मौसम बदली भए सञ्चार सम्पर्कविहीन

कान्तिपुर संवाददाता

दार्चुला — मौसम बदली भएपछि सोमबार अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका सबै सञ्चार उपकरण बुधबार दिउँसोबाट सुचारु भएका छन् । नेपाल टेलिकमका सबै सेवा भने मौसममा निर्भर छन् ।

मौसम बदली भए सञ्चार सम्पर्कविहीन

मालिकार्जुन गाउँपालिका २ बालशिखरमा रहेको मुख्य टावरसम्म विद्युत् विस्तार नहुँदा सौर्य उपकरणबाट सञ्चालित छन् । मौसममा बदली भए सेवा प्रभावित हुने गरेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।


लगातार एक दिनभन्दा बढी समय बदली भए र दिनभर घाम नपरे सोलार प्रणालीको ‘पावर डाउन’ हुने हुँदा उक्त समस्या सृजना भएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । उनले भने, यो समस्या हिउँदमा बढी झेल्नुपर्छ । समय–समयमा सोलारको पावर डाउन हुँदा यहाँका उपभोक्ताहरू मौसममा बदली भएको बेला समस्या खेप्दै आएका छन् । यसबाट छुटकारा पाउन बालशिखर टावरसम्म विद्युत् पुर्‍याउनुको विकल्प नभएको उनको भनाइ छ ।

जिल्लाकै मुख्य रिपिटर टावर नै घामको भरमा सञ्चालन भएको हुँदा बादल लागेमा पूरै जिल्लाको अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ । तीन वर्ष अगाडि नेपाल विद्युत् प्राधिकरणले ठेक्कामार्फत बालशिखरको टावरसम्म विद्युत् विस्तारका लागि ठेक्का सम्झौता गरे पनि निर्माण व्यवसायीको ढिलासुस्तीले त्यहाँसम्म विद्युत् पुग्न सकेको छैन । ठेक्का म्याद पटक–पटक थपिए पनि टावरसम्म विद्युत् पुगेको छैन । जिल्लाको खण्डेश्वरी, सितोला, हुतीको कैचुला र व्यासमा रहेको स्काई टावरमा समेत नियमित घाम नलाग्दा फोन सेवा प्रभावित बनेको छ ।


नेपाल टेलिकमको लापरबाहीले सेवाग्राहीले समस्या झेल्नुपरेको लटिनाथका स्थानीय नरेन्द्रबहादुर सिंहले बताए । ‘मोबाइल फोनले राम्ररी काम नगरेको एक महिना बढी भइसक्यो,’ उनले भने, ‘बिहान बेलुकी फोन गर्न पाइँदैन । टावरमा घाम लाग्यो भने मात्र दिउँसोको समयमा काम गर्छ ।’ अलिअलि बादल लाग्यो भने पनि फोन नलाग्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २५, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?