२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पहिराेले पैदल बाटो हिँड्न पनि कठिन

अधिकांश गोरेटो बाटो माथिबाट खसेको पहिरोले भत्किएका छन्
मेनुका ढुंगाना

अछाम — रामारोशन गाउँपालिका–७ सुतारमा २ वर्षको अवधिमा ग्रामीण सडकबाट खसेको पहिरोमा परी ६ बालबालिकाको मृत्यु भइसकेको छ । गत वर्ष सुतारका स्थानीय कृष्ण सिंहकी ५ वर्षीया छोरी पूजा सिंहको सडकमा खस्दै गरेको पहिरोको ढुंगा लागेर ज्यान गयो ।

पहिराेले पैदल बाटो हिँड्न पनि कठिन

अर्का स्थानीय मानसिंह अयडीकी ४ वर्षीया छोरी निर्मलाको सडकमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो । ‘डोजर प्रयोग गरेर जथाभावी सडकको ट्रयाक खोल्दा २ वर्षमा ६ बालबालिकाले ज्यान गुमाउनुपर्‍यो,’ स्थानीय एकेन्द्र साउदले भने ।

वर्षाद्मा सडकको पहिरो खसेर गोरेटो बाटोमा पैदल हिँड्न पनि कठिन छ । अधिकांश गोरेटो बाटो माथिबाट खसेको पहिरोले भत्किएका छन् । पैदल हिँड्ने गोरेटो बाटो माथिबाट डोजरद्वारा सडक बनाउँदा अधिकांश गोरेटो बाटो अवरुद्ध भएका हुन् । वृद्धवृद्धा र बालबालिकालाई त यस्तो बाटोमा हिँड्नै सास्ती छ ।

सदरमुकाम मंगलसेनसँगै जोडिएको पीपलतोली बस्तीमा आवतजावत गर्ने बाटो नै बन्द भएको छ । २५ घर रहेको उक्त टोलमा जाने गोरेटो बाटोमै सडक निर्माण हुँदा गोरेटो बाटो खोलामा परिणत भएको स्थानीय कोषराज ढुंगाना बताउँछन् । ‘पहिरोको कारण अस्पतालको क्वाटर र पीपलतालीका दर्जनौं घर जोखिमा छन्,’ ढुंगानाले भने, ‘बाटोमै पहिरो जाँदा पानी परेको दिन केटाकेटी विद्यालय जान पाउँदैनन् ।’

यस टोलका २७ जना बालबालिका पानी परेको दिन स्कुल नजाने गरेको स्थाानीयले बताए । ‘सिकिस्त बिरामी, गर्भवती, सुत्केरी र वृद्धवृद्धालाई अस्पताल लैजाने बाटो छैन,’ स्थानीय धनसरा सुवेदीले भनिन्, ‘आमा समूहले पटक–पटक मर्मतको माग गर्दा पनि कसैले वास्ता गरेका छैनन् । हाम्रा केटाकेटी स्कुल जानबाट वञ्चित छन् ।’ स्थानीय तहले गाउँ–गाउँमा सडक निर्माणलाई प्राथामिकतामा पारेका छन् । तर सडक निर्माणको मापदण्ड कुनैपनि स्थानीय तहले कार्यान्वयन गरेका छैनन् । स्थानीय तह आफैंले पनि सडक निर्माणको कुनै मापदण्ड बनाएका छैनन् । उपभोक्ता समिति र दलका नेतालाई जहाँ मन लाग्यो त्यहीँ सडक निर्माण भइरहेको स्थानीय बासिन्दाहरू बताउँछन् । ‘गाउँका जान्नेबुझ्नेहरू नै आफ्नो घरछेउमा सडक लैजान खोज्छन्,’ सुतारका स्थानीय लाल चँदाराले भने, ‘डोजर प्रयोगमा कडाइ नगरेसम्म विकासको सट्टा विनाश मात्र हुने देखिन्छ ।’

मापदण्ड बनाएर मात्रै नयाँ ट्रयाक खोल्न डोजर प्रयोगका लागि अनुमति दिनुपर्ने भए पनि यो नियम कार्यान्वयन हुन नसकेको इन्जिनियर माधव अधिकारी बताउँछन् ।

प्राविधिक अध्ययन नगरी जथाभावी निर्माण गरिएका सडक र त्यहाँ प्रयोग गरिएका डोजरकै कारण पहिरोको जोखिम बढेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले जनाएको छ । डोजरको प्रयोगपछि अछामका २० बस्ती पहिरोको उच्च जोखिममा छन् ।

६१ भन्दा बढी बस्तीलाई प्रभावित क्षेत्रका रूपमा राखिएको छ । सो योजनाअनुसार १७ हजार ४७६ घरधुरी प्रभावित सूचीमा छन् । त्यस्तै, जिल्लाका ६७ विद्यालय, १५ स्वास्थ्य संस्था, एक सय ३२ खानेपानीका धारा, ४८ कुलो, २१ पानीघट्ट र १४ लघु जलविद्युत् आयोजना पहिरोको उच्च जोखिममा रहेको प्रतिकार्य योजनामा उल्लेख छ ।

प्रकाशित : श्रावण २४, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?