कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

टावर ठडिए, काममा आएनन्

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाका ग्रामीण बस्तीहरूलाई सञ्चार सञ्जालमा जोड्न नेपाल टेलिकमले निर्माण गरेका टावरहरू निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । सञ्चार सुविधा नहुँदा ग्रामीण भेगका बासिन्दा समस्यामा छन् ।

टावर ठडिए, काममा आएनन्

नेपाल टेलिकमले दुर्गाथली र थलारा गाउँपालिकाको ग्रामीण क्षेत्र समेट्ने गरी लेकगाउँँमा निर्माण गरेको टावरको निर्माण कार्य २०७४ मंसिरमा सम्पन्न भएको थियो । यस्तै, छबिस पाथिभेरा र खप्तड छान्ना गाउँपालिकाका लागि कँडेलमा निर्माण गरिएको टावर २०७४ पौसमा र सुर्मा गाउँपालिका र जयपृथ्वी नगरपालिकाको उत्तरी क्षेत्रका लागि दौलिचौरमा निर्माण गरिएको टावरको काम २०७४ माघमै सम्पन्न भएको थियो ।

मस्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकाको पूर्वी क्षेत्रलाई कभर गर्ने गरी डुङ्ग्राकोटमा बनाइएको टावरको काम पनि २०७४ सालको फागुन पहिलो साता नै सम्पन्न भएको थियो । घर नजिकै टावर निमार्ण भएपछि फोन गर्न सुविधा हुने भयो भनेर खुसी भएका स्थानीयहरू लामो समयसम्म टावर सञ्चालनमा नआउँदा निराश भएका छन ।

‘साविक दौलिचौर गाविसकी सुविता विकलाई सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याइयो । स्वास्थ्य चौकी पुर्‍याउँदासम्म बच्चाको हात बाहिर आइसकेको थियो । यस्तो अवस्थामा त्यहाँ उपचार सम्भव नहुने र जिल्ला अस्पतालमा अप्रेसन गर्नुपर्ने बताएपछि डोगडीसम्म एम्बुलेन्स बोलाउनुपर्ने भयो । फोन सम्पर्क छैन, कसरी एम्बुलेन्स बोलाउने आपत् पर्‍यो । रातिको बेला २ घण्टा जंगलको बाटो हिँडेर उनका आफन्तले एम्बुलेन्सलाई फोन गरे । केहीले उनलाई बोकेर सडक भएको ठाउँसम्म ल्याए । संयोगले फोन लाग्यो उनको ज्यान बच्यो । दौलिचौरका मदन विकले फोन नहुँदाका दु:ख सुनाए ।

सुर्मा गाउँपालिकाको बाक्लो बस्ती भएको काँडा, डँडाया, थकुन्नाडा, चुचु र भेलाता तथा दौलिचौर गाविसको नाउला, विछाडा, भुरा, सेलसडी, गजौन र घोगाडा गाउँमा कुनै पनि कम्पनीका मोबाइल सेवाले काम नगर्दा यहाँका बासिन्दाले फोन गर्न ४/५ घण्टा हिँडेर अग्लोअग्लो ठाउँमा पुग्नुपर्ने समस्या रहेको स्थानीय दौलिचौर माध्यमिक विद्यालयका शिक्षक गगन कठायतले बताए । उनले भने ‘गाउँ नजिकै टावर बन्यो अब त फोनको सुख हुने भयो ठान्यौं । टावर बनेको वर्ष दिन हुन लागिसक्यो । नेटवर्क छोडेको छैन ।’

नेपाल टेलिकमका सबै टावरहरू निर्माण गर्ने कामको जिम्मा चिनियाँ कम्पनी हुवाईले पाएको थियो । सञ्चालनमा किन ढिलाई भइरहेको छ भन्नेबारे आफूहरूलाई आधिकारिक जानकारी नभएको नेपाल टेलिकम बझाङले जनाएको छ । टावरमा जडान गरिने उपकरणहरू काठमाडौं आइसकेको भन्ने बुझिएकाले छिट्टै सञ्चालन हुन सक्ने टेलिकम बझाङका प्रमुख शिवकुमार केसीले बताए । चारओटै टावर सञ्चालनमा आएमा जिल्लाका प्राय: सबै क्षेत्रमा मोबाइल नेटवर्कको पहुँच पुग्ने दाबी नेपाल टेलिकमले गरेको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?