कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फेरिँदै राउटे जीवनशैली

मान्छे देखेर भाग्ने राउटे बालबालिका अहिले विद्यालय पोसाकसहित सफा र चिटिक्क परेर पढ्न जान्छन्
डीआर पन्त

रज्यौडा (डडेलधुरा) — घुमन्ते जीवन बिताउँदै आएका धर्मसिंह रजवार (राउटे) लाई ३४ वर्षअघि जोगबुढाको रज्यौडा पुग्दा सपना जस्तै लागेको थियो ।

फेरिँदै राउटे जीवनशैली

‘म निद्रामै सपना देखिरहेको छु जस्तो लागेको थियो । त्यतिबेलाको सपना अहिले पनि टुटेको छैन । कहिलेकाहीं लाग्छ, अहिले पनि सपनै देखिरहेको छु,’ उनले विगत सम्झँदै भने, ‘यसरी घर होला, छोराछोरी पढ्न पाउलान्, कोही विदेश पुग्लान् र कोही घरमै मेरो सेवा गर्लान् । घुमन्ते जीवनमा यी सबै सपना जस्तै थिए ।’

उनी जंगलबाट गाउँ छिर्दा ३४ वर्षका थिए । अहिले ६८ वर्ष पुगे । उनीसँग ३४ वर्ष जंगल चहारेको सम्झना ताजै छ । बुवा, आमा र आफ्नो टोलीका मुखिया जता गए उतै उनको संसार थियो । त्योभन्दा बाहिर पनि संसार छ भन्ने सुनेका थिए, तर देखेका थिएनन् । एकैपटक उनले ०३४ सालमा सुर्खेतको जंगलबाट कैलालीको सोल्टा झर्दा मात्र नयाँ संसार देखेका हुन् । ‘खै कल्पना पनि थिएन, कुनै दिन यसरी मान्छे जस्तै भएर जीवन काट्नुपर्ला भनेर ।’

छोराछोरी बोकेर जंगल–जंगल डुल्नु, गिठ्ठा, तरुल, कन्दमूल खोज्नु, पुरुषले सिकार गरी ल्याएको जंगली पशुपक्षी पोलेर सबैलाई खुवाउनु । आधा जीवन यसरी नै काटेकी कुणी राउटेको कथा पनि धर्मसिंहको भन्दा अलग छैन । आधा जीवन जंगलतिर भौंतारिएर बिताएको विगत उनले सम्झन चाहिनन् र भनिन्, ‘खै आज पनि ठूलो संख्यामा राउटे जंगलमै छन् भन्ने सुन्दा अचम्म लाग्छ । आफ्ना दिन सम्झेर रोइरहन्छु ।’

अहिले छोराछोरी छन्, घर छ, कमाइ खाने थोरै भए पनि जमिन छ, इष्टमित्र, भाइबन्धु सबैसँग बेला मौका भेट भइरहने उनले सुनाइन् । भन्छिन्, ‘पहिलेको जिन्दगी पनि खै के जिन्दगी ? पशुपक्षी र हामीमा कुनै भिन्नता थियो भन्ने मलाई लाग्दैन ।’ तर आजभोलि उनी तरकारी खेती गर्छिन् । आफैं स्थानीय बजारमा लगेर मूल्य तय गरी तरकारी बेच्छिन् । घर फर्कंदा दैनिक उपभोग्य सामानसहित नाति–नातिनीका लागि चाहिने सामान पनि किनेर ल्याउँछिन् । जीवन यस्तो पनि हुन्छ भन्ने उनले कहिलै कल्पनै गरिनन् ।

घुमन्तेबाट किसान बने राउटे
‘सपना जस्तो न विपना जस्तो,’ ५५ टेकेकी कुणी भन्छिन्, ‘अरूको मरेर पुनर्जन्म हुन्छ, हामी राउटेहरूको जिउँदै पुनर्जन्म भएको छ ।’ जंगलबाट गाउँमा पुन:स्थापना भएपछिका उनले २५ वर्ष त्यत्तिकै बिताइन् । ३० वर्षकी छँदा गाउँ छिरेकी कुणीले भनिन्, ‘अरू ५५ वर्ष लाग्दा बुढा हुन्छन् मैले भर्खर जीवन थालेकी छु ।’ आफूसँग भएको ३ रोपनी जग्गामा तरकारी खेती गरेको उनले सुनाइन् । भन्छिन्, ‘१२/१५ कुखुरा छन्, ४ बाख्रा छन्, दुहुनो गाई छ । अब त पूरै किसान भइसकें ।’ रज्यौडा गाउँकी कुणीको मात्र जीवन सुरु भएको छैन, जंगली जीवन र संस्कृति छाडेर गाउँका सबै राउटे परिवार कृषिमा आबद्ध भएसँगै उनीहरूको जीवनशैली फेरिएको हो ।

यिनीहरूको जस्तै परशुराम नगरपालिकाको आमपानी र रज्यौडाका राउटे परिवार अहिले नयाँ जीवन पाएको बताउँछन् । १८ वर्षीय राजुराम राउटे भन्छन्, ‘बुवा–आमाले सुनाएका जंगलका कथा कुनै दन्त्यकथाभन्दा फरक लाग्दैनन् । विश्वासै लाग्दैन कि आज पनि मानिस जंगलमा बस्छन् र घुमन्ते जीवन बिताइरहेका छन् भनेर ।’

५ वर्षमै जीवनशैली बदलियो
मान्छे देखेर भाग्ने राउटे बालबालिका अहिले सफा र चिटिक्क विद्यालय पोसाकसहित पढ्न जान्छन् । खोलामा मारेका माछा र जंगलबाट ल्याएको कन्दमूल पोलेर खाने उनीहरू सबैका घरमा अहिले चुलो छ । अरूले जस्तै बिहान–साँझ भान्सामा खाना पाक्छ । सबैले करेसाबारी बनाएका छन् । सरकारले निर्माण गरिदिएका पक्की घर छन् । घरघरमा शौचालय छन् । गाउँमा सरसफाइ पनि गरिन्छ ।

५ वर्षकै अवधिमा यति ठूलो परिवर्तन भएको देख्दा धेरै छक्क पर्छन् र भन्छन्, ‘राउटेहरू अब आएर बल्ल रजवार भएका छन् ।’ आफूलाई भारतको कत्युरी वंशका ठकुरी बताउने उनीहरू आफूलाई रजवार भनेको मन पराउँछन् । ‘जे भने पनि हामी जंगलबाट आएका राउटे नै हौं,’ हरिसिंह राउटे भन्छन्, ‘अब बिस्तारै हामी समाजको मूल प्रवाहमा मिसिन थालेका छौं ।’

रज्यौडा र आमपानीमा बस्दै आएका राउटे परिवारलाई सामाजिक मूल प्रवाहमा ल्याउन धेरैले प्रयास गरे, तर सकेनन् । दर्जन बढी गैरसरकारी संस्था, स्थानीय निकायदेखि धेरैले गरेको प्रयास सार्थक भएन । तर गाउँकै राउटे महिला शान्तिदेवी राउटेले कम्मर कसेपछि केही वर्षमै राउटे समाज पूरै परिवर्तन भएको हो । कृषि विकास कार्यालय डडेलधुराका प्रमुख दिलबहादुर विष्ट भन्छन्, ‘छोटो अवधिमा भएको यो ठूलो परिवर्तन हो ।’

सामाजिक परिवर्तनमा प्रेरणादायी महिला शान्ति राउटे र अन्य राउटे समाजका अगुवाहरूको प्रयासले पछिल्लो समय उनीहरूको जीवनशैली परिवर्तन भएको छ । तरकारी बीउ उत्पादन केन्द्र डडेलधुराको सहयोगमा सुरु भएको आधुनिक तरकारी खेतीले राउटे परिवारलाई विस्तारै असल कृषकका रूपमा परिवर्तन गरिरहेको छ ।

‘हामीले केही वर्षअघि मात्र राउटे परिवारलाई तरकारी खेतीतर्फ उन्मुख गर्ने योजना बनाएका हौं,’ विष्टले भने, ‘यसअघिका थुप्रै प्रयास सार्थक हुन सकेनन् ।’ केन्द्रले राउटेहरूलाई व्यावहारिक रूपमै दिएको तरकारी खेतीसम्बन्धी तालिमसँगै अन्य सचेतना दिन थालेपछि उनीहरू परिवर्तन हुन थालेका हुन् । उनले भने, ‘सुरुका वर्षमा ७ परिवारलाई प्रत्यक्ष निगरानीमा तरकारी खेती गर्न लगाएपछि उनीहरूले लिएको मुनाफा देखेर सबै आकर्षित भएका हुन् । अहिले भने ६१ परिवार तरकारी खेतीसँगै कुखुरा, बाख्रा पाल्न थालेका छन् ।’

जंगलको गिठ्ठाभन्दा गाउँको तरकारी नै मीठो लाग्ने ७३ वर्षीय धनवीर राउटे बताउँछन् । आफ्नो करेसाबारी देखाउँदै भन्छन्, ‘छोरा–बुहारी दिनभर यिनै दुई गरामा के–के गर्छन् के–के ?’ गाउँका सबै परिवर्तन भएपछि आफूलाई पनि रमाइलो लागेको उनले बताए ।

आफूले लगाएको धोती देखाउँदै धनवीरले भने, ‘लुगालत्ता पनि छोराहरूले यस्तो यस्तो पो ल्याउन थालेका छन् । केही वर्ष अरू बाँच्न पाइयो भने के–के देखिने हो कुन्नि ?’ आधाभन्दा बढी जीवन दार्चुला देथलाका गुफामा बिताएका धनवीरले अबको पुस्ता भने साँच्चै मान्छे भएर बाँच्न थालेको बताए ।

द्वन्द्वका बेला धेरै राउटे परिवार सामाजिक असुरक्षाका कारण गाउँ छाडेर गए पनि आमपानी र रज्यौडामा रहेका ६१ परिवारभन्दा बढी राउटेका लागि नगरपालिकाले पनि विभिन्न कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ । ‘मुख्य कुरा राउटे बालबालिकालाई उचित शिक्षाको खाँचो छ,’ परशुराम नगरप्रमुख भीमबहादुर साउदले भने, ‘राउटे बालबालिकालाई उच्च शिक्षासम्म अध्ययन गराउन सके नयाँ पुस्ता पूरै परिवर्तन हुन सक्ने थियो ।’

उनीहरूको पुस्तौनी सीप आधुनिकीकरण गर्ने र नयाँ पुस्ताका बालबालिकालाई उच्च शिक्षा अध्ययन गराउन सके जंगलमा रहेका अन्य राउटेलाई समाजको मूलधारमा आउन प्रेरणा मिल्ने साउदको विश्वास थियो ।

प्रकाशित : श्रावण २६, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?