कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

धनी गरिबको सूचीमा परेको भन्दै विरोध

मेनुका ढुंगाना

अछाम — गरिब परिचयपत्र बाँड्ने क्रममा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ६ तोलीका स्थानीयले वास्तविक गरिबले परिचयपत्र नपाई मापदण्डमा नपर्नेहरूले पाएको भन्दै वडा कार्यालय तोडफोड गरेका छन् । कार्यालयका कर्मचारीलाई हातपातसमेत गरे ।

धनी गरिबको सूचीमा परेको भन्दै विरोध

‘तोलीमा १० वटा गरिबी परिचयपत्र वितरण गसिकेपछि ६ जना स्थानीयले कर्मचारीलाई कुटपिट गरे’ पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रसाशकीय अधिकृत अष्टराज गौतमले भने ‘विवादका कारण त्यो ठाउँमा गरिबी परिचयपत्र बाँड्न सक्ने स्थिति छैन ।’

वडा कार्यालयमा संकलित राजस्वसमेत तोडफोडका बेला हिनामिना भएको बताउँदै गौतमले क्षतिको यकिन वितरण नआएको बताए । घटनामा संग्लग्न स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल अन्य वडामा गरिबी परिचयपत्र वितरण सुरु गरिएको गौतमले बताए । ०६८/६९ मा सर्वेक्षण गर्दा गरिब भएका परिवारका सदस्य अहिले सरकारी जागिरे र आर्थिक स्थिति बलियो भइसकेकाले पनि विरोध हुन थालेको उनले बताए ।

पूर्वयोजनाअनुसार नै तोलिमा कर्मचारीमाथि हातपात भएको बताउँदै पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले गरिबी परिचयपत्र वितरणमा कठिनाइ भएको बताइन् । ‘धनीले गरिबी परिचयपत्र पाएको हो भने उजुरी आउनुपर्‍यो, छानबिन गरेर गरिबलाई दिने प्रक्रिया अघि बढाउँछौं ।’ उनले भनिन् ‘परिचयपत्र वितरणको लागि सर्वेक्षण गरिसकेपछि मात्रै नगरपालिका गठन भएकाले यसमा नगरपालिकाको कुनै संलग्नता छैन ।’ जिल्लाका अन्य स्थानीय तहहरूमा पनि वास्तविक गरिबले परिचयपत्र नपाएको र धनीले पाएको भन्दै विरोध भइरहेको छ ।

गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण बोर्डले संकलन गरेको तथ्यांकअनुसार अछाममा झन्डै ४७ प्रतिशत गरिबी रहेको पाइएको छ । तथ्यांकअनुसार यस जिल्लामा १० हजार ७१ घरपरिवार अति गरिब, ६ हजार ४ सय ६४ मध्यम र ४ हजार ३ सय १९ घरपरिवार सामान्य गरिब रहेको तथ्यांकमा उल्लेख छ । अछाममा १० वटा स्थानीय तह छन् । यीमध्ये सबैभन्दा बढी ढकारी गाउँपालिकामा ६९ प्रतिशत गरिबी रहेको पाइएको छ । उक्त गाउँपालिकामा २ हजार २ सय ५७ परिवार गरिबीको रेखामुनि देखिएका छन् ।

पञ्चदेवल विनायक नगरपालिकामा ६६ दशमलव ७ प्रतिशत गरिबी देखिएको छ । यस नगरपालिकामा २ हजार ६ सय ७२ गरिब रहेको बोर्डका सूचना प्रविधि अधिकृत भीमबहादुर चलाउनेले बताए । तथ्यांकअनुसार तुर्माखाद गाउँपालिकामा गरिबी दर सबैभन्दा न्यून भएको स्थानीय तह देखिएको छ । तुर्माखाँद गाउँपालिकामा ३१ दशमलव ४ प्रतिशत रहेको छ ।

गरिब घरपरिवारलाई रातो, पहेंलो र नीलो गरी ३ प्रकारको परिचयपत्र तयार गरी हरेक घरपरिवारको विवरणसहित १० वटै स्थानीय तहमा वितरणका लागि हस्तान्तरण भइसकेको जिल्ला समन्वय समितिको कार्यालयले जनाउके छ । अति गरिबले रातो, मध्यमले पहेंलो र सामान्य गरिबले निलो परिचयपत्र पाउनेछन् । उक्त परिचयपत्र आफ्नो गाउँ तथा नगरपालिकाबाट लिन सक्ने व्यवस्था मिलाइएको छ ।

बोर्डले तथ्यांकहरूलाई विभिन्न १८ वटा सूचकहरूमा मापन गरेर तीन तहको गरिबीमा राखेको बताएको छ । तीनै तहका गरिब परचियपत्र पाएका व्यक्तिहरूलाई हाललाई स्वास्थ्य बिमा नि:शुल्क गरिएको बताइएको छ ।बोर्डले जिल्लामा आर्थिक वर्ष ०६८/६९ मा सामाजिक परिचालकहरूद्वारा तथ्यांक संकलन गराएको थियो । त्यही तथ्यांकलाई विश्लेषण गरी अति गरिब, मध्यम, सामान्य र गैरगरिबमा विश्लेषण गरिएको कार्यालयले जनाएको छ ।

तथ्यांक संकलनका क्रममा गरिबीको सूचीमा पर्नेहरू गैरगरिब तथा गैरगरिबीको सूचीमा पर्नेहरू गरिबमा परेको भेटिए उजुरी दिन सकिने अधिकृत चलाउने बताउँछन् । परिचयपत्र ५/५ वर्षमा पुनरावलोकन हुने चलाउनेले बताए । हाल केही स्थानीय तहले परिचयपत्र वितरण गर्न सुरु गरेका छन् ।

प्रकाशित : श्रावण २७, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?