१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

महाकालीको तटबन्ध कटान

कान्तिपुर संवाददाता

कञ्चनपुर — गत सातादेखि सुरु भएको महाकालीको तटबन्ध कटान अझै रोकिएको छैन । तटबन्ध कटान गरेको ठाउँमा तारजालीमा ढुंगा भरेर रोकथामको काम भइरहे पनि नदीले निरन्तर कटान गरेको छ ।

महाकालीको तटबन्ध कटान

भीमदत्त नगरपालिका ११ महाकाली टोलमा गत बिहीबारदेखि नदीले तटबन्ध कटान सुरु गरेको हो । कटान सुरु भएदेखि नै मर्मत सुरु भए पनि अझै रोकिएको छैन । ‘हालसम्म करिब ६०/७० मिटर तटबन्ध कटान गरिसक्यो,’ भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रेमप्रसाद जैसीले भने, ‘सँगसँगै मर्मत पनि भइरहेकाले त्यति जोखिम छैन ।’

नदीले तटबन्धसँगै एक स्परसमेत कटान गरेको छ । स्पर पनि आधाभन्दा धेरै कटान भइसकेको छ । उक्त स्पर पूरै कटान भए बढी खतरा हुन सक्ने देखिन्छ । केँठाउमा नयांँ भरान गरेका जालीहरू समेत बगाएको स्थानीयले बताए ।

स्थानीयका अनुसार नयाँं भरान गरिएका ५/६ जालीहरू नदीले कटान गरेर बगाइसकेको छ । तटबन्ध पुरानो हुनु र नदीले धार परिवर्तन गरेका कारण कटान रोक्न समस्या भएको छ । हिउँदमा मापदण्डविपरीत नदीबाट ढुंगा, गिट्टी र बालुवालगायतका निर्माण सामग्री उत्खनन गर्दा पनि अहिले यस्तो समस्या आएको प्राविधिकहरू बताउँछन् ।

बर्सेनि बस्ती नजिकैबाट निर्माण सामग्री उत्खनन गर्दा नदीको बीच भाग निकै अग्लो भएको छ ।

पूर्व र पश्चिमतिर तटबन्ध नजिकैको भाग भने निकै होचो भएर नदी यी दुई किनारबाटै बग्ने गरेको छ । ‘यसैले तटबन्ध कटान हुने गरेको हो,’ स्थानीय दीपक थापाले भने, ‘तटबन्ध कटान भएर नदी बस्तीमा पस्ने खतरा निकै बढेको छ ।’ उनले कटान सुरु भएदेखि राम्ररी निद्रा लाग्न छाडेको बताए । स्थानीयहरू रातिसमेत तटबन्ध हेर्ने गरेको उनले बताए ।

जनताको तटबन्ध कार्यालयका इन्जिनियर महादेव विष्टका अनुसार तटबन्ध पुरानो र नदीको बहावको दबाब एकै ठाउँमा परेकाले कटान भएको छ । अहिले पनि बहाव तटबन्धलाई नै ठोक्किइरहेको उनले बताए ।

प्रकाशित : श्रावण १६, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?