२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

राजधानीको चर्चाले बढ्यो कारोबार

मोहन बुढाऐर

धनगढी — प्रदेश–७ को स्थायी राजधानी र नामको बहस सुरु भएलगत्तै सम्भावित गोदावरी नगरपालिकामा घरजग्गा कारोबारीले घरघडेरीको मूल्य बढाउने र प्लटिङ गरेर बिक्री गर्न सुरु गरेका छन् ।

राजधानीको चर्चाले बढ्यो कारोबार

प्रदेश–७ को अस्थायी राजधानी धनगढीबाट गोदावरी नगरपालिकाको अत्तरिया सर्ने चर्चा चलेपछि घरजग्गा कारोबारीले उर्वरखेतलाई धमाधम प्लटिङ गरी ग्राहकलाई भिडाउने काम सुरु गरेका हुन् । ‘घरजग्गा खोज्नेहरूको आकर्षण पनि जता राजधानी उतैतिर बढी देखिन्छ,’ घरजग्गाको कारोबारी प्रभात चौधरीले भने, ‘अस्थायी राजधानी धनगढीमा बस्दा यता बढी प्लटिङ र खरिदबिक्री बढेको थियो । अहिले गोदावरी नगर क्षेत्रमा बढेको छ ।’

प्रदेश–७ को प्रदेशसभामा स्थायी राजधानी र नामांकनको विषयले प्रवेश पाइसकेको छ । त्यसका लागि प्रदेशसभाले सुझाव समिति बनाएको छ । उक्त समितिले साउन २१ भित्र सुझाव पेस गर्दैछ । उक्त छलफलसँगै गोदावरी आसपासको क्षेत्रको घरजग्गाको कारोबार बढेको चौधरी बताउँछन् । उनका अनुसार गोदावरीको तेघरी क्षेत्रमा बढी प्लटिङ भइरहेको छ । घरजग्गा कारोबारी पनि उतै बढी सक्रिय भएका छन् । दैनिक १०/१५ घरघडेरी गोदावरी नगरक्षेत्रमा खरिद बिक्री भइरहेको छ । उर्वरखेत प्लटिङ हुन थालेका छन् ।

दलालहरूले आफ्नो प्लटिङ भएको क्षेत्र नजिकका खुला तथा सार्वजनिक जग्गामा राजधानी बस्ने भन्दै ग्राहकलाई ठगेर घडेरी बेच्ने गरेका छन् । अर्काेतिर खेतवालाहरूलाई यो समयमा जग्गा प्लटिङ गरेर बिक्री गर्दा धेरै पैसा कमाउन सकिने लोभ दिएर कमाइखाने खेत प्लटिङ गराउन लागेको स्थानीय कैलाशकुमार जोशी बताउँछन् ।

‘दलालहरूको स्वघोषित राजधानी बन्ने ठाउँ गोदावरीको दस ठाउँमा छ,’ उनले भने, ‘गोदावरीको अत्तरिया क्षेत्रमा राजधानी बन्ने हल्लाको फाइदा घरजग्गा कारोबारीले मात्रै लिएका छन् ।’ एकाएक यहाँको घरजग्गाको भाउ चार गुनाले वृद्धि गरिदिएका छन् । तेघरी ब्यारेकदेखि अत्तरियासम्मको क्षेत्रमा सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्ग, धनगढी–अत्तरिया राजमार्ग क्षेत्रमा जग्गाको प्लटिङ बढी भएको छ ।

घरजग्गा कारोबारी गणेशबहादुर शाहीका अनुसार राजधानी बन्ने हल्लाले स्वाभाविक रूपमा घरजग्गाको मूल्य वृद्धि हुने बताए । ‘हामीले प्लटिङ गर्ने जमिन पनि कसैबाट खरिद गर्नुपर्छ,’ उनले भने, ‘राजधानीको घोषणापछि प्लटिङका लागि लिइने खेत/जमिन महँगो पर्ने गएको छ ।’ उनले ग्राहकलाई सम्भावित राजधानीको आकर्षण देखाउनु कसैलाई ठग्ने काम नभएको बताए । तर सेवाग्राहीले दलालहरूले वास्तविक जग्गाधनीबाट लिएको भन्दा तेब्बर बढीले जग्गाको मूल्यमा वृद्धि गरेको गुनासो छ ।

अत्तरियाका वीरबहादुर घर्तीमगरले पनि राजधानीको मार्केट पिटेर जग्गाका दलालले अस्वाभाविक रूपमा जग्गाको मूल्य वृद्धि र उर्वरभूमिको प्लटिङ बढाएको बताए । उनी दलालको फन्दामा परेर कमाइखाने जग्गा बेचेर जग्गाधनी पनि ठगिएको बताउँछन् । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ अनुसार नगरपालिकाबाट पास नभएका जग्गाको प्लटिङ हाललाई रोकिएको छ । तर दलालले अन्य तरिकाहरू अपनाएर जग्गाको प्लटिङ गरी बेचिरहेका छन् । ‘अंशियारको नाममा कित्ताकाट गरी जग्गा खण्डीकरण भइरहेको छ,’ प्रमुख दयानन्द जोशीले भने, ‘एक बिघा जग्गा दस–दस धुरको घडेरी बनाएर ४० कित्तामा खण्डीकरण भएको छ ।’

‘एउटा ठूलो परिवार सगोलमा रहेको देखाउँदै बाजेदेखि नातिसम्मको नाममा अंशबन्डा गरी कमाइ खाने खेतको खण्डीकरण पहिला हुन्छ,’ उनले भने, ‘खण्डीकरण भएको उक्त जग्गा दलालले पछि बिक्री गर्दै लैजाने गरेका छन् ।’ पछिल्लो समयमा प्रदेश–७ का पहाडी जिल्लाबाट तराई बसाइँसराइ गर्ने क्रम बढेको छ । ‘प्रदेश ७ को राजधानी पहाड सर्ने सम्भावना नभएकाले पहाड रितिन्छ,’ दोहोरो बसोबास गरिरहेका शिक्षक दुर्गादत्त पन्तले भने, ‘पैसा भएका परिवारहरूले एउटा सानो घर बनाउनसम्म पनि अत्तरिया र धनगढीतिर जग्गा किन्न थालेका छन् ।’ डडेलधुराका शिक्षक पन्तले हालसालै अत्तरियामा घडेरी किनेका हुन् ।

उनले डडेलधुरा या दिपायलमा राजधानीको सम्भावना देख्नेले आस मारिसकेकाले तराई झरेको बताए । ‘अझै पहाडमा राजधानी रहे तराई झर्ने क्रम रोकिन्छ,’ उनले भने,‘ पैसा भएका परिवारमात्रै नभएर त्यहाँका जमिन सस्तैमा बेचेर पनि राजधानी आसपास क्षेत्रमा झर्नेवाला छन् ।’ उनका अनुसार सुगमता रोजेर नभएर रोजगारीलगायतका अनेक सम्भावना देखेर राजधानी आसपास क्षेत्रमा घरजग्गा किन्न आउने गरेको बताए ।

स्थानीय बौद्धिक समाजका दिनेश भण्डारीले कैलालीको उर्वरभूमिको खण्डीकरण नरोकिए भविष्यमा प्रदेश–७ खाद्य संकट सिर्जना हुने बताए । ‘कैलाली र कञ्चनपुर प्रदेश–७ को प्रमुुख अन्न भण्डार हो,’ उनले भने, ‘यहाँको जमिन खण्डीकरण बढ्दो छ । यसलाई रोक्न जरुरी छ ।’ उनले जथाभावी भइरहेको प्लटिङले स्थानीय तह आफैंलाई ठूलो समस्या सिर्जना गर्नेसमेत बताए ।

प्रकाशित : श्रावण २०, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?