पहिरोले लग्यो विद्युत्‌गृह

वसन्तप्रताप सिंह

बझाङ — सडक निर्माणपछि खस्न थालेको पहिरोले सुर्मा गाउँपालिकाको एउटा लघु जलविद्युत आयोजना बगाएको छ । सडकका कारण विभिन्न ठाउँमा पहिरो खस्न सुरु भएपछि स्थानीयका २० घरसमेत जोखिममा परेका छन् ।

पहिरोले लग्यो विद्युत्‌गृह

बझाङ सदरमुकाम चैनपुरलाई सुर्मा गाउँपालिकासँग जोड्ने रिठापाटा–सुर्मा सडक निर्माण लगत्तै खस्न सुरु भएको पहिरोका कारणले सुर्मा गाउँपालिका वडा नं २ अना गाउँमा ६ वर्षअघि निर्माण भएको २२ किलोवाट क्षमताको जेब्रेगाड लघु जलविद्युत् आयोजना बन्द भएको हो ।

करिब ८० लाखको लागतमा निर्माण भएको उक्त विद्युत् आयोजनाको बिजुली यहाँका २ सय २८ परिवारले उपयोग गर्दै आएका थिए । पहिरोले ठाउँठाउँमा नहर बगाएपछि दुई महिनाअघि विद्युत् उत्पादन बन्द भएको थियो । विभिन्न ठाउँमा खसेको पहिरोले विद्युत्को १ सय ५० मिटरभन्दा बढी नहर बगाइसकेको छ ।

असार अन्तिम हप्तातिर सडकबाटै खसेको अर्काे पहिरोको कारण विद्युत् गृहमा पनि क्षति पुगेको छ । ६ वर्षदेखि उपयोग गर्दै आएको विद्युत् सेवाबाट सधैंका लागि वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् । ‘चार ठाउँमा कुलो भत्किएका कारण दुई महिनाअघिदेखि नै विद्युत् बन्द भएको थियो,’ स्थानीय शेरबहादुर बोहराले भने, ‘अहिले पावरहाउस भएको ठाउँमा पनि पहिरो खसेर घरै बगाउन आँटेको छ ।’

उनले पहिरोले बगाएर ल्याएको ढुंगा र माटो पावरहाउसमा पसेर भित्र रहेका उपकरणहरूमा पनि क्षति भएको र जुनसुकै बेला विद्युत् गृह बग्न सक्ने अवस्थामा रहेको बताए । विद्युत्को नहर र विद्युत् गृह भएको ठाउँभन्दा माथि रहेका धौलसेरी, धन्धारा, घट्टका खोला र खोल्धारा गरी चार ठाउँबाट एकै साथ पहिरो सुरु भएका कारण अना गाउँका २० वटा घरसमेत जोखिममा परेको अर्का स्थानीय हरिश्चन्द्र बोहराले बताए ।

‘गाउँलेले आधा भन्दा बढी काम श्रमदान गरेर बनाएको बिजुली सडकले खत्तम बनाइदियो,’ उनले भने, ‘पहिरो झन्झन् फैलिन थालेपछि अहिले त गाउँ नै बग्ने अवस्था आइसक्यो’पहिरो निरन्तर फैलँदै गएका कारण कति बेला घर बग्ने हो भन्ने डरले स्थानीयलाई सताउन थालेको छ । पहिरोको सूचना दिन रातभर पालैपालो जाग्राम बस्ने गरेको बताउँदै चन्द्रादेवी बोहराले भनिन्, ‘कुन बेला घर बगाउने हो भन्ने डरले सुत्नै सकिरहेका छैनौं ।

बर्खाको झरीमा पालैपालो पहिरोको पहरा दिनुपरिरहेको छ ।’ तत्काल पहिरो नियन्त्रण गर्न नसके गाउँ नै बगाउने निश्चित भएको उनको भनाइ छ । पहिरोले नहर भत्काउँदा विद्युत् बन्द भएको भन्ने विषयमा आफूलाई जानकारी भए पनि विद्युत् गृहमा क्षति भएकोबारे थाहा नभएको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर धामीले बताए ।

पहिरो बगिरहने भएका कारणले घरहरूमा जोखिम भए पनि गाउँपालिकाकै प्रयासले पहिरो नियन्त्रण सम्भव नहुने उनले बताए । ‘केन्द्रैबाट कुनै योजना आए मात्र हो । हाम्रै स्रोतले त्यत्रो पहिरो कसरी नियन्त्रण गर्न सक्छौं र ?’ उनले भने, ‘अहिले बजेट पनि घटेर आएको छ । ५/७ करोड विद्यालय र रोडमै खर्च हुन्छ होला । पहिरो रोक्न कहाँबाट रकम ल्याउने ?’

जथाभावी डोजर प्रयोग गरेर निर्माण भएका सडकका कारण बझाङका धेरै गाउँहरू, विद्युत् आयोजना, सिंँचाइ खानेपानी र खेतीयोग्य जमिनमा ठूलो क्षति भएको विवरण सार्वजनिक भइरहेका छन् ।

प्रकाशित : श्रावण १७, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?