कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दार्चुला–तिंकर सडक बन्दै

विस्फोटक पदार्थको अभावमा काम बन्द भइरहेको खलंगा–तिंकर सडक योजनाको निर्माण कार्य भदौ पहिलो सातादेखि नै सुचारु हुने भएको छ ।
मनोज बडू

दार्चुला — ९ वर्षअघि सुरु भएर लामो समयदेखि अवरुद्ध दार्चुला सदरमुकाम खलंगादेखि तिब्बतको तिंकर सीमासम्मको १ सय ३० किलोमिटर सडक निर्माण कार्य पुन: सुरु हुँदैछ ।

दार्चुला–तिंकर सडक बन्दै

विस्फोटक पदार्थ अभावका कारण केही वर्षदेखि रोकिएको सडक निर्माण कार्य जिल्लामा जिलेटिन (विस्फोटक पदार्थ) उपलब्ध भएपछि पुन: सुचारु हुने भएको हो । असारमा विस्फोटक पदार्थ जिल्लामा आइपुगेको छ । विस्फोटक पदार्थ प्रयोग गर्न सडक आयोजना कार्यालय र नेपाली सेनाबीच सम्झौता भएपछि सडक निर्माणले गति पाउने देखिएको हो ।

लामो समय विस्फोटक पदार्थको अभावमा काम बन्द भइरहेको खलंगा–तिंकर सडक योजनाको निर्माण कार्य भदौ पहिलो सातादेखि नै सुचारु हुने भएको छ । विस्फोटक पदार्थ संवेदनशील भएकाले सेना आफै परिचालन भई काम गर्नुपर्ने हुँदा विभिन्न प्रक्रिया पूरा गर्न समय बढी लागेको सेनाले जनाएको छ ।

२०६६ सालबाट निर्माण कार्य थालनी भएको तिंकर सडकको ६० किलोमिटर ट्रयाक खोलिएको जनाए पनि १८ किलोमिटरसम्म मात्र अहिले गाडी गुड्ने गरेको छ । १८ किलोमिटरको पनि राताकाठा र गरमोरा भीरमा गाडी चलाउन प्रशासनले रोक लगाएको छ । दुहुँ गाउँपालिका र ब्याँस गाउँपालिकाको विजयपुर भीरमा कडा चट्टान फोड्न नसक्दा लामो समयदेखि सडक निर्माणको कार्य अगाडि बढ्न नसकेको स्थानीयले बताएका छन् ।

ब्याँस गाउँपालिकाको मालसम्म सडकको ट्रयाक खोलिएको दार्चुला–तिंकर सडक आयोजना इन्जिनियर दिनेश रैखोलाले बताए । ‘सदरमुकाम खलंगादेखि मालसम्मको चट्टानी भूभागबाहेकको क्षेत्रमा सडकको ट्रयाक खोलिएको छ,’ उनले भने, ‘विस्फोटक पदार्थ अभावका कारण विगत तीन वर्षदेखि सडकको थप निर्माण पूर्ण रूपमा प्रभावित भएको हो ।’ ब्याँस गाउँपालिकाको केन्द्र सुन्सेरासम्म तीन वर्षअगाडि नै सडकको ब्याक कटिङ र टेवा पर्खाल निर्माण कार्यको ठेक्का भएको थियो ।

विजयपुर भीरमा कडा चट्टानका कारण उक्त कार्य पनि त्यहींबाट रोकिएको छ । इन्जिनियर रैखोलाले भने, ‘ब्याँसको घाटीबगडसम्म सडकको ट््रयाक खोल्ने ठेक्का भइसकेको भए पनि विस्फोटक पदार्थ उपलब्ध नहुन्जेल ठेकेदार फिल्डमा आउन मानिरहेको थिएन ।’ अब ठेकेदारलाई काम रोक्ने बहाना बाँकी नरहेकाले छिट्टै सडक निर्माणले गति पाउने इन्जिनियर रैखोलाले बताए ।

नेपाली सेनाको प्रत्यक्ष निगरानीमा जिलेटिनको प्रयोग हुने भएपछि सडक दुईपक्षीय सम्झौता गर्नुपरेको दुर्गादल गुल्मका गुल्मपति गणेश रावलले बताए । सरकारले विस्फोटक पदार्थ पड्काउने र भण्डार गर्ने अधिकार सेनालाई दिएको हुनाले तिंकर सडक र मकरीगाड जलविद्युत् आयोजनाका लागि जिल्लामा पुगेका विस्फोटक पदार्थ (जिलेटिन) सेनाको निगरानीमा रहेको उनको भनाइ छ ।

तिंकर सडकको ९ र मकरीगाडको ५ टन जिलेटिन सेनाको निगरानीमा भण्डार गरिएको सेनाले जनाएको छ । ‘जिल्लामा जुनसुकै परियोजनाका लागि आउने विस्फोट पदार्थको निगरानी सेनाको जिम्मामा हुन्छ,’ गुल्मपति रावलले भने, ‘बझाङबाट दार्चुला सेनाकै स्कटिङमा जिलेटिन ल्याइएको हो ।’ तिंकर सडक मकरीगाड जलविद्युत् आयोजनामा विस्फोटक पदार्थ पड्काउन सेनाकै प्रत्यक्ष निगरानी गरिने गुल्मपति रावलले बताए ।

विस्फोटक पदार्थ प्रयोग गर्नका लागि ठाउँ–ठाउँमा प्वालहरू बनाउनेलगायतको तयारी भइसकेकोले सेना निर्माणस्थलमा पुगेर विस्पोटक पदार्थ प्रयोग गर्न धेरै समय नलाग्ने सडक आयोजनाले जनाएको छ ।लामो प्रयासपछि सापट लिएर यहाँ पुगेको जिलेटिन तत्काल प्रयोग हुनुपर्नेमा स्थानीयले दबाबले अहिले विस्फोटक पदार्थ प्रयोगमा ल्याइने भएपछि दुहु र ब्याँसका स्थानीयमा खुसी छाएको छ । ‘स्थानीय र जनप्रतिनिधिहरूको ठूलो प्रयास गरेपछि मात्रै जिलेटिन यहाँ पुगेको हो,’ ब्याँस गाउँपालिका अध्यक्ष दिलीप बुढाथोकीले भने, ‘अब सडक निर्माणले गति लिनुपर्छ ।’

सडक निर्माणमा ढिलाइ गर्नु हुँदैन भनेर आवाज उठाइरहेका यहाँका स्थानीय विस्फोटक पदार्थ प्रयोगमा ल्याई चाँडो निर्माण कार्यलाई अगाडि बढाउन अनुरोध गरेका छन् । यसअघि नेपाल प्रहरीको व्यवस्थापनमा जिलेटिन प्रयोग हुँदै आएकोमा पछिल्लो समय सेनाको सुरक्षा घेरामा मात्रै विस्फोटक पदार्थको प्रयोग हुने गरेको छ । सुरक्षा संवेदनशीलताका कारण सेनाको सुरक्षा घेरामा जिलेटिनको प्रयोग हुने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।

प्रकाशित : श्रावण २७, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?