कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढी–पहिरो रोक्न जैविक तटबन्ध

गणेश चौधरी

टीकापुर — कर्णाली नदी किनारको क्षेत्रमा नदीको बहाव बढ्ने क्रमसँगै खेतीयोग्य जमिन तीव्ररूपले कटान हुन थालेको छ । पक्की तटबन्ध नभएको ठाउँमा नदी कटान बढेको हो ।

बाढी–पहिरो रोक्न जैविक तटबन्ध

रानी जमरा–कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गर्न बाँकी रहेको ठाउँमा कटान बढ्न थालेको हो । नदी कटान तीव्र भएपछि स्थानीय जैविक तटबन्धबाट रोकथामको प्रयासमा जुटेका छन् ।

कर्णाली नदीले टीकापुर नगरपालिकाको शाहीपुर गाउँ नजिक नदी किनारमा बनाइएको बाँध भत्काउन थालेपछि स्थानीय भयभीत बनेका छन् । कटान नियन्त्रण गर्न स्थानीय जैविक तटबन्ध निर्माण गर्न थालेका छन् ।

जैविक तटबन्धका लागि रानी जमरा–कुलरिया कुलो सिँचाइ आयोजना कार्यालयबाट प्लास्टिक डोरी, बोरा तथा जाली उपलब्ध गराइएको छ ।

आयोजनाका प्रमुख सुशील आचार्यले जेठमा मात्र पक्की तटबन्ध निर्माणको ठेकेदारसित सम्झौता भएको र यतिबेला वर्षाका कारण काम सुरु हुन नसकेको बताए ।

‘अहिले कटान भइरहेको ठाउँमा करिब एक किलोमिटर तटबन्ध निर्माण हुन बाँकी छ,’ रानी जमरा सिँचाइ आयोजना प्मुख आचार्यले भने, ‘वर्षायामपछि पक्की तटबन्ध निर्माणको काम हुन्छ । अहिलेलाई जैविक तवरले कटान रोकथामका लागि स्थानीय र रानी जमरा–कुलरिया सिँचाइ आयोजनाको संयुक्त पहल जारी छ ।’

समयमा नदी नियन्त्रण नभए कर्णाली टीकापुर नगरपालिकाको ५, ७ , ८ र ९ नम्बर वडाका गाउँमा कर्णालीको भँगालो पस्न सक्ने खतरा देखिएको स्थानीयवासी बताउँछन् । रानी जमरा–कुलरिया कुलो सिँचाइ आयोजनामार्फत कर्णाली तथा मोहना नदी नियन्त्रणको काम सम्पन्न नभइसकेकाले बाढीको जोखिमबाट पूरै ढुक्क हुने स्थिति नरहेको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बताए । उनले भने, ‘पहिलाको जस्तो डर अब छैन तर पूरै ढुक्क हुने अवस्था भने छैन । बर्सेनि घरखेत कटान हुन्थ्यो । तटबन्ध बनेपछि नदी कटान कम भएको छ । तटबन्ध नभएको ठाउँबाट नदी गाउँमा पस्ने खतरा छ ।’

कर्णाली नदीमा बर्सेनिजसो आउने बाढीका कारण यहाँको खेतीयोग्य जग्गा नदी कटान र डुबानमा पर्ने भएका कारण नदी नियन्त्रणका लागि रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेको छ । नदी नियन्त्रणका लागि बढी खतरा रहेको ठाउँमा पहिलो प्राथमिकताका आधारमा तटबन्ध निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

विगतका वर्षमा बाढीका कारण कैलालीको पूर्वी भेगका गाउँ नै विस्थापित भइरहेका थिए । टीकापुर नगरपालिका–५ शाहीपुरका बासिन्दा विस्थापित भएर टीकापुरको वीरेन्द्र विद्या मन्दिरको जग्गा कब्जा गरी बसेका छन् ।

प्रकाशित : श्रावण २४, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?