कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहादुर विमला

‘सुरुमा हात्तीसँग डराए पनि अब सामान्य लाग्न थालेको छ । तर कहिलेकाहीं हात्ती रिसाए लडाउने र आक्रमणको जोखिम उत्तिकै हुने भएकाले सचेत रहन आवश्यक देखिन्छ’
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, पिपरैयाकी विमला चौधरी हात्ती भन्नेबित्तिकै ठूलो र हिंस्रक जनावर भन्ने सम्झिन्थिन् । उनको घर निकुञ्ज छेवैको गाउँमा भएकाले जंगली हात्तीको बथान बस्तीमा पसेर वितण्डा मच्चाएको कैयौंपटक देखेकी पनि थिइन् । त्यही भएर उनी हात्ती देख्दा निकै डराउँथिन् ।

बहादुर विमला

अहिले तिनै विमला हात्तीको चालक (माहुते) बनेकी छन् । उनी एक वर्षदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको रतनकली हात्तीको माहुते भएर काम गरिरहेकी छन् । बिहानैदेखि हात्तीको स्याहारमा खटिने र दिउँसो त्यही हात्तीमा चढेर चराउन लैजाने जिम्मेवारी उनकै हो । हात्ती सफारी गर्ने पर्यटक आए तिनलाई निकुञ्जभित्र घुमाउन पनि उनी जान्छिन् ।

‘अहिले त रातदिन हात्तीसँगै बिताउनुपरेको छ,’ विमला भन्छिन्, ‘सानो छँदा डर लाग्थ्यो, अहिले रमाइलो लागिरहेको छ ।’ उनी गत वर्ष लोकसेवा पास गरेर माहुतेमा नियुक्त भएकी हुन् । त्यसअघि उनले हात्तीसारमै ढकरिया (स्वयंसेवक) भएर माहुतेको काम सिकेकी थिइन् । उनलाई माहुते हुन घरपरिवारले पनि सहयोग गरेको छ । आफन्तकै सहयोगमा लोकसेवा पास गर्न सफल भएको उनी बताउँछिन् ।

एसएलसी उत्तीर्ण उनलाई प्राविधिक शिक्षा पढ्ने इच्छा थियो । तर उनका दाइ इन्द्रबहादुर चौधरी शुक्लाफाँटामै माहुते थिए । दाइसँगै कहिलेकाहीं घुम्न उनी पनि हात्तीसार पुग्थिन् । दाइले हात्तीमा चढेर चराउन लगेको तथा पर्यटक घुमाएको देख्दा उनको पनि मन बदलियो । त्यसपछि उनले माहुते हुने सोच बनाएकी हुन् । ‘दाइकै कारण म माहुते बनेकी हुँ,’ उनले भनिन्, ‘अहिले राम्रै भएको छ, हात्ती चलाउन पनि सजिलै हुने रहेछ भन्ने महसुस भएको छ ।’

सवारीसाधनको चालकमा समेत महिला न्यून मात्रामा छन् । झन् ठूला सवारीसाधनमा त महिला भेट्टाउनै गाह्रो छ । तर विमलाका लागि यो कुरा अपवाद बनेको छ । उनी अन्य माहुतेसरह हात्तीलाई नियन्त्रणमा लिएर चाहेअनुसार डोर्‍याउन सक्छिन् । उनलाई सुरुमा अप्ठ्यारो लागे पनि अहिले सामान्य काम जस्तै महसुस भएको छ । ‘हात्ती चलाउन त्यति अप्ठ्यारो छैन,’ उनले भनिन्, ‘कहिलेकाहीं बदमासी गर्दा समस्या हुन्छ, तर मैले जिम्मा पाएको हात्ती पाको र सोझो भएकाले खासै समस्या हुँदैन ।’

विमलाले रेखदेख गर्ने हात्ती रतनकली निकुञ्जकै पाको हात्ती हो । यसको उमेर ७५ वर्ष पुगेको छ । २०३६ मा चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ सरुवा गरी ल्याइएको हो । रतनकलीसँगै चितवनबाट ल्याइएको पवनकली नामको हात्ती मरिसक्यो । पर्यटकको रोजाइमा पनि यही हात्ती पर्छ । हिँड्दा सहज हुने र बदमासी पनि नगर्ने भएकाले जतासुकै जान पनि सजिलो हुने गरेको विमलाले बताइन् । सुरुमा उनलाई हात्तीमा चढ्न हौदा र गद्दी लगाउनु पथ्र्याे । तर अहिले त्यो बिना पनि सहजै नियन्त्रण गर्न सक्छिन् । हरेक दिन नयाँ सिकाइ अनुभव हुने गरेको उनी बताउँछिन् ।

चराउन जाँदा सबै हात्ती सँगै हुने भएकाले केही समस्या परे पनि एक–अर्काले सहयोग गर्ने उनले जानकारी दिइन् । एक हात्तीका लागि ३ माहुते हुन्छन् । विमला माहुते भएको रतनकलीमा पनि तीनै जना छन् । बिहान ४ बजे उठेर हात्तीको स्थान सफा गर्ने, त्यसपछि २ जना घाँस काट्न जान्छन् । एक जनाले खाना बनाउने काम गर्छन् । ९/१० बजेतरि खाना खाएर एक जनाले चराउन लैजान्छन् भने अरूले हात्तीसार सफा गर्ने र हात्तीको खाना बनाउँछन् । धान, गुड र नुन खरमा बाँधेर पोका (कुच्ची) बनाइन्छ । एक हात्तीका लागि दैनिक १५ किलो धान, डेढ किलो गुड र २५ ग्राम नुन निर्धारण गरिएको छ । यसबाट ८० देखि १ सय पोकासम्म कुच्ची बन्छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले ७ हात्ती छन् । हात्तीसारमा ३, शुक्लाफाँटा घाँसेमैदानको पोस्टमा २ र मालुमेला पोस्टमा २ हात्ती राखिएका छन् । हात्तीसारमा रतनकलीसँगै शारदाकली र नारायणप्रसाद छन् । शारदाकली दृष्टिविहीन हो भने नारायणप्रसाद यहीं जन्मिएको एक मात्र हात्ती हो । मालुमेलामा रूपकली र सिद्धप्रसाद तथा शुक्लाफाँटामा सुर्तीकली र लवप्रसाद राखिएका छन् । रूपकली नारायणप्रसादकी आमा हुन् ।

माहुतेलाई हात्ती नै प्यारो
सुरुमा काम सिक्न ढकरिया (स्वयंसेवक) का रूपमा हात्तीसार पसेका भीमदत्त नगरपालिका १२, ओदालीका २८ वर्षीय आनन्द सुनाहालाई अहिले यही पेसा प्यारो लाग्छ । उनी हात्तीसँगै रमाउन चाहन्छन् । बिहानदेखि साँभm अबेरसम्मै उनी हात्तीकै स्याहारसुसारमा लागेका हुन्छन् ।

‘अब त हात्तीसँगै रमाइलो लाग्न थाल्यो,’ आनन्द भन्छन्, ‘हात्तीले पनि हामीलाई नै राम्रो मान्छ ।’ उनी दृष्टिविहीन शारदाकलीका माहुते हुन् । १२ वर्षदेखि उनी शारदाकलीसँगै छन् । सुरुमा हात्तीसँग डराउने उनलाई पनि अब भने सामान्य लाग्न थालेको छ । तर कहिलेकाहीं हात्ती रिसाएमा लडाउने र आक्रमण गर्ने जोखिम हुने भएकाले त्यसबाट सचेत रहनुपर्ने उनी बताउँछन् । ‘मलाई पनि १०/१२ पटक लडाइसक्यो,’ उनी भन्छन्, ‘उसले मन नपराएको ठाउँमा लैजाँदा र नयाँ मान्छे आउँदा बढी खतरा हुन्छ ।’

शारदाकलीलाई ५ वर्षअघि क्षयरोग लागेका बेला उपचारका लागि २ वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा लगिएको थियो । त्यहाँ पनि आनन्द नै गएका थिए । अब शारदाकली र आनन्दबीच आत्मीय सम्बन्ध नै भइसकेको अन्य कर्मचारी बताउँछन् । ‘आँखा नदेखे पनि उसले सबैलाई राम्ररी चिन्छ,’ आनन्दले भने, ‘बूढो भएकाले अब कमजोर पनि हुन लागेको छ ।’

माहुतेहरूलाई अरू समस्या नभए पनि बर्खामा घाँस काट्न र जंगली हात्ती आएका बेला सुरक्षा गर्न निकै गाह्रो हुन्छ । जंगली हात्ती आउँदा त ज्यान जोगाउनसमेत मुस्किल पर्ने गरेको उनीहरू बताउँछन् । ‘त्यतिबेला रातमा पनि ड्युटी गरेर बस्नुपर्छ,’ अर्काे माहुते मनपुरन सुनाहाले भने, ‘हात्तीको आक्रमण हुने निकै खतरा हुन्छ ।’ बर्खामा जंगलमा घाँस काट्न जाँदा सर्प र अन्य वन्यजन्तुको जोखिमसमेत त्यत्तिकै हुने उनले बताए ।

शुक्लाफाँटामा अहिले ३ वटा भाले हात्ती छन् । तिनीहरू सबै जवान हुन लागेकाले नियन्त्रण गर्न गाह्रो हुन सक्ने माहुतेहरू बताउँछन् । यहीं जन्मिएको नारायणप्रसाद १० वर्षको पुग्यो भने चितवनबाट ल्याइएका लवप्रसाद र सिद्धप्रसाद १४/१५ वर्षका भए । ‘जवान हात्तीमा चढदा लडाउने निकै डर हुन्छ,’ हात्तीसारका दरौगा रामविलास थारूले भने, ‘त्यतिबेला माहुतेले नियन्त्रण गर्न नसके ठूलो दुर्घटना हुने खतरा हुन्छ ।’ उनले अहिलेदेखि त्यसलाई सही तरिकाले नियन्त्रणमा राख्नुपर्ने बताए ।

शुक्लाफाँटामा यसअघि एक भाले हात्तीको अक्रमणबाट एक माहुतेको खुट्टा भाँचिएको थियो । २०५७ मा बर्दियाबाट सरुवा भई आएको मोतीप्रसादले माहुते फागु चौधरीको खुट्टा भाँचिदिएको थियो । त्यसलाई चराउन लैजान तथा बाँध्न नसकिने अवस्था आयो । त्यसपछि चितवन सरुवा गरिएको रामविलासले बताए ।

अहिले निकुञ्जमा दरबन्दीअनुसार २१ जना माहुते हुनुपर्ने भए पनि ८ जना मात्रै छन् । १३ जना करारमा कार्यरत रहेको रामविलासले बताए । यसका साथै २४ घण्टा काम गर्नुपर्ने भए पनि अन्य सेवा सुविधा नभएको उनले बताए । ‘जोखिमपूर्ण काम छ, चौबीसै घण्टा खटिनुपर्छ,’ उनले भने, ‘तर सेवा सुविधा त्यसअनुसारको छैन ।’

प्रकाशित : श्रावण २६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?