कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

दोषी पत्ता लगाउन दिनहुँ प्रदर्शन

भवानी भट्ट

कञ्चनपुर — किशोरी हत्या प्रकरणको अनुसन्धानमा ढिलाइ भएको महेन्द्रनगरमा दिनहुँ प्रदर्शन भइरहेको छ । शव भेटिएकै दिनदेखि हत्यारा पत्ता लगाउन माग राख्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

दोषी पत्ता लगाउन दिनहुँ प्रदर्शन

भीमदत्त नगरपालिका–२ उल्टाखामका स्थानीयसँगै महिलाहरू आन्दोलित छन् । उनीहरूले महेन्द्रनगर बजार दैनिक रूपमा आंशिक बन्द गराउँदै यातायात समेत ठप्प गराउँदै आएका छन् ।


जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा पनि दैनिक नाराजुलुस र धर्ना दिएका छन् । मृतक किशोरीका सहपाठीहरूले पनि दबाबमूलक रूपमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले प्रहरीद्वारा अनुसन्धानका नाममा अपराधी भगाउने खेल भइरहेको आशंका गरेका छन् । घटनामा ठूलै व्यक्तिको हात हुन सक्ने समेत उनीहरूको आशंका छ ।


जिल्ला प्रहरी कार्यालयले भने सोधपुछका क्रममा केही नदेखिएपछि पीडित परिवारले आशंका गरिएका व्यक्तिहरूलाई छाडिएको बताए । छाडिएका व्यक्तिलाई फेरि पनि सोधपुछका लागि ल्याउन सकिने कार्यालयले जनाएको छ । ‘यस विषयमा पीडितहरू हामीसँग पनि कुरा गर्दै हुनुहुन्थ्यो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले भने, ‘तर सोधपुछका क्रममा केही नदेखिएपछि छाडेका हौं ।’


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सेठीले अनुसन्धानमा देखिने गरेर उपलब्धि हात नलागेको बताए । उनले अनुसन्धानको अवस्था शून्यजस्तै भएको जानकारी दिए । उनले हालसम्म घटनास्थलसमेत पहिचान गर्न नसकिएको जानकारी दिए । घटना लगत्तै महेन्द्रनगर पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

डीएसपी अंगुर जिसी नेतृत्वको ब्युरोको टोलीले पनि तत्काल केही भन्न सकिने अवस्था नरहेको जनाएको छ । ‘हामी अनुसन्धान गरिरहेका छौं, यति मात्र भन्न सकिने अवस्था छ,’ डीएसपी जिसीले भने, ‘अहिले नै कति नजिक र कति टाढा भन्ने विषय केही पनि भन्न सक्दैनौं ।’

प्रकाशित : श्रावण २३, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?