कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जडीबुटी प्रशोधन केन्द्र बन्दै

‘प्रदेशमै प्रशोधन केन्द्र बनेपछि स्थानीय र व्यवसायीसमेतले उचित मूल्य पाउनेछन्’
यस प्रदेशका ७ वटा पहाडी जिल्लाबाट वार्षिक ४० देखि ५० करोड बराबरको जडीबुटी भारत निकासी
अर्जुन शाह

धनगढी — प्रदेश ७ कै पहिलो जडीबुटी प्रशोधन केन्द्र धनगढीको कनरीमा निर्माण हुँदै छ । प्रशोधन केन्द्र सञ्चालन भएपछि हालसम्म कौडीको मूल्यमा बिक्री भएका जडीबुटीबाट कैयौं बढी आम्दानी हुने व्यवसायी बताउँछन् ।

जडीबुटी प्रशोधन केन्द्र बन्दै

जडीबुटीको भण्डार मानिने ७ नं. प्रदेशका पहाडी जिल्लाबाट वर्षेनी ठूलो मात्रामा जडीबुटी संकलन तथा निकासी हुने गरेको छ । यही प्रशोधन केन्द्र नभएकाले संकलित जडीबुटी हालसम्म सोझै कच्चा पदार्थ भारत र चीन निकासी हुने गर्छ ।

कच्चा पदार्थका रुपमा यताबाट न्यून मूल्यमा जडीबुटी खरिद गरेर भारतीय कम्पनीहरूले त्यसैको प्रशोधित उत्पादन बहुमूल्यमा फेरि यहींको बजारमा पठाउँदै आएका छन् । प्रशोधन केन्द्र सञ्चालन भए कौडीको मूल्यमा बहुमूल्य जडीबुटी बेच्नुपर्ने बाध्यता हट्ने भन्दै व्यवसायी उत्साहित छन् ।

‘प्रदेशमै प्रशोधन केन्द्र बनेपछि स्थानीय र व्यवसायीसमेतले उचित मूल्य पाउने छन्,’ बाजुराका जडीबुटी व्यवसायी दिपक रेग्मी भन्छन्, ‘पहिलो चरणको मात्रै प्रशोधन गरेर निकासी गर्न सक्यौं भने जडीबुटीको मूल्य कैयौं गुणा वृद्धि हुन सक्छ, ।’

एसियाली विकास बैंकको आर्थिक सहयोगमा धनगढीमा सञ्चालित सघन सहरी विकास कार्यक्रमअन्तर्गत कनरीमा करिब १५ रोपनी क्षेत्रफलमा उक्त जडीबुटी प्रशोधन केन्द्र निर्माण भइरहेको हो ।

प्रशोधन केन्द्रको पूर्वाधार निर्माणका लागि गत भदौमा देवसिंह रुद्रावती प्रशंसा जेवी कम्पनीले २ करोड ९० लाखमा ठेक्का सम्झौता गरेको छ । भवन तथा सहरी विकास डिभिजन कार्यालयले केन्द्र निर्माणका लागि ४ करोड १० लाखको टेन्डर आह्वान गरेको थियो । ठेकेदारले घटिघटाउमा सम्झौता गरेको डिभिजन प्रमुख रवीन्द्र बोहराले बताए । आउँदो चैत महिनासम्म काम पूरा गर्नुपर्ने सम्झौता छ । ‘निर्धारित समयमै काम पूरा गर्छौं’ निर्माण कम्पनीका दीर्घ जोशीले भने ।

प्रदेश सरकारलेसमेत जडीबुटीलाई प्रदेश विकासको मुख्य आधार भनेको छ । यहीँ प्रशोधन केन्द्र बनेपछि संकलित जडीबुटीहरू प्रशोधन भई आयआर्जनमा प्रत्यक्ष फाइदा पुग्ने बनस्पति अनुसन्धान केन्द्र धनगढीका प्रमुख लक्ष्मण झा बताउँछन् । अहिले पहाडी जिल्लामा संकलन हुँदै आएको सुगन्धवालको जरा व्यवसायीहरूले १ सय ५० रुपैयाँ किलोमा बिक्री गर्ने गरेका छन् । बाजुराका जडीबुटी व्यवसायी दिपक रेग्मी भन्छन्, ‘प्रशोधन केन्द्र बनेपछि त्यही सुगन्धवालको तेल उत्पादन गरेर बजारमा पठाउन सकियो भने प्रतिलिटर ३५ हजारसम्म पर्छ ।’

७ नं. प्रदेशलाई जडीबुटीको भण्डार मानिन्छ । अझ, बझाङ, बाजुरा र दार्चुलालाई जडीबुटीको हब भन्ने गरिन्छ । बझाङबाट गएको आर्थिक वर्षमा करिब ३ लाख किलो जडीबुटी बिनाप्रशोधन जिल्लाबाहिर निकासी भएको सहायक वन अधिकृत सुरेन्द्र कठायतले बताए ।

जिल्लाबाट अमला, रिठ्ठा, पाखनवेद, काउलोको पात, चुत्रोको बोक्रा, पावन काउलो निकासी भएको छ । यस्तै, रातो च्याउ, अल्लो, टिमुर, काँकडसिंगो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बु र भृंगिराज समेत बझांगबाट निकासी हुने गरेको छ ।

जडीबुटी व्यवसायी संघ बझाङका अध्यक्ष धर्मजंगबहादुर सिंहका अनुसार यस क्षेत्रमा संकलित जडीबुटी चीन र भारतमा निकासी हुन्छ । उनले भने, ‘यही क्षेत्रमा प्रशोधन हुन सक्यो भने यही क्षेत्रका बासिन्दाको आर्थिक जीवनस्तर माथि उठ्नेछ ।’

बाजुराबाट गत आर्थिक वर्षमा सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतो, काँकडसिंगी, सुगन्धवाल, पदमचाल, कटुकी, बन लसुन सतुवा, सुनाखरी, सेतकचिनी, लोक्ता, अल्लो, सिटमुर, रिठाको संकलन तथा निकासी भएको जिल्ला बन कार्यालयका रेन्जर बिशाल लामाले बताए ।

डडेल्धुरामा करिब २० प्रकारका जडिबुटी मात्र बिक्री वितरण गर्न दिइएको छ । हाल ठूला व्यवसायीका स्थानीय प्रतिनिधिहरूले स्थानीय संकलकहरूबाट सस्तो मूल्यमा खरिद गरेर जडिबुटी अन्यत्र बिक्री गर्ने गरेका छन् ।

दार्चुलाबाट वार्षिक २ लाख किलो जडीबुटी निकासी हुने गरेको जिल्ला वन कार्यालयको तथ्यांक छ । यार्सागुम्बा, पाँचऔले, सचुवा, कटुकी, बन लसुन, तिते लगायतका बहुमूल्य जडीबुटीहरू दार्चुलामा पाइन्छन् ।पहाडी जिल्लामा पाइने रिठा, अमला, तेजपात, सुनगाभा, अल्लो, विषजरा, सुगन्धवाल, पाषणवेद, काउलो, सिमजरा, भिडाते, लोक्ता, झ्याउ, चिराइतो, जिवन्ती, ओखरको बोक्रा र यार्चागुम्बा लगायत बहुमूल्य जडिबुटीहरू हाल कौडीको भाउमा बिक्रिगर्नु परेको ब्यवसायीहरू बताउँछन् ।

यस प्रदेशका ७ वटा पहाडी जिल्लाबाट वार्षिक ४० देखि ५० करोड बराबरको जडिबुटी भारत निकासी हुने गरेको जडिबुटी व्यवसायीहरू बताउँछन् ।

प्रकाशित : श्रावण २१, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?