२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाख्रापालनले उकास्यो आम्दानी

बाख्रापालनमा १ करोड ७४ लाख लगानी, दार्चुलामा ५४ बाख्रा फर्म र ३ सय समूह आबद्ध
मनोज बडु

दार्चुला — दुहु गाउँपालिका ५ का मानसिंह बडालले बाख्रा बिक्रीबाट वर्षदिनमा १ लाख १५ हजार कमाए । असारसम्म ९० हजारका बाख्रा बेचे । साउनमा उनले २५ हजार बराबरका बाख्रा बेचेका छन् ।

बाख्रापालनले उकास्यो आम्दानी

चरनक्षेत्र घट्दै गए पनि बाख्रापालन पेसाबाट आम्दानी राम्रो हुन थालेपछि व्यवसायीक रुपमा यो पेसालाई अगाडि बढाइरहेको बडालले बताए । ‘यो व्यवसायबाट आम्दानी राम्रो हुने भएपछि बाख्रा पालनतर्फ अग्रसर भएको हुँ,’ उनले भने, ‘यसअघि पनि घरमा थोरै बाख्रा पालिन्थे । पछिल्लो समय व्यावसायिक रुपमा यो पेसा अँगालिरहेको छु ।’ १० बाख्राबाट पेसा सुरु गरेका बडालसँग अहिले ३६ बाख्रा रहेका छन् । ५ वर्षबाट व्यवसाय सुरु गरेर बाख्रा बिक्रीबाट करिब साढे ४ लाख बराबरको कारोबार गरिसकेको उनको भनाइ छ ।

त्यस्तै, नौगाड गाउँपालिका १ इयरकोटका रञ्जित ठगुन्नाले १० वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् । अहिले आधुनिक खोर निर्माण गरी ५५ बाख्राको हाराहारीमा उनको व्यवसाय अगाडी बढेको छ । गाउँमै बाख्रा बिक्री गरी वार्षिक रुपमा डेढ लाख आम्दानी गरिरहेको उनले जानकारी दिए । ‘सुरुमा सानो व्यवसायबाट सुरु गरेको अहिले विस्तार गर्ने सोच बनाएर ५० बाख्रा अट्ने आधुनिक खोर निर्माण गर्दै छु,’ उनले भने । बाख्रा पालन व्यवसायबाट छोराछोरीलाई धनगढीमा उच्च शिक्षा पढाइरहेको उनले बताए ।

त्यसैगरी, ब्यास गाउँपालिका ५ का जोगी धामीले व्यावसायिक बाख्रा पालन गर्न थालेको १० वर्ष पुग्यो । परम्परागत रुपमा बाख्रापालन गर्दै आएपछि १५ बाख्राबाट व्यवसाय सुरुवात गरेका उनको खोरमा अहिले ५४ बाख्रा छन् । उनले वार्षिक डेढ लाख रुपैयाँ कमाउँछन् । बाख्रा पालनले ७ जनाको परिवारको राम्रो गुजारा चलेको उनले बताए ।

व्यावसायिक बाख्रापालन सुरु गरेदेखि आफ्नो जीवनस्तरमासमेत परिवर्तन आएको धामीको भनाइ छ । पछिल्लो समय स्थानीय व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । दिनहुँ हजारौको संख्यामा युवा विदेशिरहेका बेला बाख्रापालन गतिलो रोजगारीको माध्यम बनिरहेको धामीले बताए । गाउँका युवाहरू दिनहँु विदेश जाने तयारीका लागी काठमाडाैं जाने गरेका छन् । ‘मासिक सयकडा ३ प्रतिशतका दरले कर्जा निकालेर विदेश जान्छन् । दुई/तीन वर्षभन्दा बढी ऋण तिर्नमै लाग्छ,’ उनले भने, ‘गाउँमै बाख्रा पालनबाट राम्रो आम्दानी भैरहेको छ । यही परिश्रम गरे राम्रो कमाउन सकिन्छ ।’

बाख्रा पालन लगायत गाउँमै गर्न सकिने पशु पालनमा विदेश जान लाग्ने लगानी र विदेशकै जतिको मेहेनत गरे आम्दानीसंगै पेशामा पनि व्यावसायिक भइने उनी बताउँछन् । आफ्ना बुबा र बाजेहरूले परम्परागत रुपमा बाख्रा पालन गर्दै आएको भए पनि आफू भने व्यावसायिक रुपमा यो पेशाप्रति सन्तुष्ट रहेको उनले बताए ।

जिल्लाका पहाडी तथा उच्च पहाडी क्षेत्रमा किसानहरू बाख्रा पालन व्यवसायबाट राम्रै आम्दानी गरिरहेको जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक मोहनदेव भट्टले बताए । सुरु–सुरुमा चरिचरन क्षेत्र पर्याप्त भए पनि अहिले सामुदायिक वनका कारण चरिचरनको समस्या हुने गरेको स्थानीय कृषकको भनाइ छ । जिल्लाका सबै स्थानीय तहहरूमा बाख्रा पालन हुने गरेको भएपनि ब्याँस, दुहुँ, मालिकार्जुन, अपीहिमाल गाउँपालिकाहरूमा पशु पालन व्यवसाय फस्टाउँदै गएको छ ।

जिल्लामा ५४ वटा बाख्रा पालन फार्म र ३ सय विभिन्न किसिमका समूह समिति दर्ता रहेको पशु सेवा कार्यालयले जनाएको छ । पशु सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा बाख्रा पालनमा १ करोड ७४ लाख ३६ हजार लगानी गरेको जनाएको छ । विभिन्न कार्यक्रम मार्फत जिल्लाका हजारौं किसानको आयस्तर बढाउन सरकारी तथा गैरसरकारी निकायको राम्रै सहयोग रहेको पशु प्राविधिक भट्टको भनाइ छ ।

प्रकाशित : श्रावण २१, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?