४ वर्ष बित्यो पुल बनेन

कान्तिपुर संवाददाता

बझाङ — सेती नदीको पानकोटमा पर्ने पक्की पुल ४ वर्ष बित्दा पनि निर्माण भएको छैन । पुल निर्माण २०७३ असारमा सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

४ वर्ष बित्यो पुल बनेन

सेतीपारि रहेको जिल्लाको करिब आधा भूभागलाई सडक सञ्जालमा जोड्ने यो पुल निर्माण हुन नसक्दा वर्षाैंअघि निर्माण सम्पन्न भएका सडक पनि बेकामे भएका छन् ।

सेती नदीपारि रहेका जिल्लाका साबिकका २१ गाविस (हाल ६ वटा स्थानीय तह) लाई सडक सञ्जालसँग जोड्ने यो पुलको ठेक्का २०७२ वैशाखमा भएको थियो । तत्कालीन जिल्ला विकास समितिको ६ करोड ७८ लाखको लागतमा ठेकेदार कम्पनी नीलगिरि निर्माण सेवा र जागृति निर्माण सेवाले संयुक्त रूपमा निर्माणको जिम्मेवारी पाएका थिए ।

कार्ययोजनाअनुसार काम नभएकाले तोकिएको समयमा पुल निर्माण नभएको भनेर ठेक्काको अवधि २०७४ असार मसान्तसम्म थप गरिएको थियो । पछि ठेकेदार कम्पनीले पुलको डिजाइनै गलत भएको भन्दै पूर्ववत् डिजाइनमा काम गर्न नसकिने बताएको थियो ।

पूर्ववत् डिजाइनअनुसार नदीको दुवै किनारमा ब्लक बनाएर नदीको बीचमा १६ मिटर गहिरो प्वाल पारी पिलर गाड्नुपर्ने थियो । यद्यपि माटो परीक्षण गर्दा कमजोरी भएका कारण नदीको बीचमा कडा खालको चट्टान भेटिएकाले त्यति गहिरो प्वाल बनाउने प्रविधि नेपालमा उपलब्ध नभएको भन्दै डिजाइन नै परिवर्तन गर्नुपर्ने ठेकेदार कम्पनीले माग गरेको थियो ।

सुरुमा गरिएको कम्पोजिट (आधा स्टिल र आधा आरसीसी) मोडललाई परिवर्तन गरी स्टिल ट्रस्ट प्रविधिको पुलको नयाँ डिजाइन तयार गरिएको थियो । पुलको नयाँ डिजाइन तयार भइसकेपछि पनि पुरानै ठेक्का सम्झौताको म्याद २०७५ साल असार मसान्तसम्म थप गरी सहायक संरचना (पुलसम्म पुग्ने सडक र नदी वारिपारिका पिलर) निर्माण गर्न लगाइएको जिल्ला प्राविधिक कार्यालयले बताएको छ ।

पुरानो ठेक्का सम्झौताअनुसारको रकमले नयाँ डिजाइनमा काम नहुने भएपछि सो ठेक्का असार मसान्तमा भंग गरिएको र अहिले सुपर स्ट्रक्चर (पुलको मुख्य संरचना) निर्माणका लागि नयाँ ठेक्काको प्रक्रिया सुरु भएको जिल्ला प्रविधिक कार्यालयका प्रमुख नृपराज जोशीले बताए । सुरुवाती ठेक्का तत्कालीन जिल्ला विकास समितिले गरेको भए पनि नयाँ ठेक्काको प्रक्रिया डोलिडारको केन्द्रीय कार्यालयले थालेको र केही दिनभित्र टेन्डर आह्वान गर्ने तयारी भइरहेको उनले बताए ।

लामो समयसम्म विभिन्न बहानामा पुल निर्माण रोकिएकोप्रति यहाँका बासिन्दा भने आक्रोशित भएका छन् । समयमा पुल नबन्दा ग्रामीण सडकमा भएको लगानी पनि त्यसै खेर गइरहेको जयपृथ्वी नगरपालिकाका चन्द्रबहादुर सिंहले बताए । उनले भने, ‘जनताले घरघरबाट चन्दा उठाएर सडक बनाए । गाउँमा सडक छन् तर पुल नबन्दा गाडी चल्न सकेका छैनन् ।’ पुल नबनेका कारण निर्माण सम्पन्न भइसकेका सडकमा पनि गाडी चल्न नसक्दा स्थानीयहरूको गाडी चढ्ने आशा निराशामा परिणत भएको उनको भनाइ छ ।

अधिकांश स्थानीयले ठेकेदारको लापरबाहीमा राजनैतिककर्मीहरूको संरक्षण हुने गरेका कारण जिल्लाको विकास नै अवरुद्ध भएको टिप्पणी गर्न थालेका छन् । जिल्लाका धेरै जसो पुल, सरकारी भवन र सडकहरू ठेकदारको लापरबाहीका कारण ठेक्का भएको ८ वर्ष पुगिसक्दा पनि निर्माण हुन सकेका छैनन् ।

प्रकाशित : श्रावण २६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?