२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पूरा नहुँदै भत्कियो पुल

गुणस्तरहीन सामग्री प्रयोग
डीआर पन्त

डडेलधुरा — गुणस्तरहीन निर्माण सामग्री प्रयोगका कारण डडेलधुरा र बैतडीका ६ वटा स्थानीय तहलाई जोड्ने पक्की पुल निर्माण कार्य पूरा नहुँदै ५ दिनअघि भत्किएको छ । डडेलधुराका भागेश्वर र अजयमेरु गाउँपालिका सीमानामा रहेको सेरा गाडमा निर्माणाधीन पक्की पुल भत्किएको हो ।

पूरा नहुँदै भत्कियो पुल

उक्त पुलले डडेलधुराका २ गाउँपालिका र बैतडीका ४ वटा गाउँपालिकाकालाई सडक यातायातमा जोड्ने थियो ।

३ वर्षअघि ५ करोडको लागतमा विकोई विल्डर्स काठमाडौंसँग निर्माण सम्झौता भए पनि ढिलो गरी निर्माण सुरु भएको उक्त पुल ढलान गरेको ४ दिनपछि दुवैतर्फका बिम भाँचिएर भत्किएको हो ।

निर्माण कम्पनी, कुलपाते सडक डिभिजनका प्राविधिक र निर्माण कम्पनीका स्थानीय प्रतिनिधिको मिलोमतोमा गुणस्तरहीन सामग्री प्रयोगले बिम भाँचिएपछि निर्माण कार्य पूरा नहुँदै बीचैमा भत्किएको स्थानीयले बताएका छन् । डडेलधुरा सदरमुकामदेखि १७ किलोमिटर दूरीमा रहेको उक्त पुल निर्माणले बैतडीको तल्लो स्वराड क्षेत्रका ४ गाउँपालिकाको दूरी निकै कम हुने थियो ।

स्थानीय नेकपाका कार्यकर्ता दानबहादुर चन्दले उक्त पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको सम्बन्धित निकायलाई जानकारी गराएका थिए । ‘स्थानीय तह, कुलपाते सडक डिभिजन कार्यालयका इन्जिनियर महानन्द जोशीलगायतलाई बारम्बार पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको जानकारी गराएको थिएँ,’ चन्दले भने, ‘निर्माण कम्पनी र सडक डिभिजनका कर्मचारीको मिलोमतोमा अनियमितता गरिएकाले पुल बन्न नपाउँदै भत्किएको हो ।’ पुल निर्माणको अन्तिम चरणमा पुग्दा २ करोड पनि खर्च नभएको स्पष्ट देखिएको चन्दले बताए ।

पुलका बिम निर्माणका लागि आएको सिमेन्ट, सरिया र अन्य निर्माण सामग्री स्थानीय बगरकोट बजारमा सस्तो मूल्यमा बिक्री गरिएको स्थानीय व्यवसायीहरूले वताएका छन् । ‘पुल निर्माणका लागि आएको आधाभन्दा बढी सिमेन्ट बगरकोट र देवल बजारमा बिक्री भइरहेको जानकारी धेरैलाई थियो,’ एक व्यवसायीले भन,े ‘गाउँपालिका र सरोकारवाला निकायलाई पनि यस विषयमा जानकारी थियो । तर,
कसैले चासो नै राखेनन् ।’ निर्माण कम्पनीका कर्मचारीको लापरबाहीसंँगै सडक विभागका प्राविधिकसमेत संलग्न रहेको भागेश्वर गाउँपालिकाका कर्मचारी बताउँछन् ।

‘कमसल निर्माण सामग्री प्रयोग भई रहेको जनगुनासो आएको हो,’ भागेश्वर गाउँपालिकाका कार्यकारी अधिकृत खगेन्द्र भारतीले भने, ‘सडक डिभिजनका इन्जिनियरको प्रत्यक्ष निगरानीमा निर्माण भइरहेको पुलमा स्थानीय तहले कानुनी हस्तक्षेप गर्ने बाटो थिएन ।’ गाउँ कार्यपालिकाबाट निर्णय नै गराएर छानबिन गर्ने तयारी भइरहेका बेला पुल भत्किएको जानकारी गराउँदै कार्यकारी अधिकृत भारतीले भने, ‘वर्षातको समयमा निर्माण नै गर्न नहुने पुल जबर्जस्ती निर्माण गर्ने निर्माण कम्पनी र सम्बन्धित निकायको त्रुटिका कारण पुलको निर्माण कार्य अलपत्र भएको छ ।’

‘कम्पनीका कर्मचारी र सडक डिभिजनबाट हेर्ने जिम्मा पाएका प्राविधिकलाई पुल निर्माणको बारेमा पटक–पटक भागेश्वर गाउँपालिकाका पदाधिकारीहरूले मौखिक चेतावनी दिएका हुन् । गाउँपालिकाका एक कर्मचारीले भने, ‘४० मिटर लम्बाइ भएको पक्की मोटरेबल पुलमा बिम राखेको दुई महिनापछि स्ल्याप राखिएको थियो । उनले भने, ‘स्ल्याब राखिएको चार दिनपछि पुलका बिम बीच भागबाट भाँचिएपछि पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।’

पूल भत्किएपछि स्थानीय प्रशासनले पनि चासो राखेर अनुसन्धान सुरु गरेको छ । डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले प्रारम्भिक अनुसन्धानमा निर्माण कम्पनीको लापरबाहीले पुल भत्किएको जानकारी आएको बताएका छन् । सहायक प्रजिअ अवस्थीले भने, ‘वर्षातको समयमा जबर्जस्ती निर्माण कार्य गरिएको पनि जानकारीमा आएको छ ।’ पुल भत्किएपछि कुलपाते सडक डिभिजन कार्यालयले भने खोलामा आएको बाढीका कारण पुल भत्किएको हुन सक्ने बताएको छ ।

प्रकाशित : श्रावण २२, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?