कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्यटन विकास समिति गठन

अर्जुन शाह

धनगढी — जिल्ला समन्वय समिति कैलालीको दोस्रो साधारणसभाले ‘जिल्ला पर्यटन विकास समिति’ गठन गरेको छ । समिति गठन भएपछि पर्यटन क्षेत्रका विकास लागि सञ्चालन हुने गतिविधिहरू एकीकृत तथा योजनाबद्ध रुपमा संचालन हुने बताइएको छ ।

पर्यटन विकास समिति गठन

जिल्लामा रहेका १३ वटै स्थानीय तहले तर्जुमा गरेका पर्यटनसम्बन्धी कार्यक्रमहरू अब जिल्ला पर्यटन समितिको समन्वयमा एकीकृत रुपमा संचालन हुने जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताएका छन् ।

थापाले भने ‘सबै तहका योजनाहरूलाई एकीकृत गरी गुरुयोजना बनाएर कार्य सञ्चालन गर्नेछौं ।’ कैलाली जिल्लाको पर्यटन प्रवद्र्धन गर्न जिल्ला समन्वय समितिले हाल ‘कैलाली भ्रमण वर्ष ०७५’ सञ्चालन गरिरहेको छ ।

जिल्ला सभाले उक्त विकास समिति परिचालनका लागि ‘जिल्ला पर्यटन विकास समिति गठन तथा परिचालन निर्देशिका २०७५’ समेत गरेको छ । समिति जिल्ला समन्वय समितिका संयोजक अध्यक्ष रहने गरी गठित पर्यटन विकास समितिमा सबै स्थानीय तहका प्रमुखहरू, निजी क्षेत्र, पर्यटन व्यवसायी संस्थाहरू, सञ्चार क्षेत्र लगायतको प्रतिनिधित्व छ ।

प्रदेश–७ को प्रवेशद्वार रहेको कर्णाली चिसापानीदेखि उत्तरमा त्रिवेणीधाम क्षेत्र यस जिल्लाका पर्यटकीय गन्तव्य हुन् । टीकापुर पार्क पहिल्यैदेखि प्रसिद्ध छ । अहिले पनि बर्सेनि हजारौं आन्तरिक पर्यटकहरू टीकापुर पार्क अवलोकन गर्न त्यहाँ पुग्छन् । उत्तरपश्चिममा राजकाँडा क्षेत्र कैलाली जिल्लाको अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । राजकाँडाबाट सूर्य उदाएको हेर्न सकिने मालिका मन्दिर क्षेत्र छ ।

मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी ताल, घोडाघोडी मन्दिर, बेहेडाबाबा मन्दिर, गोदावरी धाम, कम्पासेधुरा डाँडा कैलालीका पर्यटकीय गन्तव्य हुन् । खानीडाँडा, बुढीतोला क्षेत्र, नैनादेवी वनदेवीजस्ता प्राचीन मन्दिर, जाखोर ताल, बेहेडा बाबा क्षेत्र प्रदेशकै प्रख्यात गन्तव्य हुन् । धार्मिक पर्यटनका लागि निकै प्रख्यात क्षेत्रको रूपमा लिन सकिन्छ ।

‘कैलाली जिल्ला ताल तलैया, वन जंगलले भरिपूर्ण जिल्लाको रूपमा स्थापित छ,’ जिससका संयोजक थापाले भने, ‘यो जिल्ला प्राकृतिक सौन्दर्यका लागि निकै उर्वरभूमि पनि हो । सबै स्थानीय तह मिलेर एकीकृत योजनका साथ कार्य गर्न सकियो भने जिल्लाको पर्यटन विकासले फड्को मार्नेछ ।’जिल्ला सभाले पर्यटन विकासको योजनाका साथै कृषि, औद्योगिक, वन तथा भूसंरक्षणको योजना विकासमा जोड दिएको छ । छरपस्ट योजनालाई एकीकृत विकास योजनामा लैजान स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने समन्वय समितिको दोस्रो भेलाले निर्णय गरेको छ ।

जिल्ला सभाले चुरे र मोहन्याल गाउँपालिकामा एकीकृत बस्ती विकास कार्यक्रम लागू गर्न प्रदेश र केन्द्र सरकारसमक्ष अनुरोध गरेको छ । यस्तै डल्फिन संरक्षण तथा प्रजनन केन्द्र स्थापना, टीकापुरदेखि कर्णाली सेती दोभानसम्म जलयात्राको सुरुआत गर्न, चिसापानीदेखि महेन्द्रनगर गड्डाचौकीसम्मको सडकलाई ६ लेनको निर्माण गर्नसमेत संघ तथा प्रदेश सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित : श्रावण २७, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?