्थानीय लघु जलविद्युत् बनाउन पहल भयों, न केन्द्रीय विद्युत् प्रसारण लाइन नै जोड्न सक्यौं,’ स्थानीय धर्मराज देउवाले भने, ‘योभन्दा अन्याय अरू के हुन्छ, तर पनि स्थानीयवासी सहेर बसेका छन् ।’

जलविद्युत् आयोजना सञ्चालन रहेको समयमा उक्त क्षेत्रमा कुटानी पिसानी मिल, फोटो स्टुडियो, मोबाइल पसललगायतका आयमूलक क्रियाकलापहरू सञ्चालनमा आएका थिए । विद्युत् नहुँदा कुटानी पिसानी मिल बन्द भएका छन् । साविकको डौड गाविस र हालको सायल गाउँपालिका वडा नं.२, ३, ४ र ५ मा निर्माण गरिएका विभिन्न चारवटा विद्युत्गृह र कुलो हालसम्म पनि मर्मत हुन सकेको छैन । डौड र तोलेनीमा सानीगाड लघु जलविद्युत् आयोजना ४२ किलोवाट, सानीगाड दोस्रो लघु जलविद्युत् आयोजना २२ किलोवाट, साइलीगाड लघु जलविद्युत् आयोजना २० किलोवाट र साइलीगाड दोस्रो लघु जलविद्युत आयोजना ६२ किलोवाट रहेकोमा सबै जलविद्युत् आयोजना बन्द छन् ।ती आयोजनाहरू निर्माणमा प्रतिआयोजना ४० लाखदेखि ९० लाखसम्म लगानी गरिएको हो ।

‘करोडौंको सम्पत्ति त्यसै खेर गएको छ, मर्मतका लागि कसैको चासो गएन,’ स्थानीय दीपेन्द्र सिंहले भने, ‘बरु नेताहरू केन्द्रीय प्रसारण लाइन जोड्न लागेका छन्, त्यो कहिले सम्पन्न हुने हो निश्चित छैन ।’सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत केन्द्रीय विद्युत् लाइन विस्तारको तयारी भइरहेको जानकारी दिए । ‘स्थानीयले तीन वर्षदेखि दु:ख झेलिरहेको देखेका छौं, समस्या समाधानका लागि प्रयत्न भइरहेको छ,’ अध्यक्ष डुम्रेलले भने, ‘लघु जलविद्युत् बनाउनभन्दा केन्द्रीय प्रसारण लाइन जोड्न नै उचित मानेकाले मर्मततर्फ लागेनौं ।’ उनले केन्द्रीय प्रसारण लाइन विस्तार गर्न सुरु भइसकेकाले केही समय स्थानीयले पर्खनुपर्ने बताए ।

स्थानिय तहले स्थानीयस्तरमा नै विद्युत उत्पादनलाई महत्त्व दिनुपर्ने नीति भए पनि सायल गाउँपालिकाले भएका विद्युत्गृहको संरक्षणमा ध्यान दिन नसकेको स्थानीयको गुनासो छ । जिल्ला सदरमुकाम सिलगढीबाट एक दिनको पैदल दूरीमा रहेको सायल गाउँपालिकामा चारवटै लघु जलविद्युुत् आयोजनामा २ जना अपरेटर र एक जना व्यवस्थापक नियुक्त गरिएका थिए । अपरेटरले पावर हाउसबाट विद्युुत बन्द गर्ने र खोल्नेलगायतका सानातिना मर्मतलगायतका कार्य गर्ने र व्यवस्थापकले मासिक विद्युत् महसुल उठाउनेलगायतका काम गर्ने गरेकोमा हाल आएर उक्त कार्यसमेत बन्द भएको छ ।

प्रकाशित : श्रावण १५, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?