कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भित्रिए धान–गहुँ काट्ने, चुट्ने मेसिन

भवानी भट्ट

कञ्चनपुर — चैते धान जेठ अन्तिमदेखि असार दोस्रो सातासम्म पाक्छ । उक्त समयमा वर्षाका कारण भित्र्याउन निकै समस्या हुन्छ । अझ खेत हिलो हुने भएकाले धेरै टाढासम्म बोकेर सुकाउन लैजानुपर्छ ।

भित्रिए धान–गहुँ काट्ने, चुट्ने मेसिन

गत वर्ष गहुँबाली भित्र्याउने बेला एक सातासम्म बेमौसमी वर्षा भयो । धेरै किसानले काटेको गहुँ खेतमै उम्रिने अवस्था आयो । नकाटेका गहुँ पनि खेतमै झर्न थाले ।

अब भने कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृषकहरूले यस्तो समस्याबाट मुक्ति पाउनेछन् । यहाँका कृषकलाई लक्षित गरेर धान र गहुँ काटेर खेतमै चुटेर भित्र्याउने सकिने अत्याधुनिक प्रविधिको कम्बाइन हार्भेस्टर नामक कृषियन्त्र ल्याइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनले कृषि यन्त्रको व्यवसाय गरिरहेको आरसीटी एग्रो मेसिनरी एण्ड इन्जिनियरिङ वर्कसपको साझेदारीमा कम्बाइन हार्भेस्टरसहितका १ करोड बढीका अत्याधुनिक कृषि यन्त्रहरू भित्र्याएको हो । जोन क्षेत्रसँगै कृष्णपुरका अन्य कृषकले पनि उक्त यन्त्रहरूको प्रयोगबाट फाइदा लिन सक्नेछन् ।

धान जोनको ७७ लाख ८४ हजार र आरसीटीको २४ लाख ६२ हजारमा आधा दर्जन कृषि यन्त्रहरू भित्र्याइएका हुन् । जलवायु परिवर्तनका कारण मौसम परिवर्तन हँुदा खेतीपातीमा प्रत्यक्ष असर परेको छ । भित्र्याउने बेला हुने बेमौसमी वर्षाले उत्पादनसमेत ह्रास हुने गरेको छ । ‘अब यहाँका कृषकले यस्तो समस्याबाट छुटकरा पाउनेछन्,’ धान जोनका वरिष्ठ कृषि अधिकृत गोकुलप्रसाद बोहराले भने, ‘यी यन्त्रको प्रयोगले सानोदेखि ठूलो खेतमा कम लगानीमा बढी उत्पादन गर्न सकिनेछ ।’

गत साता कृष्णपुरमा आयोजित सार्वजनिक सुनवाइ कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमालले समेत यन्त्रहरूको बारेमा जानकारी लिएका थिए । नगरपालिकाले पनि यस्ता यन्त्रहरू खरिदमा कृषकहरूलाई अनुदान दिने योजना अघि सारेको उनले बताए ।

कृष्णपुर नगरपालिकाको वडा नं. ५ र ६ मा धान जोन परियोजना सञ्चालनमा छन् । उक्त कार्यक्रमलाई लक्षित गरी कस्टम हायरिङ सेन्टर, पोस्ट हार्भेस्टर सेन्टर र सिकाइ केन्द्रका लागि ती उपकरणहरू ल्याइएको हो ।

जसमा ट्याक्टर २, धान थ्रेसर, गहुँ थ्रेसर, लेजर लेबलर, कम्बाइन हार्भेस्टर, स्ट्र रिपर, रिपर वाइन्डर, स्ट्र वेलर र सिकाइ केन्द्रका लागि सानातिना औजार रहेका छन् ।कम्बाइन हार्भेस्टर र धान तथा गहुँको बाला मात्रै काटेर चुट्ने गर्छ । स्ट्र रिपरले गहुँको नल काटेर भुसा बनाउँछ । रिपर वाइन्डरले धानको पराल काटेर गुच्छा बाँध्ने काम गर्छ । यस्तै स्ट्र बेलरले पनि काटेको परालको गुच्छा बाँध्ने काम गर्छ ।

गत वर्ष गहुँबाली भित्र्याउने बेला करिब एक सातासम्म बेमौसमी वर्षा भयो । यसले धेरै कृषकको गहुँ खेतमै उम्रिने अवस्था आयो । तर कृष्णपुर नगरपालिका क्षेत्रमा भने अत्याधुनिक उपकरणहरू भित्रिएपछि कृषकहरू खुसी देखिन्छन् । ‘खेतीपाती गर्ने बेला कामदार नपाउने अवस्थामा कृषकका लागि यी यन्त्र निकै उपयोगी हुनेछन्,’ कृष्णपुरका कृषक रमेश जोशीले भने, ‘लगानी घटाउनसमेत यसले सहयोग पुग्नेछ ।’

यन्त्र प्रयोग गरेबापत कृषकबाट अन्तको तुलनामा २०/२५ प्रतिशत सस्तो शुल्कमा काम गर्ने सम्झौता धान जोन र आरसीटीबीच भएको छ । कृषकले दिएको निवेदनका आधारमा सेवा उपलब्ध हुनेछ । जोन, नगरपालिका र आरसीटीले दररेट निर्धारण गर्नेछ । जोन क्षेत्रका कृषकलाई सेवा दिएपछि अन्य क्षेत्रमा पनि काम गर्न सकिने धान जोनका वरिष्ठ कृषि विकास अधिकृत बोहराले बताए ।

प्रकाशित : श्रावण २०, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?